ट्रमा सेन्टरका चिकित्सकमाथि कुटपिट गरेको आरोपमा वरिष्ठ प्रहरी हवल्दार गुरुङ निलम्बित

चिकित्सकमाथि लाठी चार्जको विषयलाई लिएर वरिष्ठ प्रहरी हवल्दार गुरुङलाई निलम्बन गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले जानकारी दिए।

काठमाडौँ– नेपाल प्रहरीले ट्रमा सेन्टरका चिकित्सकमाथि कुटपिट गरेको आरोपमा एक वरिष्ठ हवल्दारलाई निलम्बित गरेको छ।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा ट्राफिक व्यवस्थापनमा खटिएका वरिष्ठ प्रहरी हवल्दार शम्भुजंग गुरुङले ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहमाथि कुटपिट गरेको आरोपमा उनलाई निलम्बन गरिएको हो। 

चिकित्सकमाथि लाठी चार्जको विषयलाई लिएर वरिष्ठ प्रहरी हवल्दार गुरुङलाई निलम्बन गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले जानकारी दिए। “चिकित्सकमाथि लाठी चार्जको विषयमा वरिष्ठ हवल्दार गुरुङलाई निलम्बनको कारबाही गरिएको छ र घटनाको अनुसन्धान अघि बढाइएको छ”, उनले भने।  

शुक्रबार राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै बैठकलाई संयुक्तरूपमा सम्बोधन गरेर फर्किने क्रममा वीर अस्पताल अघिको सडक खाली गराउन खटिएका प्रहरीले  डा. सिंहमाथि लाठी चार्ज गरेका थिए। यही विषयलाई लिएर चिकित्सक तथा स्वास्थ्यकर्मी विरोध प्रदर्शनमा उत्रिएका थिए। प्रदर्शनमा उत्रिएका स्वास्थ्यकर्मीमाथि प्रहरीले प्रशासनले बल प्रयोग गर्दा अन्य केही व्यक्ति पनि घाइते भएका छन्।   

प्रहरीको लाठीचार्जबाट डा. सिंहको टाउको र हातमा चोट लागेको छ। उनलाई ट्रमा सेन्टरको आईसीयूमा अब्जर्भेसनमा राखिएको बताइएको छ।