रञ्जिता श्रेष्ठले भनिन्– आत्मसमर्पण हार्नेहरूले मात्र गर्छन्

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने अडान लिएको छ।

तस्वीर : रञ्जिता श्रेष्ठको फेसबुक

काठमाडौँ– नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आत्मसमर्पण हार्नेहरूले मात्रै गर्ने बताएकी छन्।

सुदूरपश्चिम सरकारलाई समर्थन नगर्ने अडान लिएकी उनले बिहीबार फेसबुकमार्फत कसैसामु आत्मसमर्पण नगर्ने जनाएकी हुन्। “हार्नेहरूले हो आत्मसमर्पण गर्ने। योद्धाहरू त सहिद भएर मर्छन्। तर, परिचय मर्न दिँदैनन्,” उनले लेखेकी छन्।

सबैको चाहना आफ्नो देश समृद्धिमा पुगोस् भन्ने नै हुने उनको भनाइ छ। “तर एकैदेशका दाजुभाइमाथि गरिएको थिचोमिचोले मुलुक उकालो होइन ओरालोतिर लाग्छ,” आफ्नो पार्टिका सांसदसहितको तस्वीर राख्दै अध्यक्ष श्रेष्ठले लेखेकी छन्, “देश मागेर विद्रोह हाम्रो माग होइन। समृद्धिका लागि समानुपातिक सहभागिता लक्ष्य हो।” सतहमा दह्रो पिल्लर रहेको बताउँदै उनले भूकम्पले समेत हल्लाउन नसक्ने पिल्लरमा दुई चार घन दुस्साहस मात्रै हुने उल्लेख गरेकी छन्। 

सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसि‌ंह रावलले आज विश्वासको मत लिँदै छन्। तर, सत्तारुढ नागरिक उन्मुक्तिका सातै जना प्रदेश सांसद काठमाडौँमा छन्।