टर्की भूकम्पको सातौँ दिन : मृतकको संख्या २८ हजार पुग्यो, लुटपाट र असुरक्षा बढ्यो

टर्की–सिरिया भूकम्प प्रभावित क्षेत्रमा लुटपाट र अपहरणका घटना बढेका छन् भने केही स्थानमा अज्ञात समूहहरूबीच झडप  भएपछि उद्धार कार्य रोकिएको छ।

तस्वीर : रोयटर्स

टर्की र सिरियामा फेब्रुअरी ६ मा गएको ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी हालसम्म २८ हजार जनाको मृत्यु भएको छ भने दशौँ हजारौँ घाइते छन्। भूकम्प गएको एक सातासम्म पनि भत्किएका संरचना र भग्नावशेषमा पुरिएकाको उद्धार कार्य जारी छ।

केही चमत्कारिक रूपमा जीवितै उद्धार गरिएका बाहेक अधिकांश मृतक भेटिएका छन्। अब जीवितै उद्धारको सम्भावना न्यून बन्दै गएको उद्धारकर्ताहरूलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ।

केही स्थानमा अज्ञात समूहहरूबीच झडप भएपछि जर्मन र अस्ट्रियाली सेनाले शनिबारदेखि उद्धार कार्य स्थगित गरेको बताइएको छ। टर्कीको हताय प्रान्तमा केही अज्ञात समूहहरूबीच हानाहान भएपछि अन्तर्राष्ट्रिय संगठनहरूसँग संयुक्त रूपमा उद्धारमा खटिएकाहरू असुरक्षाका कारण उद्धार कार्य स्थगित गरेको अस्ट्रियन सेनाका प्रवक्ताको भनाइ थियो।

मानिसको जीवित उद्धार गर्ने सम्भावना र सुरक्षा जोखिमबीच कुनै सम्बन्ध नरहेको अस्ट्रियाली लेफ्टिनेन्ट कर्नेल पियरे कुजेलवीसले विज्ञप्तिमार्फत भनेका छन्। अन्तर्राष्ट्रिय समुदायले उद्धार कार्य स्थगित गरेको केही घण्टामै टर्कीको सेनालाई सुरक्षाका लागि घटनास्थलतर्फ पठाइएको बीबीसीले जनाएको छ।

भूकम्प प्रभावितहरूलाई खाद्य आपूर्तिमा समस्या देखिएपछि त्यहाँ असुरक्षा बढेको एक स्थानीयलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ। असुरक्षा बढेपछि टर्की राष्ट्रपति रिसिप तैयप एर्दोगानले हताय क्षेत्रमा आपत्काल घोषणा गरेका छन्। लुटपाट र अपहरणका घटना बढेकाले कारबाहीलाई तीव्र पारिएको उनको भनाइ छ। कानून उल्लंघन गर्नेलाई आकस्मिक शक्ति प्रयोग गरी कारबाही गर्ने उनले चेतावनी दिएका छन्।

शनिबार मात्रै लुटपाटमा संलग्न ४८ जनालाई टर्की प्रहरीले पक्राउ गरेको थियो। घर, गाडी, बजार, पसलमा लुटपाट बढेको बताइएको छ।

भूकम्पमा ध्वस्त कमसल संरचना निर्माणमा संलग्न केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। कूल ११३ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएकोमा हालसम्म १२ जनालाई पक्राउ गरिएको बीबीसीले लेखेको छ। भूकम्पमा परी टर्कीमा मात्रै कम्तिमा ६ हजार घर पूर्ण रूपले क्षतिग्रस्त भएका छन्। भूकम्प प्रतिरोधी मापदण्ड प्रयोग गरी बनाइएका घरहरू पनि भूकम्पमा ढलेपछि धेरैले निर्माण कम्पनी र ठेकेदारहरूलाई जबाफदेही बनाउनुपर्ने भन्दै कारबाहीको माग गरेका थिए।

भूकम्प गएको एक सय घण्टापछि जीवितै उद्धार
भूकम्प गएको १०० घण्टापछि शनिबार पाँच जनाएको जीवितै उद्धार गरिएको छ। टर्कीको गाजियान्टेप प्रान्तमा शनिबार एकै परिवारका पाँच जनाएको जीवितै उद्धार गरिएको हो। भूकम्पले घर भत्किएपछि त्यहीँ पुरिएका एक दम्पती, उनीहरूका दुई छोरी र एक छोराको जीवितै उद्धार भएको हो। उद्धारपछि उनीहरू ‘भगवान् महान् छन्’ भन्दै रोएको बीबीसीले उल्लेख गरेको छ।

हताय प्रान्तमा १३२ घण्टापछि संरचनामा पुरिएकी सात वर्षीया बालिकाको पनि उद्धार गरिएको छ। यसअघि बुधबार पनि टर्कीको दक्षिणी क्षेत्रको अन्तक्याबाट दुई बालिकाको उद्धार गरिएको थियो।

संयुक्त राष्ट्रसंघका मानवीय सहायता तथा आपत्कालीन राहत प्रमुख मार्टिन ग्रिफित्स‍्ले टर्की, सिरियाको भूकम्पलाई यस क्षेत्रमा १०० वर्षयताकै भयानक प्राकृतिक विपत्ति भनेका छन्।

मानवीय र आर्थिक सहयोगलाई प्रभावकारी बनाउन एक सयभन्दा बढी देशले सहायताका लागि मानिसहरू पठाएको र यहाँ बढी सहायताको खाँचो परेको उनले बताए। विपत्तिका समयमा क्षेत्रीय राजनीतिलाई बिर्सेर सहयोगको हात बढाउन उनले यस क्षेत्रका देशहरूलाई आग्रहसमेत गरेका छन्। 

मानवीय सहायताका लागि अर्मेनिया र टर्कीको सीमा ३५ वर्षपछि पहिलोपटक खुला गरिएको छ। विद्रोही समूहको कब्जामा रहेको सिरियाका केही क्षेत्रमा राष्ट्रसंघीय सहायताका लागि सिरियाली सरकारले खुला गरेको छ। सिरियामा सन् २०११ यता जारी गृहयुद्धका कारण असुरक्षित मानिएका ती क्षेत्रहरूमा सशस्त्र समूहका लडाकु बस्दै आएका थिए। सोही क्षेत्रमा भूकम्प गएको हो।