विश्वकप लिग–२ मा नेपालको लगातार सुधारिएको प्रदर्शन, स्कटल्यान्डमाथि ३ विकेटको जित

शुक्रबार भएको खेलमा स्कटल्यान्डले दिएको ठूलो लक्ष्य पछ्याउँदै नेपालले तीन विकेटको जित हात पारेको छ।

काठमाडौँ– नेपालले आईसीसी विश्वकप लिग-२ मा स्कटल्यान्डमाथि शानदार जित हात पारेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा स्कटल्यान्डले दिएको ठूलो लक्ष्य पछ्याउँदै नेपालले तीन विकेटको जित हात पारेको हो। कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको अर्धशतकको मद्दतमा तीन ओभर बाँकी छँदै २७५ रनको विजयी लक्ष्य पूरा गर्‍यो।

नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २७४ रन बनाएको थियो। फेरि एकपल्ट ठूलो लक्ष्य पछ्याएको नेपालको शुरूआत भने खराब रह्यो।

मध्यक्रमका ब्याटरद्वय दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले लयमा पुनरागमन गरेपछि नेपालले स्कटल्यान्डलाई पराजित गरेको हो। नेपालका दीपेन्द्रसिंह ऐरीले अविजित रहँदै सर्वाधिक ८५ रन बनाए। उनले ११६ बलमा ८ चौका १ छक्का प्रहार गरे। कुशल मल्लले ८१ रन बनाए। तल्लो क्रमका सोमपाल कामी २४ रनमा अविजित रहे।

२७.१ ओभरमा नेपालले ६ विकेट गुमाउँदै १७७ रन बनाउँदा क्रिजमा आएका गुलशन झाले दीपेन्द्रसँग सातौँ विकेटका लागि ४३ रनको साझेदारी गरेका थिए।

गुलशन २८ बलमा १ चौकासहित १७ रन बनाएर माइकल लिस्कले फ्याँकेको बलमा उनी क्याच आउट भएका थिए। उनले प्रहार गरेको बल माइकलले नै समातेका थिए।

यता, ओपनर कुशल भुर्तेलले १६, ओपनर आशिफ शेखले ९, कप्तान रोहितकुमार पौडेलले ६, सन्दीप जोराले ५ र ज्ञानेन्द्र मल्लले ४ रन बनाए।

स्कट्यान्डका क्रिश सोले र मार्क वाटले ३/३ विकेट लिए। सोलेले १० ओभरमा ६७ रन खर्चिए। यता, वाटले १० ओभर बलिङ गर्दै ४३ रन खर्चिए। माइकल लिस्कको नाममा १ विकेट रह्यो।

लयमा फर्किने कुशलको संकेत
सन् २०२० मा युएईविरुद्धको खेलमार्फत ओडीआईमा डेब्यू गरेका कुशल मल्लले ८१ रन बनाए। लिग २ अन्तर्गत नै कीर्तपुरमा भएको डेब्यू खेलमा मल्लले छैटौँ नम्बरमा क्रिजमा उत्रिँदै ५१ बलमा ४ चौका र ३ छक्कासहित ५० रन बनाएका थिए।

उक्त खेलमा नेपाल ३५ रनले विजयी भएको थियो। त्यसयता ८ खेलमा मौका पाएका कुशलले ४१ रन मात्रै बनाएका थिए। उनले अन्तिम पटक सन् २०२१ मा ओमानमा आयोजित लिग २ अन्तर्गत युएईविरुद्धको खेल खेलका थिए।

भारतीय प्रशिक्षक मोन्टि देसाईले उनलाई करिब २ वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गराएका हुन्। १०औँ ओभरको अन्तिम बलमा सन्दीप जोरा मार्क वाटको बलमा बोल्ड भएपछि क्रिजमा आएका कुशलले छैटौँ विकेटका लागि दीपेन्द्रसिंह ऐरीसँग १०० रनको साझेदारी गरेका थिए।

कुशल २७औँ ओभरको पहिलो बलमा क्याच आउट भए। वाटले फ्याँकेको बललाई दिशा दिन नसक्दा उनी ताहिर हाम्जाको हातबाट क्याच आउट भए।

मंगलबार कीर्तिपुरमै भएको नामिबियाविरुद्धको खेलमा ६ रन मात्रै बनाएका थिए। उनले नामिबियाविरुद्ध ७ ओभर बलिङ गर्दै ३५ रन खर्चिएर १ विकेट लिएका थिए।

स्टकल्यान्डविरुद्धको खेलमा भने उनले ९ ओभर बलिङ गर्दै ४९ रन खर्चिएर २ विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारे पहिला ब्याटिङको निम्तो पाएको स्टकल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २७४ रन बनायो। स्कटल्यान्डका लागि माइकल लिस्कले अविजित रहँदै सर्वाधिक १०७ बनाए। उनले ८५ बलमा ३ चौका र ९ छक्का प्रहार गरे। ओडीआई करिअरमा उनको यो पहिलो शतक हो।

ओपनर क्रिस्टोफर म्याकब्राइड र मध्यक्रमका ब्रान्डन म्याकुलमले २२/ २२ रन बनाए। यस्तै, मार्क वाटले २० रन बनाए।

कप्तान रिचि बेरिंगटन र थोमस म्याकिन्टोसले १९/१९ रन बनाए। क्रिस ग्रेभ्ब्स १६ रन बनाउँदै आउट भए। ज्याक जार्विस र माइकलले सातौँ विकेटका लागि ८१ रनको साझेदारी गरेका थिए।

आठौँ विकेटका लागि माइकल र मार्कले ७६ रनको साझेदारी गरेका थिए। नेपालका सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए। उनले १० ओभर बलिङ गर्दै २७ रन खर्चिए। कुशल मल्लले २ विकेट लिए। दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलको नाममा १/१ विकेट रह्यो।

जितसँगै नेपालले २६ खेलमा १० जितसहित २२ अंक बनाएको छ। उपाधि जितिसकेको स्कट्ल्यान्डको ३४ खेलबाट ४८ अंक रहेको छ।