मुन्सेको शतकमा नामिबियामाथि स्कटल्यान्डको जित

नामिबियाले दिएको १५४ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले २२.१ ओभरमा विनाविकेटको क्षतिमा १५७ रन बनायो।

काठमाडौँ- जर्ज मुन्सेको शतकसँगै स्कटल्यान्डले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजमा नामिबियालाई पराजित गरेको छ। बुधबार सम्पन्न खेलमा स्कटल्यान्डले नामिबियालाई १० विकेटले पराजित गरेको हो।

नामिबियाले दिएको १५४ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले २२.१ ओभरमा विनाविकेटको क्षतिमा १५७ रन बनायो। स्कटल्यान्डका ओपनर मुन्सेले शतक प्रहार गरे। उनले ६१ बलमा १२ चौका र ७ छक्का प्रहार गरे। उनको ओडीआईमा पहिलो शतक हो। अर्का ओपनर काइल कोट्जरले ७२ बलमा ७ चौकासहित ४६ रन बनाए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिला ब्याटिङ थालेको नामिबियाले ३९ २ ओभरमा सबै विकेट गुमाउँदै १५३ रन बनाएको थियो।

नामिबियाका ओपनर लो ह्यान्ड्रे लोरेन्सले सर्वाधिक ५४ रन बनाए। उनले ८८ बलमा ५ चौका प्रहार गरे। मध्यक्रमका बेनार्ड शोल्ट्सले ३९ बलमा ३ चौका र १ छक्कासहित ३० रन बनाए।

जोन ग्रिनले ३५ बलमा ४ चौकासहित २५ रन बनाए। नामिबियाका अन्य कुनै ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।

स्कटल्यान्डका माइकल लीस्कले सर्वाधिक ४ विकेट लिए। सफायान सरिफ र मार्क वाटले सामान ३/३ विकेट लिए।

जितसँगै अंक तालिकाको शीर्ष स्थानमा रहेको स्कटल्यान्डको ३३ खेलबाट ४८ अंक पुगेको छ। 

पराजित नामिबियाको ३२ खेलबाट ४४ अंक छ। नामिबिया अंक तालिकामा तेस्रो स्थानमा छ।