प्रजातन्त्र दिवसले नागरिक अधिकारको महत्त्व स्थायी बनाउँछ : राष्ट्रपति भण्डारी

संघीय लोकतान्त्रिक गणतन्त्रको जग २००७ सालको जनक्रान्तिबाट नै निर्माण भएकाले नेपालको राजनीतिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्त्व रहेको राष्ट्रपतिद्वारा जारी सन्देशमा उल्लेख छ।

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले जनता नै राज्यशक्तिको सम्पूर्ण भएको बताएकी छन्। लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सकेको खण्डमा प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुने उनको भनाइ छ।

प्रजातन्त्र दिवसका अवसरमा आइतबार शुभकामना दिँदै राष्ट्रपति भण्डारीले भनेकी छन्, “सहिदहरूको उच्च बलिदानले हालसम्मका राजनीतिक एवं सामाजिक सुधारका आन्दोलनलाई प्रेरणा दिएको छ र भविष्यमा पनि मार्गदर्शन गरिरहने छ।” प्रजातन्त्र दिवसले नागरिक अधिकारको महत्त्व स्थायी बनाउनुका साथै सहिदको अमर गाथा पनि सदैव स्मरण गराउने उनले बताएकी छन्।  

वर्तमान शासन व्यवस्थाले दशकौँदेखि व्यक्त हुँदै आएको सहिदको सपना एवं जनताको आकांक्षालाई मूर्तरूप दिन सक्नुपर्नेमा राष्ट्रपति भण्डारीको जोड छ।

“हामीले हासिल गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको जग २००७ सालको जनक्रान्तिबाट नै निर्माण भएको हो, तसर्थ सहिदको सपना  एवं जनताको आकांक्षालाई मूर्तरूप दिन सक्नुपर्दछ। त्यसका लागि हामीले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा आर्थिक समृद्धिलाई राष्ट्रको मूल लक्ष्य बनाउनु पर्दछ,” राष्ट्रपति भण्डारीको सन्देशमा भनिएको छ, “त्यसैले नेपालको राजनीतिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्त्व छ।”