देसाईलाई मुख्य प्रशिक्षक नियुक्त गर्ने क्यानको तयारी

क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले मोन्टी देसाईलाई मुख्य प्रशिक्षकमा नियुक्त गर्ने तयारी गरिएको बताएका छन्।

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)ले मोन्टी देसाईलाई मुख्य प्रशिक्षकमा नियुक्त गर्ने भएको छ। क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकका अनुसार केही दिन पहिला नै नेपाल आएका देसाईलाई सोमबार औपचारिक रूपमा नियुक्त गर्न लागिएको हो।

गत माघ १४ गते नेपाल आइपुगेका उनले घरेलु मैदानमा फागुन २ गतेदेखि हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक श्रृंखलाको तयारीमा रहेको नेपाललाई प्रशिक्षण दिइरहेका थिए।

तर, नेपाल खेलकुद विकास ऐन २०७७ को दफा ४४ को उपदफा २ मा उल्लेख भएअनुसार राष्ट्रिय खेल संघले विदेशी व्यक्तिसँग सम्झौता गर्दा राष्ट्रिय खेलकुद परिषद् (राखेप)मार्फत सरकारको स्वीकृति लिनुपर्ने भएपछि क्यानले उनलाई मुख्य प्रशिक्षकमा नियुक्त गर्न पाएको थिएन। अहिले सबै प्रक्रिया पूरा गरिसकेकोले देसाईलाई मुख्य प्रशिक्षकमा नियुक्त गर्न लागिएको पाठकले जानकारी दिए।

"केही प्रक्रिया नपुगेर राखेपमा फाइल अड्किएको थियो। अहिले सबै प्रक्रिया पूरा भइसकेको छ। उहाँलाई आज नै मुख्य प्रशिक्षकमा नियुक्त गर्छौँ", उनले उकालोसँग भने।

यद्यपि, पाठकले कति रकममा कति वर्षको लागि सम्झौता गर्न लागिएको हो खुलाएनन्। क्यान स्रोतका अनुसार उनलाई दुई वर्षको लागि मुख्य प्रशिक्षकमा नियुक्त गर्ने तयारी गरिरहेको छ।

यसअघि तत्कालीन मुख्य प्रशिक्षक पुबुदु दासानायके राजीनामा दिएर क्यानडा फर्किएपछि क्यानले गत साउनमा भारतका पूर्वअलराउन्डर तथा रणजी ट्रफी विजेता प्रशिक्षक मनोज प्रभाकरलाई एक वर्षको लागि नियुक्त गरेको थियो।

प्रभाकरको प्रशिक्षणमा नेपाली टोलीले नामिबियामा आयोजित लिग–२ अन्तर्गतका चार खेल खेलेको थियो। नेपाल जितविहीन भएपछि उनले गत मंसिर २९ गते राजीनामा दिएका थिए। त्यसयता नेपाल प्रशिक्षकविहीन हुँदै आएको थियो।

देसाईको प्रशिक्षकमा नेपालले घरेलु मैदानमा नामिबिया र स्कटल्यान्डसँग त्रिकोणात्मक श्रृंखला खेल्ने छ। जसका लागि २० खेलाडी प्रशिक्षणमा छन्।