अहिल्यै सरकारमा जाँदैनौ, समर्थन जारी रहन्छ : झलनाथ खनाल

नेता खनालले प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एकीकृत समाजवादीलाई सरकारका आउन गरेको आग्रहबारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिएका छन्।

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूहरू सरकारमा अहिल्यै नजाने बताएका छन्।

बिहीबार निर्वाचन प्रणाली सुधारको सम्बन्धमा निर्वाचन आयोगले राखेको छलफलमा उपस्थित हुन सिंहदरबार आएका खनालले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै पार्टी अहिल्यै सरकारमा नजाने बताएका हुन्। 

उनले सरकारलाई आफूहरूले दिएको समर्थन जारी रहने उल्लेख गरे। सरकारले राम्रो काम गरुन्जेल आफूहरूको समर्थन रहने उनको भनाइ छ।

"हाम्रो समर्थन जारी नै रहन्छ, सरकारले राम्रो काम गरुन्जेल अथवा नराम्रो काम नगरुन्जेल। तर अहिले सरकारमा जाने कुरा हाम्रो त्यस्तो केही छैन", उनले भने।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा एकीकृत समाजवादीलाई सरकारका आउन गरेको आग्रहबारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिए।