सिंहदरबार र प्रदेश सरकारले 'अन्देख' गरेकै कारण अहिले कर्णाली खेलकुदमा कमजोर रहेको हरिको बुझाइ छ।
काठमाडौँ- पोखरामा नवौं बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता शुरू हुनै लाग्दा कर्णाली प्रदेशका एथलेटिक्स प्रशिक्षक तथा पूर्वराष्ट्रिय धावक हरिबहादुर रोकायामा छुट्टै हर्ष र उमंग थियो। उनमा हर्ष र उमंग पनि किन नहोस्? उनीसँग पाँचौं र आठौं बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता खेलिसकेका दुर्गाबहादुर मात्रै होइन, एथलेटिक्समा सम्भावना बोकेकी राममाया बूढासमेत थिए।
आफूले नै खोजेर ल्याएको भएर होला हरि शतप्रतिशत निश्चित नै थिए– यी दुई चेलाचेलीले पक्कै स्वर्ण जित्छन्।
हुन् पनि हो, उनीहरूको मिहिनेत कुनै राष्ट्रिय खेलाडीको भन्दा कम थिएन। न त उनीहरूले तयारीमा कुनै कसर नै बाँकी राखेका थिए। त्यसैले पनि उनीहरूमाथि हरिलाई स्वर्णको आशा हुनु स्वभाविक नै थियो।
विगत आधा दशकदेखि भारतीय सेनामा कार्यरत दुर्गाले पाँचौ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा आठौं स्थान र आठौं बृहत् खेलकुद प्रतियोगितामा तृतीय स्थान ल्याएर स्वर्णको दाबेदारी प्रस्तुत गरिसकेका थिए।
उनी मात्रै होइन, राममाया पनि उत्तिकै सम्भावना बोकेको खेलाडी थिइन्। गत असार अन्तिममा काठमाडौंमा आयोजना भएको ४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिताअन्तर्गत महिला ३ हजार मिटर दौडमा अनुभवी धाविका बाग्मती प्रदेशकी सन्तोषी श्रेष्ठ र नेपाल पुलिसकी राजपुरा पछाईंसँगै दौडिएकी राममायाले १० मिनेट ४१.९ सेकेन्डको ‘टाइमिङ’ निकाल्दै कास्य पदक हात पारेकी थिइन्।
उनको गति सन्तोषीभन्दा ३५ र राजपुराभन्दा ३३ सेकेन्डले मात्रै कम थियो। त्यसैले राममायाको ‘टाइमिङ’ सुधार गर्न खुबै मिहिनेत गराएका थिए हरिले।
"भरखरै दौडमा आएकी भएर उनीमा ‘टेक्निक’को कमी थियो। त्यसैले काठमाडौँ भएको प्रतियोगितामा तेस्रो भइन्। यसपटक स्वर्ण नै ल्याउने गरी मिहिनेत गराएको थिएँ। तर, प्रतियोगिता शुरू हुनुभन्दा २ महिनाअगाडि नै उनलाई आर्मीले लिगिदियो," पोखरामा भेटिएका उनले गुनासो सुनाए।
आफूले नै खोजेर उम्रारेको कोपिलालाई आर्मीले टपक्क चुँडेर लैजाँदा उनलाई मुटु नै चुँडाएर लगेको जस्तो भयो। मन भक्कानिएर आयो। निन्द्रा, भोक र प्यास पटक्कै लागेन। उनलाई कतिपटक त असैह्य नै भयो। उनले राममायालाई ‘फोन कल’ गरेर जुम्ला नै फर्किनसमेत आग्रह गरे। तर, परस्थिति र पाएको अवसरलाई भने राममायाले खेर फाल्न चाहिनन्। उनले जुम्लामै बस्दा करिअर नबन्ने सुनाएपछि हरिलाई पनि कर गर्न मन लागेन।
"उनलाई जुम्लामै राखेको भए पनि मैले के नै दिनसक्थे र? जागिर दिन सक्दिनँ थिएँ। उनलाई आर्मीले खुट्टामा उभिने जागिर त दिएको छ। तँ खेल्न चाहन्छस् भने खेल्न न त भनेर भनेँ," निन्याउँरो मुख लगाउँदै उनले सुनाए।
कुनै पनि प्रतिस्पर्धामा सहभागिता जनाउनुको उद्देश्य उपाधि नै जित्नु हो। तर, कर्णाली प्रदेशको कथा भने हरेक प्रतियोगितामा अलि फरक हुने गर्छ। कुनै प्रतियोगितामा उनीहरूको सहभागिता सहभागितामै सीमित हुन्छ।
कर्णालीको खराब प्रदर्शनपछाडि धेरै कारण छन्। भौगोलिक रूपमा विकट र पूर्वाधारको स्थितिबारे त धेरै व्याख्या गर्नुपर्ने आवश्यक नै छैन। खेलाडीका लागि कर्णालीमा खेल्नयोग्य मैदान छैनन्। राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न छनोट भएका अधिकांश खेलाडीले पनि पर्याप्त अभ्यासको अवसर पाउँदैनन्। न त प्रशिक्षण गराउन सक्ने राम्रो प्रशिक्षक नै।
यसका बाबजुद कर्णालीले राष्ट्रिय प्रतियोगितामा उपस्थिति जनाउँछ, केवल अनुभवका लागि। यो नै उसको ठूलो उपलब्धि मानिँदै आएको छ। त्यही तथ्यलाई यसपटक सच्याउन चाहन्थे, हरि। दुर्गाबहादुर भारतीय सेनामा कार्यरत भएर होला हरिलाई कुनै चिन्ता थिएन। दुर्गाबहादुरले नवौं राष्ट्रिय बृहत् खेलकुद प्रतियोगितामा ३ हजार मिटर ‘स्टेपल चेज’मा स्वर्ण जिते। ५ हजार मिटर दौडमा भने दुर्गाबहादुर केही सेकेन्डले मात्र स्वर्ण पदकबाट चुके।
तर, राममायाको प्रदर्शनलाई लिएर भने हरिलाई निकै चासो थियो।
महिला १५ सय मिटरमा दौडिएकी राममायाले कसैलाई चुनौती नै दिन सकिनन् यसपटक। उनको यसपटकको सहभागिता सहभागितामै सीमित रह्यो। "जुम्लाको डाँडाकाँडा, उकालो-ओरालोमा मैले नै उनलाई निखारिरहेको थिएँ। स्वर्ण जित्नेमा म शतप्रतिशत ढुक्क थिएँ। तर, सेनामा गएपछि किन हो किन प्रदर्शन नै खस्कियो। मलाई एकदमै नरमाइलो लागिरहेको छ," उनी भन्छन्।
पछिल्लो समय जुम्लाले राष्ट्रिय प्रतियोगितामा स्वर्ण दिलाउन नसके पनि सम्भावना बोकेको थुप्रै धावक जन्माएको छ। त्यसमा पनि बिनातलब प्रशिक्षण दिने हरिको योगदान अतुलनीय छ। नवौं बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीलाई पहिलो स्वर्ण दिलाउने दुर्गाबहादुर मात्रै होइनन्, गत वर्ष पुसमा थाइल्यान्डमा आयोजना भएको विश्वचर्चित ‘बाई युटीएमबी अल्ट्रा ट्रेल रनिङ’ प्रतियोगितामा नेपाललाई स्वर्ण दिलाउने सुनमाया बूढासमेत उनै हरिकै उत्पादन हुन्। तर, पछिल्लो समय हरिले उत्पादन गरेको खेलाडी रातारात जुम्लाबाट पलायन भइरहेका छन्।
उनले उत्पादन गरेका पूर्णलक्ष्मी, मञ्जु, कालीबहादुर, राजन रोकाया र राममायालगायत आधा दर्जन खेलाडी विभागीय टोलीमा प्रवेश गरेका छन्। उनीहरू अहिले विभागबाटै खेल्दै आइरहेका छन्।
"दौडका लागि जुम्ला एकदमै ठीक छ। हावापानी र वातावरण पनि ठीक छ। यहाँको ‘जिन’ नै जो कोहीलाई धावक बनाउने खालको छ। त्यसैले होला हरि गुरूले उत्पादन गरेको खेलाडी लिन आयौँ, है! भन्दै विभागीय टोली जुम्ला नै पुग्छन्," उनी फुरुङ्ग हुँदै भन्छन्।
हरिलाई आफूले उत्पादन गरेका खेलाडी खोज्न किन विभागीय टोली जुम्ला पुग्छन् भन्ने पनि प्रष्ट थाहा छ। त्यति मात्रै होइन, राममायाजस्तो खेलाडीको आकर्षण विभागीय टोलीमा किन गइरहेको छ भन्ने पनि उनलाई थाहा छ। जुम्लामा उत्पादित खेलाडीलाई सिंहदरबारले कुनै भत्ता र पुरस्कार दिँदैनन्। न त कर्णाली सरकारले नै उनीहरूको बारेमा चासो लिन्छ। उनीहरूको अवस्था कस्तो छ? कसरी खेल्दै आएका छन्? कहाँ खेल्छन्? के कुराको आवश्यक छ? र कुन प्रतियोगिता खेल्दै छन्? भनेर पनि कुनै सोधीखोजी हुँदैन। न त सरकारले खेलाडी उत्पादन गर भनेर बजेट नै छुट्टाएको छ।
खेलाडीका लागि मात्रै होइन, हरेक वर्ष आयोजना हुँदै आइरहेको ‘जुम्ला म्याराथन’का लागि समेत हरिले बजेट पाउँदैन। कतिपटक त म्याराथनमा विजयी भएका खेलाडीको हातमा उधारो ‘चेक’ थमाएको क्षण उनको आँखा वरिपरि छचल्की रहन्छन्।
"प्रदेश सरकारले मात्रै होइन, प्रत्येक गाउँपालिका, नगरपालिकाले खेलकुदसम्बन्धी रकम छुट्याइएको हुन्छ। तर, आफ्नो नजिकको मान्छेलाई दिइहाल्छन्। नेपालमा आफ्नो मान्छे नभएको ठाउँमा कुनै पनि काम नगरे हुन्छ। मैले देखिसकेको छु, भोगिसकेको छु। त्यसैले कर्णालीका खेलाडी पलायन भइरहेका छन्," उनी भन्छन्।
सिंहदरबार र प्रदेश सरकारले 'अन्देख' गरेकै कारण अहिले कर्णाली खेलकुदमा कमजोर रहेको हरिको बुझाइ छ। पोखरामा यसै साता सम्पन्न नवौं बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीका धावक दुर्गाबहादुर र पुरूषतर्फ उसुको ‘नान छ्वान राउन्ड’मा दीपक हमालले मात्रै स्वर्ण पदक जिते।
सहभागी ११ टोलीमा कर्णाली २ स्वर्ण, ४ रजत र १२ कास्यसहित १८ पदक ल्याउँदै अंक तालिकाको पुछारमा रह्यो। हरि कर्णालीमा थुप्रै सम्भावना बोकेका खेलाडी रहेको बताउँछन्। तर, भौगोलिक अवस्था र आर्थिक कारणले कर्णालीमा खेलाडी उत्पादन गर्न र टिकाइराख्न गाह्रो हुने गरेको उनको अनुभव छ। उनले आर्थिक अभावमा खेलाडीलाई पोषणको अभाव हुने हुँदा आफ्नै जमिन दिएर कुटानी–पिसानी मिल सञ्चालन गरेका छन्।
खेलाडीलाई प्रशिक्षण दिएर खाली रहेको समयमा उनी आफैँ पनि काम गर्छन्। बिजुली, सोलार तथा भैपरी आउँदा मिस्त्री काम पनि गर्छन्, उनी। त्यसबाट आएको पैसा खेलाडीको पोषण तथा अरू आवश्यकता पूरा गर्नका लागि खर्चिन्छन्। तर, केन्द्र र प्रदेश सरकारले उनको यो दयनीय अवस्था देख्दैनन्।
यदि कर्णाली सरकारले नै खेलाडीलाई विभागीय टोलीले जस्तै सेवासुविधा र जागिर दिने वातावरण मिलाए पूर्णलक्ष्मी, मञ्जु, कालीबहादुर, राजन रोकाया र राममायाजस्ता खेलाडी पुनः कर्णालीमा उत्पादन गर्ने र राष्ट्रका लागि मेडल दिने हुटहुटी हरिमा उत्तिकै छ। यसका लागि प्रदेश सरकारको सहकार्य आवश्यक रहेको उनी बताउँछन्।
"कर्णाली खेलकुदमा कमजोर होइन, कमजोर बनाइएको हो। खेलाडीलाई यहाँ टिकाइराख्न कम्तिमा प्रदेश सरकारले विभागीय टोलीले जस्तै जागिर दिने व्यवस्था मिलाओस्। अनि हेरोस् हाम्रो क्षमता," उनी भन्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
