महाधिवेशन गरेर नयाँ नेतृत्व छानेको विवेकशील साझाले एक वर्षभित्र प्रदेश र जिल्ला अधिवेशन सक्ने योजना बनाएको छ। त्यसैगरी, साना दलसँग एकता गर्ने र स्वतन्त्र रहेकालाई पार्टीमा भित्र्याउने रणनीति लिएको छ।
काठमाडौँ- “हामीले संगठन विस्तारको कामलाई गम्भिरतापूर्वक लिएका छौँ। अबको एक वर्षभित्र प्रादेशिक र जिल्लाको अधिवेशन गराएर जिल्ला तहसम्म पुग्छौँ। हामीले विचार मिल्ने साना दलहरूसँग एकताको प्रस्ताव गर्ने तयारी पनि गरेका छौँ।"
विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले उकालोसँग सोमबार पार्टीको भावी कार्यक्रम र योजना सुनाइन्। उनले अर्को चुनावलाई लक्षित गरेर अहिलेबाटै संगठन मजबुत बनाउन अभियान थाल्ने पनि बताइन्। गएको स्थानीय र संघीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिनेहरूलाई पार्टीमा आउन प्रस्ताव गरेको उनले बताइन्।
गएको माघ २७ र २८ गते महाधिवेशन गरेको विवेकशील साझाको उपाध्यक्ष चुनिएका मिलन पाण्डे र महासचिव चुनिएकी रञ्जु दर्शना दुवै जना मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार थिए। यसअघि विवेकशील साझाका अध्यक्ष रहेका रवीन्द्र मिश्रले 'विचारभन्दा माथि देश' कार्यपत्र सार्वजनिक गर्दै राजतन्त्रात्मक व्यवस्थाको पक्ष लिएपछि पाण्डे र दर्शनासहितका नेताले विरोध जनाएका थिए।
पार्टीमा विवाद बढ्दै जाँदा मिश्र पक्षले पाण्डे र दर्शनालगायतलाई कारबाही गरेको थिए। त्यहीकारण उनीहरूसहितका नेता निस्क्रिय भएका थिए।
फरक परिचय बनाएको यो दल विगत दुई वर्षदेखि आन्तरिक विवादमा फसेको थियो। पूर्वअध्यक्ष मिश्र केही नेतासहित राप्रपा प्रवेश गरेका थिए। पार्टीमा शुरूदेखि संलग्न अब्दुश मियाँ, सूर्यराज आचार्य, मुमाराम खनाल बाहिरिएका छन्। तर महाधिवेशनबाट कार्यकारी भूमिकामा रहने अध्यक्ष र महासचिव नै महिला छानेको विवेकशील साझाले अब पुरानै 'वैकल्पिक राजनीति'को विचार अघि बढाउने जनाएको छ।
आफूहरूले पार्टीलाई फेरि सही ‘ट्रयाक’ दिने प्रतिबद्धतासहित संगठित भएको विवेकशील साझाका नेता केशव दाहालले बताए। “पहिला जे भयो, त्यो गल्तीलाई सच्याउँदै अगाडि बढ्छौँ। नयाँ राजनीतिक संस्कार अंगिकार गर्छौँ। जनतामाझ गएर माफी माग्छौँ,” दाहाल भन्छन्, “ध्वस्त भएको पार्टीलाई सम्हाल्न नै महाधिवेशन गरेर नयाँ नेतृत्व छानेका छौँ।”
नवनिर्वाचित उपाध्यक्ष मिलन पाण्डेले पार्टीमा अब कुनै विवाद नरहेको बताए। यसअघि पार्टीमा रहेका र अहिले 'छरिएका'लाई पनि समेट्दै जाने उनको भनाइ छ। “हाम्रा साथीहरू छरिनुभएको थियो, तर अब बिस्तारै पुन संगठित हुँदैछौँ,” पाण्डे भन्छन्, “हामी नयाँ उर्जाका साथ फेरि उठ्नेमा विश्वस्त छौँ।”
नवनिर्वाचित महासचिव दर्शना पनि संगठन विस्तारलाई नै पहिलो प्राथमिकतामा राखेको बताउँछिन्। “पार्टी टुट्फुट भएर संगठन कमजोर भएको छ। पहिला संगठनमा आबद्ध हुनुभएका साथीहरू धेरै नै निराश भएर बस्नुभएको छ,” उनी भन्छिन्, “हामीले उहाँहरूलाई पुन: फर्काउने प्रयास अगाडि बढाएका छौँ।”
महासचिव दर्शना आफूहरू पुन: 'पुरानै लय'मा फर्किने दाबी गर्छिन्। “कति समय लाग्ला भन्ने ठ्याक्कै यकिनका साथ भन्न सकिन्न, तर हामी पुरानै लयमा फर्किन्छौँ भन्नेमा विश्वास दिलाउन चाहन्छौँ,” उनले भनिन्।
नवनिर्वाचित अध्यक्ष बास्कोटा भने महाधिवेशनबाटै आफूहरू पुरानो लयमा फर्किसकेको बताउँछिन्। “महाधिवेशनबाट हामी फेरि पुरानै लयमा आइसकेको सन्देश दिइसकेका छौँ। हामीले छानेको नेतृत्वले पनि त्यसको पुष्टि गर्छ," उनले भनिन्।
महाधिवेशनबाट उपाध्यक्षमा मिलन पाण्डे, प्रकाशचन्द्र परियार र विमला पाण्डे चयन भएका छन्। सचिवमा पवित्रा थापा, विमल तामाङ र समुन्द्र केसी तथा कोषाध्यक्षमा दामोदर नेपाल चुनिएका छन्। विवेकशील साझाको केन्द्रीय कार्यसमिति ५१ सदस्यीय छ।
अध्यक्ष बास्कोटा भन्छिन्, "हाम्रो मनोविज्ञान महिलाको सवालमा सधैँ ‘उप’ वा ‘सह’ पद मात्रै दिने छ। तर विवेकशीलले त्यो स्वीकारेन,” उनी भन्छिन्, “हाम्रो नौ जना पदाधिकारीमा चार जना महिला छन्। पार्टीको नेतृत्वमा ४४ प्रतिशत महिला सहभागी गराएका छौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
