जनकपुरधाममा रामजानकी मन्दिर, विवाहमण्डप, मणिमण्डप, स्वर्गद्वार, राजदेवी, जनक मन्दिर, गंगा आरती, शिव, संकटमोचन, लक्ष्मण, कपिलेश्वर, कुपेश्वरनाथ महादेव, हनुमान गढीलगायत मन्दिर अवस्थित छन्।
जनकपुरधाम– मधेश प्रदेशको राजधानी रहेको जनकपुरधाम पौराणिक र ऐतिहासिक पर्यटकीय स्थलका रूपमा परिचित छ। महर्षि जनकको पुण्यभूमि र माता जानकीको जन्मस्थल यस क्षेत्रको अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन्। मुख्यगरी यहाँ माता जानकीको मन्दिर दर्शन गर्न आउने छन्।
आवश्यक व्यवस्थापकीय काम भएमा जानकी मन्दिरको अवलोकन गर्न आउनेहरू केही दूरीमा रहेका अन्य मन्दिरसमेत पुग्छन्। तर, उचित योजना निर्माण र व्यवस्थापन हुन नसक्दा धार्मिक पर्यटकले सोचेअनुसार आनन्द लिन सकेका छैनन्। रामजानकी मन्दिर, विवाहमण्डप, मणिमण्डप, स्वर्गद्वार, राजदेवी, जनक मन्दिर, गंगा आरती, शिव, संकटमोचन, लक्ष्मण, कपिलेश्वर, कुपेश्वरनाथ महादेव, हनुमान गढीलगायत मन्दिर यहाँ अवस्थित छन्।
पहिलो पटक जनकपुर आएकी काठमाडौँकी हीरादेवी बिसीले मठमन्दिरको हिसाबले सुन्दर ठाउँ भए पनि पार्किङ, प्रतीक्षालय र छाडा पशु चौपायाको व्यवस्थापन हुन सके सहज हुने बताइन्। “मन्दिर दर्शन गर्न आएकाले सडक छेउमै गाडी राख्नुपर्ने अवस्था छ। थकाइ मार्ने उपयुक्त बस्ने ठाउँ पनि रहेनछ,” उनले भनिन्, “स्थानीय सरकारले उपयुक्त पार्किङस्थल, सफा शौचालय र बसेर आराम गर्न मिल्ने ठाउँको व्यवस्था गरेको भए राम्रो हुने थियो।”
धार्मिक पर्यटकका यस्तै गुनासालाई सम्बोधन गर्न सुधारका काम गरिरहेको जनकपुरधाम उपमहानगरपालिकाले जनाएको छ। उपमहानगर प्रमुख मनोजकुमार शाहले आफ्नो प्रमुख प्राथमिकतामध्ये धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी विकासका गतिविधि गर्नु रहेको बताए। धार्मिक पर्यटकलाई लक्षित गरी सुधारका काम अगाडि बढाइएको उनको भनाइ छ।
“जनकपुरलाई धार्मिक पर्यटन नगरीका रूपमा विकास गर्न सोहीअनुसार मैले योजना बनाएको छु,” नगरप्रमुख शाहले भने, “त्यही योजनाअनुसार फोहरमैला व्यवस्थापन, पार्किङ निर्माण र फुटपाथ निर्माणको काम हुँदै छ।” जनकपुरधाम–८ स्थित दशरथ मन्दिर छेउमा बनाउन लागिएको सुविधा सम्पन्न पार्किङ सोही योजनाको शुरूआत भएको उनले बताए। ।
बाह्र कट्ठाभन्दा बढी जग्गामा बन्न लागेको सुविधासम्पन्न पार्किङले जनकपुरधाममा रहेका मन्दिरको दर्शन गर्न आउने पर्यटक लाभान्वित हुने अपेक्षा गरिएको छ। “मन्दिर दर्शन गर्न आउने धार्मिक पर्यटकले गाडी सडक छेउमै पार्किङ गर्नुपर्ने अवस्था छ। जसले ट्राफिक व्यवस्थापनमा पनि कठिनाइ भइरहेको छ”, नगरप्रमुख शाह भन्छन्, “यस समस्यालाई मध्यनजर गरी वडा नं ८ स्थित दशरथ मन्दिर छेउमा पार्किङ बन्दै छ। यसको निर्माणपछि सहज हुनेछ।”
उपमहानगरका वरिष्ठ इन्जिनियर वीरेन्द्रकुमार यादवले पाँच करोड रुपैयाँ लागतमा बन्न लागेको पार्किङ स्थलमा प्रतीक्षालय, सार्वजनिक शौचालय, कार्यालय, सानो व्यापारिक क्षेत्रसहितको संरचना रहने बताए। “धार्मिक पर्यटकलाई लक्षित गरी बन्ने यो पार्किङका लागि चालु आर्थिक वर्षमा ६० लाख रुपैयाँ बजेट विनियोजन भएको छ। उक्त बजेटले माटो भरण, कम्पाउन्ड वालसहित प्रारम्भिक कार्य हुनेछ,” इन्जिनियर यादवले भने, “दुई वर्षमा निर्माण सम्पन्न गर्ने योजना छ। त्यसपछि अहिले धार्मिक पर्यटकले भोग्ने समस्या केही हदसम्म समाधान हुनेछ।”
पार्किङ व्यवस्थित भए नगर क्षेत्रमा ट्राफिक व्यवस्थापनमा समेत सघाउ पुग्ने उपमहानगरको विश्वास छ। धर्म, संस्कृति र मठमन्दिरले जोडेको जनकपुरलाई सजाउने, सिँगार्ने र सुन्दर बनाउने काममा उपमहानगरले आवश्यक काम गर्ने उपप्रमुख किशोरी शाहले बताइन्। जनकपुरलाई धार्मिक पर्यटकीय नगरीका रूपमा विकास गर्न मन्दिरको सौन्दर्यीकरण, सडकपेटी निर्माण र छाडा पशुचौपाया व्यवस्थापनको काम गरिने उनको भनाइ छ। तर, यहाँको अधिकांश जग्गा गुठी संस्थानको नाममा रहेकाले सुधारका कार्य गर्न कठिनाइ छ।
गुठीसँग समन्वय गरेर आवश्यक जग्गा भाडामा लिएर फोहोर व्यवस्थापनलगायतका काम गरिने उनको भनाइ छ। “जनकपुरधामको मुख्य विशेषता नै धार्मिक मठमन्दिर हो। यसको उचित व्यवस्थापन हुनसके अझ धेरै लाभ लिन सकिन्छ”, उपप्रमुख शाहले भनिन्, “पौराणिक धार्मिक नगरीलाई आधुनिक धार्मिक पर्यटकीय नगरीका रूपमा विकास गर्न हामीले मापदण्डअनुसार सुधारका काम गर्छौँ, पाँच वर्षभित्र साँच्चै धार्मिक पर्यटन नगरीका रूपमा यहाँको विकास हुनेछ। त्यस कार्यमा हामी सबै लागिरहेका छौँ।”
नगरप्रमुख शाहले पनि गुठीले आवश्यक सहयोग गरेमा जनकपुर र यहाँका धार्मिक स्थललाई हेर्न लायक बनाउन सकिने दाबी गरे। “धार्मिक पर्यटकीय नगरी बनाउने गरी हामीले सुधारको काम थालिसकेका छौँ, सडक बाटो, फोहर व्यवस्थापन, छाडा पशुचौपाया व्यवस्थापन र अन्य आवश्यक पूर्वाधार निर्माण गरी हाम्रो कार्यकालभित्रै यो योजना पूरा गर्छौँ। तर यसमा गुठी संस्थानलगायत सबैको साथ र सहयोग अपरिहार्य छ,” नगरप्रमुख शाहले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
