संगठन सुदृढ गर्न एमालेले दुई महिने ‘मिसन ग्रासरुट’ अभियान चलाउने

एमाले उममहासचिव प्रदीप ज्ञवालीले पार्टीलाई वैचारिक र संगठनात्मक रूपमा जगैदेखि मजबुत बनाउनका लागि अभियान सञ्चालन गर्न लागिएको बताए।

काठमाडौँ– नेकपा एमालेले संगठनात्मक सुदृढीकरणका लागि दुई महिने विशेष अभियान सञ्चालन गर्ने भएको छ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले पार्टीको वैचारिक र संगठनात्मक सुदृढीकरणका लागि भन्दै दुई महिने विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। ‘मिसन ग्रासरुट’ नाम दिइएको अभियान देशभर फागुन र चैत महिनाभर चल्ने एमाले उममहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

उनले पार्टीलाई वैचारिक र संगठनात्मक रूपमा जगैदेखि मजबुत बनाउनका लागि अभियान सञ्चालन गर्न लागेको बताए। "जगैदेखि पार्टीलाई मजबुत गर्ने उद्देश्यका साथ दुई महिना यो अभियान सञ्चालन हुनेछ। दुई महिनाभर हाम्रो पार्टीका सम्पूर्ण केन्द्रीय सदस्यहरू विभिन्न पालिकाहरूमा खट्नुहुनेछ", उनले भने।

अभियानमा पार्टीका सम्पूर्ण केन्द्रीय सदस्यलाई पालिकामा खटाइने उनले बताए। उनका अनुसार केन्द्रीय सदस्यलाई पार्टी सदस्यको सदस्यता नवीकरण गर्ने, प्रशिक्षण गर्ने, जनप्रतिनिधि र पार्टीका कमिटीका सम्बन्धहरू सुव्यवस्थित गर्ने, पार्टी र समाजमा विशेष योगदान गरेका व्यक्तिहरूलाई सम्मान गर्ने, राय सुझाव लिने लगायतका ११ वटा काम दिएर खटाइने छ। अभियान फागुन ५ गतेदेखि औपचारिक रूपमा शुरू हुने छ। "विधिवत् थालनी फागुन ५ गते सातै प्रदेशमा अभिमुखीकरण कार्यक्रमबाट हुने छ। सातै प्रदेशमा एक/एक उपाध्यक्ष जानुहुन्छ", उनले भने।

बैठकले प्रदेश १ को इन्चार्जको जिम्मेवारी स्थायी कमिटी सदस्य राजेन्द्र गौतमलाई दिएको छ। त्यस्तै, धनुषा जिल्ला इन्चार्जको जिम्मेवारी शिला यादवलाई दिएको छ भने अर्थ तथा योजना विभाग प्रमुखको जिम्मेवारी डा. बिन्दा पाण्डेलाई दिएको छ। त्यसैगरी, पार्टीको अपांगता क्षेत्र हेर्ने जिम्मेवारी पार्वत गुरुङलाई दिने निर्णय भएको उपमहासचिव ज्ञवालीले जानकारी दिए।

सञ्चारकर्मीका जिज्ञासाको जवाफ दिँदै उपमहासचिव ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा फर्काउने कोशिश जारी रहेको बताए। उनले पूर्वसहमतिअनुसार गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै दिएर सरकारमा राखिरहनु पर्नेमा जोड दिए। त्यस्तै, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा ल्याउने कोशिश जारी भएको उनको भनाइ छ। फरक–फरक पार्टीका बीचमा गठबन्धन हुँदा असमझदारी देखिन सक्ने भन्दै ती असमझदारीलाई समाधान गर्न सकिनेमा उनले विश्वास व्यक्त गरे।

उपमहासचिव ज्ञवालीले वर्तमान सत्तारूढ गठबन्धनलाई टिकाएर लानुपर्ने निष्कर्ष निकालेको बताए। एमालेले गठबन्धन टिकाउने संकल्प गरेको पनि उनले उल्लेख गरे।