दल तथा उम्मेदवारले सञ्चारमाध्यमबाट यसरी गर्न पाउँछन् चुनाव प्रचार

आचारसंहितामा विदेशी सञ्चारमाध्यमबाट निर्वाचनसम्बन्धी प्रचार सामग्री प्रकाशन तथा प्रसारण गर्न वा गराउन नहुने व्यवस्था गरिएको आयोगले जनाएको छ।

काठमाडौँ- प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल, उम्मेदवार तथा दलका भ्रातृ संगठनले प्रचारप्रसारका क्रममा सञ्चारमाध्यममा विज्ञापन गर्न निश्चित मापदण्ड तय गरिएको छ। निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिताको दफा १५ मा सञ्चारमाध्यमको प्रयोग गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ।

दफा १५ मा भएको व्यवस्थाअनुसार राजनीतिक दलले निजी क्षेत्रको टेलिभिजन, रेडियो वा एफएम रेडियोको माध्यमबाट चुनावको प्रचारप्रसार गर्न सक्छन्। प्रचारप्रसार गर्दा कम्तीमा एक घण्टाको अन्तरालमा २४ घण्टामा बढीमा चारपटक र एकपटकमा बढीमा एक मिनेटसम्म प्रसारण गराउन पाउँछन्। 

त्यस्तै, राजनीतिक दलले निजी क्षेत्रको पत्रपत्रिकाको माध्यमबाट प्रचारप्रसार गर्दा प्रत्येक दिन बढीमा ७X७ इन्चसम्मको आकारमा कुनै एउटा पत्रिकामा प्रचार सामग्री छपाउन सक्ने आयोगले जनाएको छ।

प्रत्यक्ष निर्वाचन प्रणालीबमोजिम हुने प्रदेशसभा सदस्य पदको निर्वाचनमा भाग लिने उम्मेदवारले टेलिभिजन, रेडियो वा एफएम रेडियोको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा कम्तीमा एक घण्टाको अन्तरालमा २४ घण्टामा बढीमा तीनपटक र एकपटकमा बढीमा एक मिनेटसम्म प्रसारण गराउने छन्।

आयोगका अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीबमोजिम हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा भाग लिने उम्मेदवारले टेलिभिजन, रेडियो वा एफएम रेडियोको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा २४ घण्टामा बढीमा चारपटक र एकपटकमा बढीमा एक मिनेटसम्म प्रसारण गराउन सक्नेछन्।

आचारसंहितामा विदेशी सञ्चारमाध्यमबाट निर्वाचनसम्बन्धी प्रचार सामग्री प्रकाशन तथा प्रसारण गर्न वा गराउन नहुने व्यवस्था गरिएको आयोगले जनाएको छ।