सन्दीपबारे क्रिकेट स्कटल्यान्ड र नामिबियाको चासो, महान्यायाधिवक्ताको कार्यालयसँग राय लिएको क्यानको दाबी 'झूटो'
सन्दीपलाई राष्ट्रिय टोलीमा राख्नुअघि महान्यायाधिवक्ताको कार्यालयसँग छलफल गरेको क्यानको दाबीको उक्त कार्यालयले खण्डन गरेको छ। सन्दीपबारे प्रतिस्पर्धी टोलीले पनि चासो राखेर विज्ञप्ति जारी गरेका छन्।
काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्ड र नामिबियाविरुद्ध घरेलु मैदान कीर्तिपुरमा फागुन २ गतेबाट हुने त्रिकोणात्मक एक दिवसीय श्रृंखलामा नेपाल प्रतिस्पर्धा गर्दैछ। स्कटल्यान्डको टोली बुधबार नै नेपाल आइसकेको छ। नामिबियाको टोली पनि नेपाल आउने तयारीमा छ।
नेपाल क्रिकेट संघ (क्यान)ले उक्त प्रतियोगितामा भाग लिने १४ खेलाडीमा लेग स्पिनर सन्दीप लामिछानेलाई पनि सहभागी गराएको छ। नाबालिग बलत्कारको मुद्दा खेपिरहेका सन्दीप उच्च अदालत पाटनको आदेशमा २० लाख धरौटी बुझाएर पुस २८ गते छुटेका हुन्।
क्यानले पहिलो चरणको प्रशिक्षणमा २८ खेलाडी सहभागी गराउँदा उनी थुनामा थिए। तर उनी छुटेलगत्तै दोस्रो चरणको 'प्रि-सिरिज क्याम्प'का लागि २० खेलाडी छनोट गर्दा क्यानले उनलाई पनि समावेश गरिएको थियो।
क्रिकेट स्कटल्यान्ड र नामिबियाले विज्ञप्ति जारी गर्दै सन्दीपको उपलब्धताबारे क्यान र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले विचार गर्नुपर्ने विषय भएको जनाएका छन्। "क्रिकेट स्कटल्यान्ड आगामी आईसीसी क्रिकेट विश्वकप लिग-२ छनोटअघि नेपालका सन्दीप लामिछानेको कानूनी स्थितिबारे सचेत छ। प्रशासनिक निकाय र एक टोलीको रूपमा क्रिकेट स्कटल्यान्ड सबै प्रकारका दुर्व्यवहारविरुद्ध दृढ रूपमा खडा छ, जसको आधुनिक समाजमा कुनै स्थान छैन," क्रिकेट स्कटल्यान्डले विज्ञप्तिमा भनेको छ।
क्रिकेट नामिबियाले पनि आफ्नो विज्ञप्तिमा लैंगिक हिंसा, भेदभाव र दुर्व्यवहारको विरोध गर्ने जनाएको क्रिकइन्फो डटकमले उल्लेख गरेको छ।
यसअघि, जिल्ला अदालत काठमाडौँले पक्राउ पुर्जी जारी गरेपछि क्यानले भदौ ८ गते तत्कालीन कप्तान सन्दीपलाई निलम्बन गरेको थियो। तर, उनी धरौटीमा रिहा भएपछि गत हप्ता पोखरामा बसेको क्यान कार्यसम्पादन समितिको बैठकले निलम्बन फुकुवा गरेको हो।
निलम्बन फुकुवासँगै सन्दीपलाई दीपेन्द्र चौधरी संयोजकत्वको खेलाडी छनोट समितिले क्याम्पमा राख्ने निर्णय गरेको थियो। उनलाई धरौटीमा रिहा गर्ने उच्च अदालतको आदेशविरुद्ध महान्याधिवक्ताको कार्यालय सर्वोच्च अदालत गइसकेको छ। सर्वोच्चले यस मुद्दामा माघ २० गते सुनुवाइ गर्दै उनलाई छाड्नुको कारणबारे उच्च अदालतसँग कैफियत प्रतिवेदन मागेको छ।

सर्वोच्चमा मुद्दा विचाराधीन रहेकै अवस्थामा क्यानले सन्दीपको निलम्बन फुकुवा गरेपछि माइतीघर मण्डलमा विरोध प्रदर्शन भएको थियो। सामाजिक सञ्जालमा पनि विरोध भइरहेकै छ।
उच्च अदालतले सन्दीपलाई धरौटीमा सशर्त रिहा गरेको हो। विचाराधीन मुद्दाको विषयमा कुनै सामग्री प्रकाशन गर्न या सञ्चारमाध्यम र सामाजिक सञ्जालमा टिप्पणी गर्न र धारण राख्न अदालतले उनलाई रोक लगाएको छ। काठमाडौँ उपत्यका छाड्नुअघि जिल्ला प्रहरी परिसर काठमाडौँबाट अनुमति लिनुपर्ने, अनुमति पाए काठमाडौँ छाड्ने र फर्किने मितिका साथै बस्ने स्थान खुलाउनु पर्नेलगायत शर्त अदालतले तोकेको छ। कुनै पनि शर्त उल्लंघन भए उनी पक्राउ पर्छन्।
क्यानको दाबीमा महान्याधिवक्ताको कार्यालयको खण्डन
राष्ट्रिय क्रिकेट टोलीका मुख्य छनोटकर्ता दीपेन्द्र चौधरी अभियोग लागेका खेलाडीलाई खेलाउने अभ्यास विश्वभरि नै रहेको बताउँछन्। अभियोग प्रमाणित नहुँदासम्म खेलाडीलाई टोलीमा सहभागी गराउन मिल्ने उनको तर्क छ।
“अभियोग प्रमाणित नहुँदासम्म खेलाडीलाई टोलीमा सहभागी गराउने प्रचलन अन्तर्राष्ट्रिय अभ्यास नै हो। आईसीसीले अभियोग लाग्दैमा खेल्नबाट रोकेको छैन। सोहीअनुसार हामीले सन्दीपलाई क्याम्पमा बोलाएका थियौँ,” उनी भन्छन्।
क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठक पनि अदालती प्रक्रियाको सम्मान र आदेशविपरीत नहुने गरी सन्दीपलाई राष्ट्रिय टिममा फर्काएको जिकिर गर्छन्। अन्य निकायबाट सकरात्मक जवाफ आएपछि उनको लागि राष्ट्रिय टोलीको ढोका खुला गरेको पाठक बताउँछन्। “निलम्बन फुकुवा गर्नुअघि आईसीसीसँग समन्वय र महान्यायाधिवक्ताको कार्यालयसँग पनि छलफल गरेका हौँ। सबैबाट सकारात्मक जबाफ आएपछि उनलाई राष्ट्रिय टोलीमा समेटेका हौँ,” उनी भन्छन्।
तर महान्याधिवक्ताको कार्यालयले भने क्यानलाई औपचारिक रूप राय नदिएको र दिन पनि नमिल्ने जनाएको छ। महान्यायाधिवक्ताको कार्यालयका सूचना अधिकारी एवं उपन्यायाधिवक्ता हरिशंकर ज्ञवाली भन्छन्, “हामीले उनीविरुद्ध नै निवेदन दिइरहेको अवस्थामा यसो गर्नु उसो गर्नु भनेर राय दिने कुरा भएन। फेरि, हामीले सरकारी संस्थाबाहेक अन्यलाई राय दिन पनि मिल्दैन। व्यक्तिगत रूपमा कसैले कुरा गरेको भए कार्यालयको राय भन्न मिलेन।"

क्यान अध्यक्ष चतुरबहादुर चन्द भने सन्दीपलाई राष्ट्रिय टोलीमा राखेर आफूहरूले 'न्याय दिएको' तर्क गर्छन्। “अदालतबाट खेल्न नरोकिएका सन्दीपलाई टोलीमा राख्नु अपराध हो? अदालती प्रकृया १० वर्षसम्म लम्बिएला, के उनले १० वर्षसम्म क्रिकेट नै नखेल्ने? १० वर्षपछि उनी निर्दोष सावित भए यसको क्षतीपूर्ती कसले दिने,” उनी भन्छन्।
सन्दीपको फिटनेसदेखि सम्पूर्ण अवस्था हेरेर उनलाई यस श्रृंखलाको लागि टोलीमा राखिएको चन्द बताउँछन्। “अदालतले सन्दीपलाई यो सिरिज खेल्ने अनुमति दिएको छ। उसले कडा मिहिनेतसाथ राम्रो तयारी गरेको छ”, उनी भन्छन्, “सन्दीप सिरिजका लागि फिट र ऊर्जावान् देखिन्छन्।”
सोमबार पाकिस्तानका विकेटकिपर मोहम्मद रिजवानले नेपालको राष्ट्रिय टोली र क्यानका पदाधिकारीसँग भेट गरेका थिए। एजेन्ट कम्पनी साया कर्पोरेशनमार्फत् नेपाल आएका उनले सन्दीपसँग पनि भेट गरेका थिए। उनीहरू दुवैको एजेन्ट कम्पनी साया नै हो।
सन्दीपसँग भेट गरेपछि सामाजिक सञ्जालमा रिजवानको पनि विरोध बढेको छ। क्यानले सन्दीपलाई प्रेरित गर्न भारतीय विकेटकिपर तथा ब्याटर दिनेश कार्तिकलाई ल्याउने तयारी पनि गरेको छ।
समर्थक निराश
२२ वर्षीय सन्दीप नेपालका सबैभन्दा ‘हाई प्रोफाइल’ क्रिकेटर हुन्। इन्डियन प्रिमियर लिग (आईपीएल), बिग बास लिग (बीबीएल), पाकिस्तान सुपर लिग (पीएसएल), बंगालदेश प्रिमियर लिग (बीपीएल) र क्यारेबियन प्रिमियर लिग (सीपीएल)लगायत विश्वका अधिकांश टी–२० लिग खेल्ने उनी एक मात्र नेपाली खेलाडी हुन्।
पक्राउ पूर्जी जारी हुँदा सन्दीप सीपीएल टोली जमैका तल्लावाजसँग वेस्ट इन्डिजमा थिए। उनीविरुद्ध भदौ २३ गते पक्राउ पुर्जी जारी भएको थियो। उनी असोज ६ गते नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका थिए।

तर अदालतको आदेशले रिहा भएलगत्तै सन्दीप टोलीमा फर्किएपछि क्यानको निर्णयविरुद्ध असन्तुष्टि पोख्नेहरू धेरै छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् मनिष झाले ट्विट गर्दै राष्ट्रिय टोलीमा सन्दीपलाई राख्ने निर्णयप्रति विरोध जनाएका छन्। आफू नेपाली क्रिकेटको समर्थक भए पनि सन्दीपलाई राष्ट्रिय टोलीमा राख्ने निर्णय ठीक नभएको उनले उल्लेख गरेका छन्। “म नेपाली क्रिकेटको समर्थक हुँ। तर क्यानको यो कदमको विरोधी हुँ”, उनले लेखेका छन्।
राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारी नाबालिग बलात्कृत मुद्दा चलिरहेको बेला सन्दीपलाई टोलीमा राख्न नहुने बताउँछिन्। उनी भन्छिन्, “क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नाबालिग बलात्कारको मुद्दा चलिरहेको छ। तर क्यानले आरोपितलाई किन टोलीमा राखेको छ?”
नेपाली राष्ट्रिय टोलीका एक पूर्वकप्तान पनि क्यानको निर्णय सही नभएको बताउँछन्। अदालती प्रकृया चलिरहेको बेला सन्दीपलाई राष्ट्रिय टोलीमा राखेपछि भएको चर्को विरोधले जटिलता थप्न सक्ने उनको भनाइ छ।
“उहाँ (सन्दीप) विश्वस्तरीय खेलाडी हुनुहुन्छ। टोलीमा उहाँको आवश्यकता छ। आरोप नै लागे पनि खेलाउनै नहुने भन्ने होइन। बलात्कारको आरोप पेले, रोनाल्डो, बाबर आजमसम्मलाई लागेको थियो”, नाम नबताउने शर्तमा ती पूर्वकप्तान भन्छन्, “तर चौतर्फी विरोध भइरहेको अवस्थामा उहाँलाई मैदान उतारिहाल्नुपर्ने अवस्था चाहिँ छैन। यसले अर्को किसिमको घटना हुनसक्छ।”
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरक्षाको मामिला कमजोर छ। खेल भइरहेकै बेला बाहिरबाट मैदानमा पानीका बोटल फ्याँक्ने र क्यान नेतृत्वविरुद्ध चर्को नाराबाजी गर्ने घटना यसअघि पनि भएका छन्। यस्तो अवस्था आए सन्दीपको मानसिकतालाई पनि असर गर्ने ती पूर्वकप्तान बताउँछन्।
“क्रिकेट भनेको माइन्ड गेम हो। यसमा धेरै कुराले फरक पार्छ। विश्वका घटनालाई हेर्ने हो भने न्यायको निम्ति भन्दै दर्शकहरूले स्टेडियमै गएर विरोध गरेको उदाहरण पनि छन्। उहाँ (सन्दीप)विरुद्ध प्रदर्शन भयो भने यसले खेलमा नकारात्मक असर पर्छ,” उनी भन्छन्। सन्दिपलाई यतिबेला मैदानमै उतार्नुभन्दा पनि मनोवैज्ञानिक परामर्शको जरुरी भएको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
