मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि ११२.२२ अंकले घट्यो नेप्से

बुधबारको तुलनामा बिहीबार नेप्सेमा कारोबार रकम पनि गिरावट आएको छ।

काठमाडौँ– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेपछि लगातार रूपमा नेप्से परिसूचकमा गिरावट आएको छ।

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिकपछि भएको चार कारोबारमा नेप्से परिसूचक ११२.२२ अंक घटेको छ। साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २१.१५ अंक घटेर २०७०.४१ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ३.७० अंकले घटेको छ भने फ्लोट इन्डेक्स १.४९ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.३७ अंकले घटेको छ।

बिहीबार कारोबारमा आएका २६५ कम्पनीको ४७ लाख ४७ हजार कित्ता सेयर १ अर्ब ६८ करोड ४९ लाख ४२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। बुधबारको तुलनामा बिहीबार नेप्सेमा कारोबार रकम पनि गिरावट आएको छ। बुधवार १ अर्ब ७३ करोडको सेयर खरिदबिक्री भएको थियो।

बिहीबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.९३ प्रतिशत घटेको छ। त्यस्तै, होटल तथा पर्यटन, वित्त, विकास बैंक, जलविद्युत्, लगानी र निर्जीवन बिमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ।

बिहीबार नेप्से परिसूचकमा गिरावट आए पनि सानिमा लार्ज क्याप फन्डको इकाईमूल्य ७.६५ प्रतिशत बढेको छ। त्यस्तै, राप्त हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको सेयरमूल्य ५.२३ प्रतिशत बढेको छ। तर, युनिलिभर नेपालको सेयरमूल्य ५.९१ प्रतिशत घटेको छ। बिहीबारको कारोबारमा हिमालयन डिस्टिलरी कम्पनीको ५ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।