टर्कीको भूकम्प प्रभावित क्षेत्रमा जनजीवन कष्टकर, मृतकको संख्या बढेको बढ्यै

अधिकांश भूकम्पपीडितले खानेपानी, इन्धन र विद्युत् आपूर्तिको चरम संकटका कारण घरबाहिरै कष्टपूर्ण जीवन बिताइरहेकाले तत्काल सहयोगको खाँचो परेकाे विश्व स्वास्थ्य संगठनको भनाइ छ।

टर्की र सिरियामा गएको शक्तिशाली भूकम्पमा परी १९ हजारभन्दा बढीले ज्यान गुमाएका छन्। टर्कीमा मात्रै १६ हजार १७० जनाको मृत्यु भएको र ६३ हजार घाइते भएको टर्कीका राष्ट्रपति रिसिप तैयप एर्दोगानले जनाएका छन्।

यस्तै, सिरियामा ३ हजार १६२ जनाको मृत्यु भएको सिरियाली सरकारी तथ्यांक छ। कूल मृतक संख्या १९ हजार ३०० पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ। तर, मृतकको संख्या अझै बढ्नसक्ने विज्ञहरूको भनाइ छ। कैयौँ बेपत्ता छन्। भूकम्पले भत्काएका संरचनाहरूमा पुरिएका मानिसहरूको खोजी र उद्धार जारी नै छ।

विश्व स्वास्थ्य संगठनले भूकम्प प्रभावित क्षेत्रमा मानवीय सहायताको खाँचो रहेको भन्दै सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेको छ। संगठनका घटना प्रतिक्रिया व्यवस्थापक रोबर्ट होल्डेनले अधिकांश भूकम्प पीडित घरबाहिरै कष्टपूर्ण जीवन बिताइरहेको र अवस्था निकै दयनीय रहेको बताए। उनले खानेपानी, इन्धन र विद्युत् आपूर्तिको चरम संकटले स्थिति थप खराब बनेको बताएका छन्।

"यहाँको समस्या देखेर हामी त्रासमा छौँ। खोजी र उद्धारमा तीव्रता दिन नसक्ने हो भने यहाँ शुरूआती विपत्तिभन्दा अझै जोखिमपूर्ण अवस्था हुने छ। मानिसहरूलाई बाँच्नका लागि आधारभूत सामग्रीको खाँचो छ", उनले भने, "भूकम्प पीडितहरूको खोजी र उद्धारमा विभिन्न देशका उद्धारकर्ताहरू खटिरहेका छन्।"

सिरियाका लागि राष्ट्रसंघीय प्रतिनिधि गीयर पेडर्सेनले एक दशकभन्दा बढी समयता युद्धको चपेटामा परेको सिरियाका भूकम्प पीडितहरूलाई तत्काल जीवनरक्षक सहायता आवश्यक रहेको बताए। उनी भन्छन्, “सिरियाका मानिसलाई सबै कुरा आवश्यक छ। आधारभूत आवश्यकको अभावमा भूकम्प प्रभावित उत्तर पश्चिमी क्षेत्रको जीवन कष्टकर बनेको छ। त्यसैले यहाँ तत्काल र द्रुत सहयोगको आवश्यता छ। मानवीय सहायता दिने विषयलाई राजनीतिकरण नगरौँ। आवश्यकतालाई मात्र केन्द्रमा राखौँ।”

हजारौँ भवन ध्वस्त
टर्कीको भूकम्पमा हजारौँ घर तथा भवनहरू ध्वस्त भएका छन्। टर्कीमा मात्रै ६ हजार ४०० घरमा पूर्ण रूपले क्षति पुगेको बताइएको छ। भूकम्पमा हालै बनेको अत्याधुनिक र भूकम्प प्रतिरोधी भनिएका घरहरू पनि ढलेपछि मानिसहरूमा आक्रोश बढेको छ। आवश्यक निगरानी र नियमन नभएका कारण धेरै भवन भत्किएको भन्दै आक्रोश बढेको हो।

टर्कीको मालात्या शहरमा गत वर्ष मात्रै निर्माण सम्पन्न भएको एक घर भूकम्पमा ध्वस्त भएको छ। सो घर भूकम्प प्रतिरोधी भएको र हालै गएको भूकम्पको झट्काले समेत फरक नपर्ने गरी बनाइएको दाबी गरिएको भए तापनि भवन ढलेपछि आलोचनासहित सामाजिक सञ्जालमा मानिसहरूको आक्रोश पोखिरहेका छन्। सो घर निर्माणका क्रममा सबै सामग्री र जनशक्ति उच्चस्तरीय प्रयोग गरिएको बताइएको थियो।

यस्तै, तटीय शहर इस्केन्देरनमा पनि एक अपार्टमेन्ट पूर्ण रूपमा ध्वस्त भएको छ। यो अपार्टमेन्ट सन् २०१९ मा निर्माण सम्पन्न भइसकेको कन्स्ट्रसन कम्पनीले बताएको थियो।

यस्तै, सन् २०१९ बाट खुला गरिएको अन्ताक्यास्थित एक ठूलो भवन पनि ध्वस्त भएको छ। यस भवनको अवस्थिति र निर्माण सामग्री सबै तुलनात्मक रूपमा विशेष रहेको बताइएको थियो। तर, भूकम्पले पूर्ण रूपमा क्षति पुर्‍याएको छ।

विज्ञहरूका अनुसार भूकम्पको झट्का शक्तिशाली भए पनि सबै प्रक्रिया पुर्‍याएर बनाइएका घरहरू यसरी ढल्नु हुँदैनथ्यो। बेलायतको लन्डन विश्वविद्यालयका आकस्मिक योजना तथा व्यवस्थापन विषयका प्रोफेसर डेभिड अलेक्जन्डर भन्छन्, "भूकम्पको अधिकतम तीव्रता निकै भयानक थियो तर राम्रोसँग बनाइएका भवन ढल्नेगरिकै भयानक थिएन। अधिकांश स्थानमा भूकम्पको झट्का कम नै थियो। तर ध्वस्त भएका हजारौँ भवनहरूलाई हेर्दा के निष्कर्षमा पुग्न सकिन्छ भने अधिकांश घर भूकम्प प्रतिरोधीसम्बन्धी मापदण्डको कुनै चरण पनि थेग्न नसक्ने खालका छन्।"

पहिलेका विपत्तिलाई ध्यानमा राख्दै टर्कीमा सन् २०१९ पछि घर निर्माण मापदण्डमा कडाइ गरिएको थियो। तर त्यसको नियमन नहुँदा भूकम्प प्रतिरोधी भनिएका घरहरू पनि ढलेको बीबीसीले उल्लेख गरेको छ।