वैकल्पिक शक्तिको अजेन्डा बोक्नेलाई स्थापित दलहरूले नै सिध्याउछन्ः सीके राउत

जनमत पार्टीका अध्यक्ष राउतले वैकल्पिक शक्तिहरू एक ठाउँमा उभिएर क्रान्तिको बीजारोपण गर्न सके मात्रै दलीय सिन्डिकेट तोडेर अघि बढ्न सक्ने दाबी गरे।

काठमाडौँ– जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले वैकल्पिक शक्तिको अजेन्डा बोकेर आउनेहरूलाई स्थापित दलहरूले नै सिध्याउने गरेको आरोप लगाएका छन्। शुक्रबार विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

उनले वैकल्पिक शक्तिको अजेन्डा बोकेर आउने राजनीतिक दलहरूलाई स्थापित दलहरूलै कुनै न कुनै मुद्दा लगाएर असफल बनाउने प्रयास गरिरहेको बताएका हुन्। वैकल्पिक दलहरूले सदनलाई भन्दा पनि सडकलाई पहिलो प्राथमिकता दिनुपर्ने बताए। 

उनले राजनीतिक पार्टीका रूपमा दर्ता हुँदैमा सरकारमा जानुलाई नै सबैभन्दा ठूलो प्राथमिकता बनाउनु नहुने धारणा राखे। उनले वैकल्पिक शक्तिहरू एक ठाउँमा बसेर क्रान्तिको बीजारोपण गर्न सके मात्रै दलीय सिन्डिकेट तोडेर अघि बढ्न सक्ने दाबी गरे।

"संघर्षका माध्यमबाट हामी अघि बढ्नुपर्छ। सम्पूर्ण वैकल्पिक शक्तिहरू एक ठाउँमा आएर कुनै क्रान्तिको बीजारोपण गर्न सक्यो भने चाहे त्यो भ्रष्टाचार, बेरुजु, कुशासनविरुद्धमा नै होस्, रोजगारी सिर्जना कायम गर्न, सुशासन कायम गर्ने कुरालाई आधार मानेर अघि बढे मात्रै दलीय सिन्डिकेट तोडेर अघि बढ्न सक्छौँ", उनले भने।

अध्यक्ष राउतले वैकल्पिक शक्तिहरूले स्थापित तरिका र निर्वाचनको माध्यमबाट मात्रै जान सक्ने भन्ने कुरा सोच्नु नहुने बताए।