आज कुकुर तिहार, कुकुरको पूजा गरी मनाइँदै

आज घरघरमा धर्मराज वाहन कुकुरलाई पूजा गरी कुकुर तिहार मनाइएको हो। यसपटक कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको छ।

काठमाडौँ- हिन्दु नेपालीहरूको महान् पर्व शुभ दीपावलीको तेस्रो दिन आज कुकुर तिहार मनाइएको छ। आज घरघरमा धर्मराज वाहन कुकुरलाई पूजा गरी कुकुर तिहार मनाइएको हो।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिन्छ। वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामासमेत साथ दिएको धार्मिक विश्वास छ।

वैवस्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रूपमासमेत स्थापित भएको छ। कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ। आजकै दिन नेपाल प्रहरी केनाइन महाशाखा (कुकुर तालिम केन्द्र) ले कुकुरको पूजाआजा सम्पन्न गरेको छ।

प्रहरी अनुसन्धानमा कुकुरको भूमिका निकै नै महत्त्वपूर्ण मानिने गरिएको छ। विभिन्न प्रकारका जटिल अनुसन्धानमा पनि कुकुरलाई समावेश गराउने गरिएको छ। महाशाखाले कुकुरको सम्मानमा आजको दिनमा विभिन्न प्रकारका खेल खेलाएर तथा खानपान गराइ पूजा गरेको हो। कुनै ठाउँमा बम लगायतका शंकास्पद वस्तुहरू भेटेमा पहिलो अनुसन्धानमा नै कुकुरको प्रयोग हुन्छ।

आफूहरूलाई सघाउने कुकुरहरूको पूजा गर्न पाउँदा खुशी लागेको प्रहरी अधिकृतहरूले बताए। महाशाखाका कुकुरहरूले हातहतियार तथा विष्फोटक पदार्थ, लागूऔषध, खोजी तथा उद्धार र ट्र्याकको अनुसन्धान गर्ने काम गरिरहेको छ। नेपाल प्रहरीसँग अनुसन्धानमा सघाउने ८ प्रजातिका कुकुरहरू रहेको बताइएको छ।

त्यस्तै आजै साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पनि गरिँदै छ। यसपटक कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको छ।