प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच बालकोटमा भेटवार्ता

भेटमा राष्ट्रपति निर्वाचन, मन्त्रीपरिषद् विस्तारलगायत समसामयिक राजनीतिक विषयमा  छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ।

तस्वीर : रासस

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। बुधबार बालकोटस्थित ओली निवासमा दाहाल र ओलीबीच भेटवार्ता भएको हो।

भेटमा राष्ट्रपति निर्वाचन, मन्त्रीपरिषद् विस्तारलगायत समसामयिक राजनीतिक विषयमा  छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएपछि दुई नेताबीच भेटघाट बाक्लिएको हो। गृहमन्त्रालय नपाएपछि रास्वपा सरकारबाट बाहिरिएको थियो।

“रास्वपा सरकारबाट बाहिरिएपछि गठबन्धनलाई कसरी अगाडि बढाउने लगायतका विषयमा छलफल केन्द्रित भएको छ,” बालकोट निकट स्रोतले भन्यो। मंगलबार प्रधानमन्त्री दाहाललाई भेट्न ओली बालुवाटार पुगेका थिए। पछिल्लो समय माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने बताइरहेको छ। पूर्वसहमति अनुसार राष्ट्रपति पद आफूले पाउनुपर्ने एमालेको अडान छ।

सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले लिन लागेको विश्वासको मतका विषयमा पनि छलफल भएको छ। निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग सम्बोधन नभएको भन्दै विश्वासको मत नदिने अडान लिइरहेको छ। पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका रावलले विश्वासको मत नपाए त्यहाँ एमाले नेतृत्वको सरकार ढल्ने स्थिति बनेको छ।