बालकोटमा ओलीलाई भेटेपछि दाहालको प्रतिक्रिया– ‘हामी एकै ठाउँमा छौँ, १–२ दिनमै राष्ट्रपतिबारे निर्णय हुन्छ’

राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै गर्दा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता बाक्लिएको छ।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तागठबन्धनमा कुनै समस्या नभएको बताएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भएको भेटवार्तापछि बाहिरिने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको संक्षिप्त प्रतिक्रिया दिँदै यस्तो बताएका हुन्।

“हामीहरू सबै एकै ठाउँमा छौँ। गठबन्धन भत्किने अवस्था छैन”, उनले भने, “राष्ट्रपतिका विषयमा एक/दुई दिनमा नै टुंगो लाग्छ।”

राष्ट्रपतिको निर्वाचनको मिति नजिकिँदै जाँदा दाहाल र ओलीबीच निरन्तर भेटवार्ता भइरहेको छ। बिहीबार दुवै नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको थियो भने शुक्रबार प्रधानमन्त्री दाहाल ओलीलाई भेट्न बालकोट पुगेका थिए।

माओवादीले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन गर्नुपर्ने प्रस्ताव राखिरहेको छ भने एमालेले पुस १० मा भएको समझदारीअनुसार नै गठबन्धनका तर्फबाट एमालेकै उम्मेदवार हुने बताउँदै आएको छ।

एमाले अध्यक्ष ओलीसँग शुक्रबारको भेटपछि पनि प्रधानमन्त्री दाहालले सहमतिकै आधारमा राष्ट्रपतिको टुंगो लाग्ने बताएका छन्।