टर्की भूकम्प: २२ हजारभन्दा बढीको मृत्यु

विश्व स्वास्थ्य संगठनले टर्कीका केही प्रभावित क्षेत्रमा पानी, इन्धन र बिजुली नहुँदा अझ धेरैको ज्यान जान सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ।

टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म २२ हजार ३६८ जनाको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन्।

उद्धारकर्मीहरूका अनुसार टर्कीमा १८ हजार ९९१ जना तथा सिरियामा तीन हजार ३७७ जनाले ज्यान गुमाएका छन्। सिरियाको सरकार नियन्त्रित क्षेत्रमा एक हजार ३४० जना हताहत भएका छन् भने विद्रोही पकड जमाएको भूभागमा दुई हजार ३७ जनाले ज्यान गुमाएका छन्।

टर्की र सिरियाले अन्तर्राष्ट्रिय सहायताका निम्ति अपिल गरेका छन्। विश्व बैंकले एक अर्ब ७८ करोड अमेरिकी डलर राहत सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले अन्तर्राष्ट्रिय समुदायलाई टर्कीका भूकम्पपीडितका लागि थप आर्थिक सहायता उपलब्ध गराउन आह्वान गरेका छन्। साथै उनले आगामी साता टर्की र सिरियाका निम्ति आर्थिक सहायता जुटाउन दातृ निकायको सम्मेलन आयोजना गर्ने घोषणा गरेका छन्।

यसअघि अन्तर्राष्ट्रिय रेडक्रस र रेड क्रिसेन्ट सोसाइटीले आपत्कालीन कोषबाट तत्काल नगद सहायता परिचालन गर्ने बताएको थियो। संयुक्त राष्ट्रसंघीय सहायता निकायका छ वटा विशाल वाहन राहत सामग्री लिएर सिरिया पुगेका छन्। यो सहायता सिरियाका लागि पहिलो अन्तर्राष्ट्रिय सहयोग हो। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले टर्कीका केही प्रभावित क्षेत्रमा पानी, इन्धन र बिजुली नहुँदा अझ धेरैको ज्यान जान सक्ने चिन्ता व्यक्त गरेको छ।

यसैगरी बेलायतलगायत देशले टर्की र सिरियाका भूकम्पपीडितका लागि आर्थिक सहायता तथा राहत सामग्रीका निम्ति सर्वसाधारण एवं परोपकारी संस्थासँग आग्रह गरेका छन्। अमेरिकाले पनि सिरियामाथिको प्रतिबन्धले मानवीय सहायतामा अवरोध नहुने जनाउँदै सहयोगको घोषणा गरेको छ। अर्थ मन्त्रालयले मानवीय सहायताका कार्यमा प्रतिबन्ध लागू नहुने बताएको छ।