विवेकशील साझाको अध्यक्षमा समीक्षा र महासचिवमा रन्जु सर्वसम्मत

विवेकशील साझा पार्टीको निर्वाचन समिति संयोजक केशव दाहालका अनुसार अध्यक्षमा समीक्षा बाँस्कोटा र महासचिवमा रन्जु दर्शना सर्वसम्मत चयन भएका छन्।

काठमाडौँ– विवेकशील साझा पार्टीले पदाधिकारीको टुंगो लगाएको छ।

शुक्रबारदेखि काठमाडौँ जारी महाधिवेशनले सर्वसम्मत रूपमा पदाधिकारी चयन गरेको हो।

निर्वाचन समितिका संयोजक केशव दाहालका अनुसार आठ जना पदाधिकारी सर्वसम्मत चयन भएका हुन्।

अध्यक्षमा समीक्षा बाँस्कोटा चयन भएकी छन्। महासचिवमा रन्जु दर्शना सर्वसम्मत भएकी छन्।

उपाध्यक्षमा प्रकाशचन्द्र परियार, विमला अधिकारी र मिलन पाण्डे चुनिएका छन्।

त्यस्तै, कोषाध्यक्षमा दामोदर नेपाल, सचिवहरूमा पवित्रा थापा, विमल तामाङ सर्वसम्मत चयन भएको संयोजक दाहालले जानकारी दिए।

पार्टीमा ५१ सदस्यीय केन्द्रीय समिति रहने भएको छ। केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ।