गोरखा बजारबाट शुरू हुने पदयात्रा सडक खुलेपछि आरुघाट बजारबाट शुरू भयो। त्यसपछि सोतीखोला र अचेल माछाखोला बनेका छन्, उही पदयात्राको प्रस्थानबिन्दु। फिलिमसम्म सडक छ। दोभानसम्म जिपको सुविधा छ।
“आर यु रेडी केभिन?”
“यस!”
“एन्ड ह्वाट अबाउट यु, मोर्गेन?”
“आई एम रेडी टु!”
गोरखाको माछाखोलास्थित होटल चुमभ्यालीमा बिहानको नास्ता गरेपछि पथप्रदर्शकको भूमिकामा रहेका जयनाथले दिएको ‘डे ब्रिफिङ’पछिको अन्तर्क्रियात्मक संवाद।
उत्साहित देखिन्छन्, केभिन र मोर्गेन दुवै।
उनीहरू आपसमा साथीसाथी। पेशाले दुवै अग्नि नियन्त्रक। एउटै कम्पनीमा काम गर्छन्। केभिनका लागि नौलो होइन नेपाल। यसअघि दुई पटक अन्नपूर्ण र सगरमाथा आधार शिविरसम्मको पदयात्रा गरिसकेका छन्। मोर्गेनको चाहिँ पहिलो भ्रमण। अघिल्लो महिना नेपाल आएका उनले अन्नपूर्ण चक्रीय मार्गको पदयात्रा पूरा गरिसकेकी छन्। मनास्लुको यो पदयात्रा उनको दोस्रो हो।
“लेट्स स्टार्ट ट्रेकिङ!” ट्रेकिङ पोलको चुच्चोलाई आँगनमा बिछ्याइएको ढुंगामा ट्याकट्याक टेकाउँदै जय भन्छन्।
यात्राको दोस्रो दिन, तर पदयात्राको पहिलो दिन आज।
“कहिलेकाहीँको यात्रा पहिलो पाइला चाल्नु अघि नै शुरू हुन्छ।” कोलिन थुब्रोनको यो भनाइप्रति सहमत छु म। यसकारण कि, यो क्षेत्रमा पाइला हाल्नुअघि नै मैले मनले विचरण गरिसकेको थिएँ। ‘मिसन लार्के ला’का साथ पदयात्रा शुरू हुन्छ। मिसन एउटा साहसिक यात्राको।
मिसन प्रकृतिको काखमा बसेर अनमोल जीवनको अनुभूतिको। मिसन नुब्रीबासी र उनीहरूको सांस्कृतिक अध्ययन। यस्तैयस्तै अनगिन्ती अभीष्ट छन्, यो मिसनमा।
लार्के पिकको आँगन हो– ल्हाक्र्या अर्थात् लार्के ला। आफैँमा एउटा हिमाल हो– लार्के ला। मनासलु चक्रीय पदयात्रा मार्गको उच्चतम् बिन्दु हो– लार्के ला।
माछाखोला (८७० मि.)बाट कठिन भर्याङ चढ्नुपर्छ, लार्के ला (५१०६ मि.) पुग्न। जगात, नाम्रुङ, ड्याङ, ल्हो, सामागाउँ, साम्दो हुँदै भर्याङको सिरान लार्के लासम्म पुग्न आठवटा प्राकृतिक खुट्किला छन्। अरू थुप्रै खुट्किलाहरू छन्, यी खुट्किलाभित्र। फेरि लार्के टेकेकै दिन भीमथाङ ओर्लेर मनाङको धारापानी फड्को नमारेसम्म पदयात्रा पूरा हुँदैन। थुप्रै कठिन आरोह र अवरोह गर्नुपर्छ। साहसिक यात्राको विशेषता नै हुन्– आरोह र अवरोह।
माछाखोला र बूढीगण्डकीको दोभानमा अवस्थित छ, सुन्दर माछाखोला बस्ती। खोला र बस्तीको एउटै नाम– माछाखोला। माछा त खान पाइएन, तर अघिल्लो साँझ खानासित राँगाको मासु खुवाएका थिए, कुक धनबहादुर गुरुङले। २०६५ सालदेखि यही होटलमा कुक छन् उनी। उनको पाकपकान र सरिता गुरुङको आतिथ्यपूर्ण व्यवहार ग्राहकको आकर्षण बनेको छ।
माछाखोलाको फड्के तरेपछि सडक आउँछ। उतिबेलाको नुन व्यापारको बाटोमा अहिले सडक बिस्तार भएको छ। र, त पदयात्रा मार्ग छोटिएको छ नि।

मनास्लु पदयात्रा खुल्दाताका गोरखा बजारबाट शुरू हुने पदयात्रा सडक खुलेपछि आरुघाट बजारबाट शुरू भयो। त्यसपछि सोतीखोला र अचेल माछाखोला बनेका छन्, उही पदयात्राको प्रस्थानबिन्दु। फिलिमसम्म सडक निर्माण भइसकेको छ। दोभानसम्म जिपको सुविधा छ।
माछाखोलाबाट उक्लेका एक हुल खच्चरले बाटोमै भेट्छन् हामीलाई। ढाडमा ५०–६० किलोको भार बोकेका छन् तिनले। नुब्री भ्यालीको जीवनको आधार हो– खच्चर। उहिले (उहिले मानिस आफैँले डोको, नाम्लो, तोक्मा र खकन कसेर सामान बोक्थे। ज्यालामा भारी खेप्नेहरूले दिनको ४–६ आना पाउँथे रे। विकल्पमा खच्चरको प्रयोग गर्न थालेपछि मान्छेलाई सहज भएथ्यो। अहिलेसम्म पनि नुनदेखि सुनसम्म खच्चरबाटै ढुवानी हुन्छ, यतातिर। साम्दोसम्म सडक पुगेपछि त सायद खच्चर युगको अन्त्य हुन्छ, नुब्री भ्यालीमा। त्यसपछि त पर्यटन रहे पनि पदयात्रा व्यवसायले विश्राम पाउला। ‘सडकको विकास, पदयात्रा व्यवसायको विनास’ भन्ने त उखान नै भइसकेको छ, नेपालमा।
पहिले खोर्लाबेसी, त्यसपछि आउँछ उइयाबेसी, तातोपानी। चट्टानी पहाडको फेदमा छ, सानो मानव बस्ती। बस्तीसँगै तातोपानीको मूल। मूलबाट अविराम झरिरहेछन् तीन थान धारा। दुइटा धारालाई कुण्डमा खसालिएको छ। एउटालाई कुण्डबाहिर। र, हर्रर उडिरहेको छ जलबाफ। उस्तै लाग्छ मलाई उडिरहेको बाफ र मेरा आफ्नै सपना। यसरी नै बाफ बनेर उडी गएका छन् मेरा कैयौँ सपना र अन्ततः अधैर्य बादल बनेका छन्।

डुबिहालुँ जस्तो लाग्छ चिसो वातावरणमा तातोपानीको कुण्ड देख्दा। अघिल्लो दिन बास बस्न यतै आउन पाएको भए मज्जाले तातोपानीमा स्नान गर्न पाइने रहेछ। काठमाडौँदेखि आउँदा बसले उफारेर थिलथिलो भएको ज्यानले तातोपानीमा डुबुल्की मार्न पाउँदा आराम त पाउँथ्यो! थकथक लाग्छ मलाई।
साथमा काखेछोरी लिएर अघिल्लो दिन तातोपानी डुबुल्की मार्न आइपुगेका एकजोडी त्यहीँ भेटिन्छन्।
बेनीबाट आएका रे उनीहरू। मोर्गेन र केभिनसँग बसेर फोटो खिच्ने रहर लागेछ ती जोडीलाई र जयनाथसामु आएर नम्र भावमा भन्छन्– "गोरासित बसेर तस्वीर खिच्न मन लाग्यो। भन्दिनुस् न दाइ!”
विदेशीहरू भेटिँदा तस्वीर खिच्ने रहर हुन्छ प्रायः नेपालीलाई। अनुमति माग्नु आफैँमा शिष्टाचार हो। सहजीकरण गरिदिए जयले।
ती दम्पतीले केभिन र मोर्गेनलाई आफ्नो मोबाइलमा कैद गराए, एक्लैएक्लै र सामूहिक रूपमा। तस्वीर उनीहरूलाई देखाए र धन्यवाद दिँदै अर्को शिष्टाचार जनाए। तस्वीर आफैँमा सम्झनाका प्रतीक हुन्। आत्मीयताको अँगालो हालेर तस्वीर खिचाएका थिए उनीहरूले।
उतिबेला हामी नेपालीका लागि दुर्लभ जिनिस थियो– क्यामरा। उनीहरूले तस्वीर खिच्दै गर्दा पुरानो जमानामा फर्कंदै थिएँ म। कुनै जमाना यस्तो थियो– विदेशीहरूले मात्र तस्वीर खिच्थे। कतिपय विदेशीले तस्वीर धुलाएपछि एअर–मेल (हवाइपत्र)बाट पठाइदिने गर्थे। कतिपटक त म आफैँले फेरि त्यही गन्तव्यमा पदयात्रा गर्दारगराउँदा उनीहरूले पठाइदिएका तस्वीरको कोसेली पुर्याइदिएको छु। उनीहरू आफ्नो तस्वीर देख्दा मख्ख पर्थे। तर यो एकादेशको कथा जस्तै भइसकेको छ।
आजकल सबैको हातहातमा मोबाइल छ। तस्वीर हेरेरै मख्ख पर्न अरूको भर पर्नुपर्दैन। प्रविधिको कमाल भनेको यही त हो।
तातोपानीबाट अगाडि बढेपछि आउँछ सुन्दर छहरा। पानीको स्रोत मात्र होइन, छहरा प्राकृतिक सौन्दर्यको सुनाम पनि हो।
सुन्दर जलप्रवाहले हठात् रोकिन्छन् हाम्रा पाइला।
चट्टानी पहराको छाती भएर छङ्छङिरहेका छन् छहरा। इन्द्रेणीले झनै सौन्दर्य थपेको छ छहराको। मन चञ्चल हुन्छ छहरा देख्दा।
छहरामा बनेको छ अर्धवृत्ताकार इन्द्रधनुष। धनकुटा, तेह्रथुम र सङ्खुवासभाको सिमानामा रहेको इन्द्रेणी झरनाको याद आउँछ मलाई र मनमनै राखिदिन्छु झरनाको नाम– “इन्द्रेणी झरना”

“ह्वाट अ ब्युटिफुल फल विथ रेन्बो!” आवाज निकाल्छिन् मोर्गेन।
झरनाको उचाइलाई हेर्न खोज्दा निलो आकाश मात्र देख्छु। मानौँ झरना त आकाशबाटै झरिरहेको छ।
एकछिन गहिरिएर सुन्छु झरनाको नाद। उस्तैउस्तै लाग्छ यसको छङ्छङ र सारंगीको धुन। फरक यति मात्र हो, सारंगीको धुन संगीतकारको अन्तर्हृदयको गहिराइबाट निस्कन्छ। झरनाको गुञ्जन चट्टानमा ठक्कर खाएर निस्कन्छ। म झरना बनेर कल्पना गरी हेर्छु– मान्छेको जीवन र झरनामा अन्तर पाउदिनँ। बाह्य संसारले देख्दा त सुन्दर लाग्छ, तर चट्टानमा ठोक्किनु पर्दाको असैह्य पीडा मान्छेहरूलाई सायदै महसुस होला।
बाटोमा भेटिन्छन्, आफ्नो दैनिकीमा निस्केका स्थानीय। कोही डोको बोकेका। कोही नानीलाई स्कुलतर्फ डोहोर्याइरहेका। सँगसँगै हुलका हुल खच्चर पनि आउजाउ भइरहेको। र, छारो उडाइरहेका।
दुई हात जोडेर ‘नमस्कार’ गर्छन् साना नानीहरू। नेपाली संस्कार र अविभादनको शैली देखेर छक्क पर्छन् केभिन र मोर्गेन।
वास्तवमा उनीहरूलाई हामीले देखाउन खोजेको पनि यही नै हो।
म उनीहरूलाई भन्छु– ‘नमस्कार इज नट वन्ली अ कल्चरल रेस्पेक्ट। देयर इज अ होल साइन्स टु इट। पुटिङ आवर पाम टुगेदर इज यान इरप्सन अफ इनर्जी।’
दुई हातलाई रगड्दै प्रतिप्रश्न गर्छिन् मोर्गेन– “रियल्ली?”
त्यसपछि उनीहरू पनि नमस्कार फर्काउँछन्, दुई हात जोडेरै।
दोभान पुग्नुअघि बाटैमा भेटिन्छन् एक जोडी स्विडिस। काठमाडौँबाट आउँदा एउटै बसमा थियौँ हामी। अघिल्लो रात माछाखोलामा उही होटलमा बसेका थियौँ हामी। १३ घण्टे बसको यात्राले थलिएका थियौँ। होटलमा आइपुग्नेबित्तिकै खानको हतार र खानेबित्तिकै सुत्नको हतार भएथ्यो। राम्ररी परिचय गर्न पाएका थिएनौँ। थोरै थाकेका थियौँ र!
अघिल्लो साँझ उनीहरू मोबाइल हेरेर हाँस्दै थिए। उनीहरू बीचको कुरा पनि सुनेको थिएँ मैले– “पेडोमिटर सोज ट्वान्टी थाउजन्स स्टेप्स।”

यसको मतलब काठमाडौँदेखि माछाखोलासम्म २० हजार जोल्टिङ रहेछन्। नेपालको सडक न पर्यो।
राम तामाङ उनीहरूका पथप्रदर्शक।
केभिन र मोर्गेनले जस्तै आ–आफ्ना झोला आफैँले बोकेका छन्। यो क्षेत्रमा पदयात्रा गर्न विदेशीहरूलाई नेपाली कम्पनीको प्रयोग गर्नैपर्ने बाध्यता छ। र त राम तामाङ र जयले रोजगारी पाएका छन्।
सडकमार्गलाई छाडेर गोरेटो समाउँछौँ र झोलुंगे पुलतर्फ अगाडि बढ्छौँ।
अघिसम्म झरनाको गुञ्जन गुञ्जिरहेको कानमा बूढीगण्डकीको संगीत छिर्छ। यसको झंकारले नुब्री भ्यालीको महिमा गाइरहेको प्रतीत हुन्छ।
पुल तरेपछि पुगिन्छ दोभान। अब देब्रेपट्टि पर्न जान्छ बूढीगण्डकी। दोभानस्थित ‘अठार सयखोला फेमिली गेस्टहाउस’ र ‘सुपर भ्यु लज’का बन्द झ्यालढोकाले पर्यटकीय यामको अन्त्य भइसकेको संकेत गर्छन्।
मंसिरको चौँथो हप्ता चलिरहेको छ यति बेला। मौसमको हिसाबले लार्के लाजस्तो उचाइमा पदयात्रा गर्नु जोखिमपूर्ण नै हुन्छ। साहसिक यात्रामा जोखिम त उठाउनैपर्छ। तर केही गरी लार्के लामा हिउँ परिहाले मिसन पूरा हुँदैन हाम्रो। आशंकाको हिमपहिरो जान्छ मेरो मनमा। अर्को १० दिनसम्म हिमपात नभइदिए हुन्थ्यो भन्ने कामना गर्छु म।
बस्तीको अलि पर रहेछ– श्री गणेश हिमाल आधारभूत विद्यालय। भुराहरू चिच्याइचिच्याइ पढिरहेका छन्– एक एकान एक, एक दुना दुई, एक तियाँ तीन.....।
यसरी नै पढिएको थियो आफूले पनि। त्यो बेलाको म जन्मेको ठाउँ र आजको गोरखाको यो दोभान, त्योबेला मैले पढेको स्कुल र यो आधारभूत विद्यालयको पढ्ने–पढाउने शैलीमा भिन्नता पाइनँ मैले। बालवयको याद आउँछ स्मृतिचित्रमा।
यतिबेला सँगै भएका छौँ स्विडिस जोडी र हामी। उनीहरू कहिले अघिअघि, हामी पछिपछि। हामी कहिले अघिअघि, उनीहरू पछिपछि। यो सिलसिला चल्दा चल्दै पुगियो ठूलोढुंगा।
ढुंगाहरू पनि घरभन्दा ठूला। त्यसैले पो ठाउँको नाम पनि ठूलोढुंगा भनिएको रहेछ। यतिसम्म कि ढुंगामै निर्माण गरिएका छन् होटल र रेस्टुरेन्टका संरचना। त्यहीँनेर लालुपातेले रङ छरिरहेको छ, चट्टानको कापमा उम्रेर। बूढीगण्डकीको लय मिसिएको मन्द वायुले लालुपातेको सुवासलाई मेरो नासिकासम्म ल्याइरहेछ।
त्यहाँको पहिलो होटलमा पेट भर्ने मत मिल्छ हाम्रो। अर्डर गरेको दाल–भात कुर्ने क्रममा स्विडिस जोडीका पथप्रदर्शक रामले मलाई उनीहरूसँग परिचय गराइदिन्छन्– “बाइ द वे, ही इज राजेन्द्रमान डङ्गोल। ही इज अ ट्राभल राइटर।”
“माइ नेम इज डेनियल जोन्सन।”
“आई एम एलिन हग्स्ट्रोम।”
उनीहरू परिचय दिन्छन् मलाई।
“नाइस टु मिट यु!” औपचारिकता निर्वाह गर्छु म।
स्विडेनको राजधानी स्टकहोमबाट आएका। प्रेमिल जोडी रहेछन् उनीहरू। डेनियलको काम आईटीसम्बन्धी। एलिनको काम एन्जीओमा। सँगै बसेको पाँच वर्ष भइसकेको रहेछ। अचम्मको संस्कार छ पश्चिमाहरूको। १८ वर्ष नाघेपछि बाउआमासँग बस्दैनन् उनीहरू।

“ह्वेन टु म्यारी देन?”
मेरो जिज्ञासामा डेनियल मुस्कुराउँदै भन्छन्– “इट्स टु अर्ली फर अस्।”
पहिले काम गर्ने, पैसा कमाउने र घुम्न बाँकी रहेका देशहरू घुम्ने योजना भएको बताउँछन् उनीहरू।
यात्रामा निस्केको छ महिना भइसकेको रहेछ। अझै बैंकक र अस्ट्रेलिया जानै बाँकी रहेछ। घुम्नु जीवनको अत्यावश्यक पाटो हो विदेशीहरूको। फरक छ उनीहरू र हाम्रो जीवनको बुझाइ र जिउँने तरिका। युरोपमा गरिने तीन महिनाको खर्चले एसियाली मुलुकमा झन्डै छ महिनालाई पुग्ने भएपछि किन नघुम्नु त!
000
आज जगात पुग्नुपर्छ बास बस्न।
जय भन्छन्, “अझै लाग्छ, साढे तीन घण्टा।”
ओहो! तीन घण्टा हिँडिसकियो। अझै साढे तीन घण्टा हिँड्नु छ।
“छोटो दिन छ, अबेर गर्नु हुँदैन”, राम बोल्छन्।
“जाऊँ जाऊँ”, जय भन्छन्।
दोभानबाट पहिरोको बाटो शुरू हुन्छ। हावाले ढुंगा खस्न सक्ने जोखिम पनि त्यत्तिकै। बाटो साँघुरो। यही बेला एक हुल खच्चर आइपुग्छ, बुङ्बुङ्ती धुलो उडाउँदै। साथमा एउटा जगेडा मास्क थियो र काम दिएको छ।नत्र धुलो कति खान्थेँ हुँला मैले!
'ट्याक्सी गुडाउँदै, बाइरोडको बाटोमा धुलो उडाउँदै' भन्ने गीत खुब चल्थ्यो एकताका। त्यही सम्झेर 'खच्चर धपाउँदै, जगातको बाटोमा धुलो उडाउँदै' भनेर गाउँछु। मेरो गीतको बोल सुनेर खच्चर ड्राइभर मज्जाले हाँस्छन्।

साँघुरो छ गोरेटो। छेउपट्टि उभिँदा तलतिर धकेल्छ भनेर कुनापट्टि उभिएर खच्चरलाई बाटो दिन्छु म। धोक्रो बोकेको एउटाले नराम्ररी अँचेट्छ मलाई। अनि त गीत नै कता पुग्छ कता!
ठूलोढुंगाबाट हिँडेपछि बाटैमा भेटिन्छन् तिब्बती पोशाकमा सजिएका दुई महिला र दुई पुरुष। नमस्ते साटासाटसँगै छोटो संवाद हुन्छ हाम्रो– “कहाँबाट आउनु भएको?”
“छेकम्पारोबाट।”
चुम र नुब्री दुइटा भ्याली छ यता। चुम भ्यालीमा पर्छ छेकम्पारो।
“कहाँ जाँदै हुनुहुन्छ?”
“बोधगया।”
“जाडो छल्न जान लाग्नु’भा?”
“त्यो पनि हो। आउँदो महिनामा प्रकृति संरक्षण र विश्व शान्तिको कामनाका लागि बोधगयामा दलाइ लामाले ठूलो पूजा लाउँदै छन्। अनि वाङ (आशीर्वाद) पनि दिन्छन्। त्यही भएर जान लाग्या।”
उनी हुन्– छेवाङ लामा। देशभरिकै दुर्गम क्षेत्रको गुम्बा व्यवस्थापन हेर्ने समितिमा कार्यरत रहेछन् उनी।
अवतारवादको अटुट शृङ्खला एवम् बोधिसत्व आर्य–अवलोकितेश्वरका जीवित अवतार हुन्– दलाइ लामा। ‘लामा’को अर्थ ‘गुरु’। यसै पनि बौद्ध धर्मका गुरुको गहिरो आस्था र श्रद्धा हुन्छ नै। यही कुरा झल्किन्छ उनको कथनमा।
झन्झन् साँघुरिँदो छ गोरेटो। अगाडि आउँछ पहिरो। गएको वर्षात्मा ठूलै पहिरो गएको रहेछ। बाटोको व्यवस्थापन जसरी हुनुपर्ने हो, त्यसरी भएको छैन। कस्तो विडम्बना!
यही बेला खच्चरको अर्को हुल आइपुग्छ।
भीरमा मुस्किलले अडिएका छन् पत्थरराशि। देख्दा नि आङ नै सिरिङ हुने। झन् वर्षायाममा त के होला! झन्डै आठ हजार हाराहारीमा दस्तुर तिरेर पर्यटकहरू आउँछन्। बाटोलाई अलिकति सोझ्याइदिए त हुन्थ्यो नि। सरकारले नगरे पनि प्रतिपर्यटकको तीन हजार असुल्ने मनास्लु संरक्षण क्षेत्र परियोजना (एम क्याप)ले गरिदिएको भए पनि त हुन्थ्यो। मनमनै आगो हुन्छु।
केभिन र मोर्गेनलाई भन्छु– “दिस इज अल्सो अ पार्ट अफ अड्भेन्चर, इजन्ट इट?”
केभिन भन्छन्– “याब्सल्युट्ली।”
कम बोल्छन् उनी। त्यसो त शान्त स्वभावकी छिन् मोर्गेन पनि।
000
पहिरोको बाटोले डोर्याउँदै हामीलाई दुई–चार थान बुकुरामा पुर्याउँछ। त्यहाँबाट खुत्रुक्क ओर्लेपछि आउँछ बूढीगण्डकी। दुईतिर अग्लाअग्ला पहाड र ती पहाडका खोचमा बगिरहेकी छिन्। गहिरो र फराकिलो खोच। यसैको अर्को नाम हो– यारुफाँट। कल्लोल कोलाहल निकालिरहेकी छिन् बुढीगण्डकीले।
चट्टानी पहाड भएकोले ज्यास्ती जंगल देखिन्न। पातला बुट्यान छन्। त्यसमा पनि लागिरहेछ डढेलो। उसै त कालो पहाड झनै कालो भएको छ।

‘डढेलो कसरी लाग्यो होला?’ सोध्छु स्थानीय आइतराम गुरुङलाई।
‘बाख्राको घाँसका लागि कसैले लगाएको’ उनको जवाफ।
पुराना झार डढेपछि नयाँ झार पलाउँछ भनेर त्यसो गरेको रे। कस्तो राम्रो आइडिया! तर त्यो आइडियामा यसरी डढेलो लगाउँदा जंगली पशुपन्छीलाई प्रभाव पर्छ भन्ने कुराचाहिँ किन नआएको होला? आफैँलाई सोध्छु म।
उनै आइतरामले हामीलाई सुझाएका थिए, “डढेलोले ढुंगा खसिरा’को छ। पुलबाट नजानू। बगरबगरै जानू।”
नभन्दै माथिबाट गुरुरु खसिरहेछन् पत्थर। त्यही बेला अगाडिबाट कुना च्यापेर आइरहेको एउटा खच्चरको खप्परमा झन्डै लागेन।
बूढीगण्डकीको बगरमा ओर्लन्छौँ हामी।
बगरमा हिँड्नु त्यति सजिलो नहुने। कतै बालुवा, कतै ढुंगा त कतै गेगर। जुत्ताको सोल जति बाक्लो भए पनि पैतालाचाहिँ दुखाएरै छाड्ने। जोमसोमबाट कागबेनी आउजाउ गर्दा यस्तै हुन्थ्यो। कालीगण्डकीको बगरमा हिँडेको याद दिलाउँदो रहेछ यारुफाँटले। फरक चाहिँ– उता कि बलौटेमाटो कि त माटैमाटोको पहाड, यता अभेद्य चट्टानको। उताको बगरमा खोजीपस्दा शालिग्राम पाइन्छ, यता मट्ठै।
बूढीगण्डकीले यारुफाँटको पहाडलाई अँगाल्न पुगेपछि किनार पनि बूढीगण्डकीसँगै लस्केछ। त्यही भएर पहाडको चट्टान कोपेर लगभग सय मिटरको ‘वाल ह्याङगिङ ब्रिज’ बनाइएको छ। धन्न यति काम भएछ। नत्र आरुघाटसित सम्बन्ध नै बिच्छेद हुने पो रहेछ नुब्रीबासीको।
खोलाको बाटो तुरिन्छ। पुल तरेपछि बूढीगण्डकीलाई देब्रे पारेर हिँड्छौँ हामी। उँभो लागेपछि ‘रक फल’ आउँछ। पट्यारलाग्दो गोरेटो हिँड्दाहिँड्दा पुगिन्छ झोलुंगे पुल। पुल तरेपछि अर्को किनार च्याप्छौँ। बूढीगण्डकी फेरि दाहिने पर्न जान्छ।
खच्चरका लस्कर आइरहेकै छन्, गइरहेकै छन्। हामी नाक थुनिरहेकौ छौँ। सुरुसुरुमा त केभिन र मोर्गेनले थुप्रै तस्बिर खिचेका थिए। अहिले खच्चर देख्दा पनि फोटो खिच्दैनन्। चिनी पनि धेरै खाए तितो हुन्छ भनेको यही होला।
ओहो, पहाडको विम्ब पहाडमै! बूढीगण्डकी पारिको खैरो डाँडामा परेको छ वारिडाँडाको कालो छायाँ। पारि डाँडाको सिरानतिर सर्दै छ छाया शनैःशनैः। घाम डुब्दै गरेको संकेत हो यो किन्तु दृश्य अनौठो। एउटा अजिबको कोलाज। आश्चर्यजनक रामछायाँ।
पयरले स्वतः गति लिन थाल्छन्। दम्स्याइलो गोरेटोले उकाल्दैउकाल्दै अन्ततः काठमाडौँको उचाइ बराबरको जगात गाउँमा पुर्याउँछ हामीलाई। त्यति बेलासम्म पनि खच्चर ड्राइभरहरूको ओहोरदोहोर चलिरहेकै छ, खच्चर धपाउँदै, धुलो उडाउँदै।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
