रास्वपाका १९ सांसदमध्ये चार जना मात्र केन्द्रीय सदस्य छन् भने एक जना उपसभामुख छिन्। फागुन १ गते १६ जना थप गरेर केन्द्रीय समिति ४० सदस्यीय बनाइँदा बाँकी कोही पनि सांसदले अवसर पाएनन्।
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन १ गते केन्द्रीय समितिमा १६ जना थप गर्यो। यसअघि २४ सदस्यीय रहेको केन्द्रीय समिति अब ४० सदस्यीय भएको छ। पछिल्लोपटक थपिएका केन्द्रीय सदस्यहरू सबै गैरसांसद हुन्।
रास्वपा सांसद इन्दिरा राना मगर उपसभामुख छिन्। बाँकी १८ मध्ये चार सांसद मात्र केन्द्रीय सदस्य हुन्। १४ सांसद केन्द्रीय समितिमा छैनन्।
गएको मंसिर ४ मा भएको निर्वाचनबाट रास्वपाले प्रतिनिधिसभामा २० सिट जितेको थियो। प्रत्यक्षतर्फ सात स्थानमा जिते पनि नागरिकता पुनः प्राप्तिको प्रक्रिया नपुगेको भन्दै सर्वोच्च अदालतले चितवन-२ बाट विजयी रवि लामिछानेको सांसद पद कायम नहुने फैसला गरिसकेको छ। उनी पार्टी सभापति हुन्।
प्रत्यक्ष निर्वाचित बाँकी ६ जनामध्ये दुई जना केन्द्रीय सदस्य छन्। काठमाडौँ-२ बाट निर्वाचित सोबिता गौतम र काठमाडौँ-७ बाट निर्वाचित गणेश पराजुली केन्द्रीय सदस्य हुन्। काठमाडौँ-६ बाट निर्वाचित शिशिर खनाल, काठमाडौँ-८ बाट निर्वाचित तथा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, ललितपुर-३ बाट निर्वाचित डा. तोशिमा कार्की र चितवन-१ बाट निर्वाचित हरि ढकाल केन्द्रीय समितिमा छैनन्।
त्यस्तै, समानुपातिकतर्फ रास्वपाका १३ सांसद छन्। तीमध्ये दुई जना मात्र केन्द्रीय समितिमा छन्। सांसद डोलप्रसाद अर्याल पार्टी उपसभापति हुन्। सभापति लामिछानेको सांसद पद नरहेपछि अर्याल संसदीय दलको नेता पनि बनेका छन्।
त्यसैगरी,सांसद सुमना श्रेष्ठ केन्द्रीय सदस्य छिन्। त्यसबाहेक समानुपातिक सांसदहरू सन्तोष परियार, शिव नेपाली, डा. ढाकाकुमार श्रेष्ठ, डा. चन्दा कार्की,निशा डाँगी, विनीत कठायत, लक्ष्मी तिवारी, मनिष झा, अशोककुमार चौधरी र असीम साह केन्द्रीय समितिमा छैनन्।
फागुन १ गते थपिएका केन्द्रीय सदस्यमा व्यवसायी, अन्य पार्टी परित्याग गरेर आएका र टेलिभिजनका पत्रकार तथा कार्यक्रम प्रस्तोता छन्। कतिपयलाई पार्टी स्थापनादेखिकै सहयोगीको रूपमा उल्लेख गरिएको छ। पार्टीले उचित मूल्यांकन गरेरै उनीहरूलाई केन्द्रीय समितिमा समावेश गरेको प्रवक्ता ढकालले बताउँछन्।
सांसदहरूलाई संसदीय अभ्यासमा पोख्त बनाउनकै लागि पार्टीको जिम्मेवारीबाट पर राखिएको प्रवक्ता ढकालको भनाइ छ।“पार्टीले अहिले उहाँहरूलाई सांसदकै कार्यभार जिम्मेवारीपूर्वक सम्हाल्न लगाएको छ। संसदीय अभ्यासमा उहाँहरू पनि नयाँ हुनुहुन्छ, सिक्दै हुनुहुन्छ,” उनी भन्छन्, “महाधिवेशन बाँकी नै छ। भर्खरै त ४० जना समितिमा आएका हुन्। १२१ जना ल्याउने कुरा छ। पार्टी उहाँहरूकै हो नि।”
रास्वपाले महाधिवेशनबाट १२१ जनाको केन्द्रीय समिति बनाउने निर्णय गरेको छ। विधानअनुसार आगामी मंसिरसम्म महाधिवेशन गरिसक्नुपर्छ।
केन्द्रीय सदस्य गणेश कार्की भने महाधिवेशनअगावै सांसदहरूलाई केन्द्रीय समितिमा ल्याइने दाबी गर्छन्। “बाँकी सांसदहरूलाई अर्को चरणको केन्द्रीय समिति विस्तारमा समेट्छौँ। आउँदो मंसिरसम्म पार्टीको महाधिवेशन हुन्छ,” कार्की भन्छन्।
सबै सांसद केन्द्रीय सदस्य हुँदा विरोधीहरूले खेल्ने ठाउँ हुनसक्ने प्रवक्ता ढकाल बताउँछन्। पार्टीले सांसदहरूमाथि कुनै शंका भने नगरेको उनको भनाइ छ।
“हामीलाई हाम्रा सांसदहरूमाथि पूर्ण विश्वास छ। उहाँहरूलाई केन्द्रीय सदस्य बनाउँदैमा पार्टी फुट्छ भन्ने छैन,तर खेल्ने ठाउँ भने पक्कै रहन्छ।पार्टीभित्रका मान्छे नभएपनि बाहिरिया शक्तिहरू खेल्नसक्छन्,” ढकाल भन्छन्, “त्यो खेल्ने ठाउँ अहिले नै नदिने, पहिला एक-अर्कालाई बुझ्ने, घुलमिल गर्ने, अनि मात्रै केन्द्रीय समितिमा भित्र्याउने कुरा छ।”
दल विभाजनका लागि केन्द्रीय समितिको ४० प्रतिशत सदस्य र संघीय संसद्का ४० प्रतिशत सांसदको समर्थन चाहिन्छ। अहिले रास्वपा केन्द्रीय समितिमा सभापति लामिछाने समर्थककै बाहुल्य छ। केही साताअघिको केन्द्रीय समिति बैठकमा सांसद तथा केन्द्रीय सदस्य सोबिता गौतमले पनि पार्टी फुटको हल्ला चल्न थालेको बताएकी थिइन्।
लामिछानेको छनोटमा टेलिभिजनका पूर्वसहकर्मी
पार्टी सभापति लामिछानेले आफ्ना अत्यन्तै निकटका विश्वास पात्रहरूलाई केन्द्रीय सदस्य चयन गर्ने गरेका छन्।राजनीतिमा आउनुअघि उनी ‘ग्यालेक्सी फोर के’ टेलिभिजनमा ‘सिधा कुरा’ नामक कार्यक्रम चलाउँथे। अहिले केन्द्रीय समितिमा पनि टेलिभिजनकै पूर्वसहकर्मीहरूलाई समावेश गरिएको छ।
केन्द्रीय समितिमा रहेका दीपक बोहरा, रमेश प्रसाईं, प्रतिभा रावल र क्रान्तिशिखा धिताल लामिछानेसँगै उक्त टेलिभिजनमा थिए।गृहमन्त्री हुँदा लामिछानेले केन्द्रीय सदस्य बोहरालाई प्रमुख स्वकीय सचिव नियुक्त गरेका थिए। ग्यालेक्सीमै कार्यक्रम प्रस्तोता र समाचार वाचक रहेका नवराज पाण्डे प्रेस संयोजक नियुक्त भएका थिए।
बोहराको नाम रास्वपाको समानुपातिक सूचीमा पनि थियो। कतिपय त नाम र कामबारे नै नसुनिएकाहरू पनि पार्टीको केन्द्रीय समितिमा समेटिएका छन्।
फागुन १ गते केन्द्रीय सदस्य मनोनीत हुनेमा निशा मेहता, विन्दवासिनी कंशाकार, रुपा शंकर, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बुसरकार श्रेष्ठ, टीका संग्रौला र हरि भट्ट छन्। त्यसैगरी ध्रुव गिरी, लिमा अधिकारी, रमेश प्रसाईं, अर्जुन अधिकारी, क्रान्तिशिखा धिताल, प्रतिभा रावल र गोमा क्षेत्री केन्द्रीय सदस्य भएका छन्।
बाहिर नचिनिए पनि उनीहरूले पार्टीका लागि महत्त्वपूर्ण योगदान दिँदै आएकाले उचित ठाउँ दिएको प्रवक्ता ढकाल बताउँछन्। “जुनसुकै संस्थामा काम गर्नेहरू सबैलाई भन्दा पनि प्रमुखलाई चिन्ने चलन छ। त्यसैले कार्यालयमा काम गर्ने बाँकीहरूको कुनै योगदान नै नरहेको बुझ्ने गर्छन्,” ढकाल भन्छन्, “केन्द्रीय समितिमा समेटिएका सबैको आ-आफ्नो क्षेत्रमा योगदान छ। ग्यालेक्सीका साथीहरूसँग पहिलैदेखि काम गर्दै आएकाले उहाँहरूलाई योग्यताको आधारमा ठाउँ दिइएको हो।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
