आज १० लाख भन्दा बढी दर्शनार्थीले पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ।
काठमाडौँ– महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ। प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि भगवान् शिवको पूजा–आराधना गरेर मनाउने गरिन्छ।
मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे सुख, शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताए। हिन्दु धर्मावलम्बीहरू बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई पूजा–आराधना गर्दछन्। व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन्। यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ।
आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा बालेर धुनी जगाई भजन कीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ।

पशुपतिमा चार प्रहरमा चार प्रकारका पूजा
पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजा गरिन्छ। महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ। कैलाशकुट र किराँतेश्वरका संगीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ। महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ।
बिहान तीन बजे नै पशुपतिनाथका चार ढोका खोलिएको कोषले जनाएको छ। १० लाख भन्दा बढी दर्शनार्थीले पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ। मन्दिर परिसर सजावटमा विशेष ध्यान दिइएको छ। पशुपति क्षेत्र वरपर झिलिमिली बनाइएको छ। विदेशबाट समेत फूलमाला ल्याएर मन्दिर सजावट गरिएको छ।

यसवर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि बाहिर तीन र भित्र पाँच वटा लाइनको व्यवस्था गरिएको कोषले जनाएको छ। मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–ईंटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एअरपोर्ट–तिलगंगा भएर पिङगलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट एक/एक लाम गरी बाहिरी रूपमा दर्शन गर्ने व्यवस्था मिलाइएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।
यसैगरी तिलगंगा राममन्दिरतर्फ समेत आवश्यकता अनुसार एक लामको व्यवस्था गर्न सकिने गरी व्यवस्थापन मिलाउन लागिएको उनले बताए। नित्य दर्शनार्थीका लागि बिहान ७ बजे अगावै भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको छ। जुन दर्शनमार्गबाट मन्दिर प्राङगण प्रवेश गरिन्छ सोहीमार्ग हुँदै बाहिरिने व्यवस्था मिलाइएको छ।

दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगंगा, गुह्येश्वरी पारि, कोषको कार्यालय, वनकाली लगायतका स्थानमा व्यवस्था मिलाइएको छ।
पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्रर, डोलेश्वरलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लाग्छ। यसैगरी राजधानी बाहिरका शिव मन्दिरमा पनि धूमधामका साथ पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लाग्ने गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
