चितवन माओवादीमा देखिएको अन्तरविरोध र जिल्लाका नेताहरूले पार्टी छोड्ने क्रम बढेपछि त्यसको असर चुनावमा पर्न सक्ने आंकलन गरेर माओवादी अध्यक्ष चितवन छाडेर गोरखाबाट चुनाव लड्ने निष्कर्षमा पुगेका थिए।
चितवन- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन क्षेत्र नम्बर ३ छाडेर गोरखा–२ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारी गरेपछि १८ असोजमा चितवनका सत्तारुढ गठबन्धनमा आबद्ध पाँच दलका नेताहरुको बैठकले ‘विशेष निर्णय’ गरेर दाहाललाई चितवन नछाड्न अपिल गर्यो। नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको बैठकले चितवन नछाडी अभिभावकीय भूमिका निर्वाह गर्न दाहाललाई औपचारिक आग्रह गरेको थियो। यो प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनतर्फ मनोनयन गर्ने मितिभन्दा पाँच दिनअघिको घटना थियो।
सत्ता गठबन्धनका जिल्ला तहका नेताहरूले औपचारिक रूपमै गरेको यस्तो अपिलले दाहाललाई रोक्न सकेन। यसअघि पटक–पटक चितवन छाडेर कतै नजाने सार्वजनिक वाचा नै गरेका दाहालले असोज २३ मा गोरखा–२ पुगेर प्रतिनिधिसभा सदस्यमा मनोनयन–पत्र दर्ता गराए। सत्ता गठबन्धनका शीर्ष नेताहरूमध्ये दाहाल नै ती नेता हुन् जो अन्तिम घडीमा चुनाव लड्न अर्को जिल्ला हान्निए। चितवनबाटै उम्मेदवार बन्ने तयारी गरिरहेका दाहाल अन्तिम घडीमा गोरखा किन पुगे?
चितवन कांग्रेसको एउटा समूह पहिल्यैदेखि दाहालसँग आक्रोशित रहेको, गत स्थानीय तह निर्वाचनमा त्यो आक्रोश नै छताछुल्ल भएको र यसपालि त्यस्तो आक्रोश थप बढ्न सक्ने देखेर दाहालले असुरक्षा महसुस गर्नु यसको प्रमुख कारण भएको टिप्पणी र अड्कलबाजी भइरहेको छ। तर, त्योभन्दा प्रमुख कारण चाहिँ माओवादीभित्रै विकसित अवस्था थियो जसले दाहाललाई चितवन छाड्दा मात्र ‘सुरक्षित भइने’ निधोमा पुर्यायो।
पहिलो कारणः माडीका माओवादीको अनमेल
चितवन छाडेर गोरखा जाने दाहालको ‘मूभ’को अन्तर्य बुझ्न गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा फर्कनुपर्छ। एउटा उदाहरण माडी हो।
चितवनको माडी माओवादीकै कारण चर्चित ठाउँ हो। हिंसात्मक विद्रोहकालमा माओवादीले यहाँ गुडिरहेको यात्रुवाहक बसमा बम विष्फोट गराउँदा ३८ जनाको मृत्यु भएको थियो। ‘बाँदरमुढे नरसंहार’का नामले चिनिने यो घटनाले पारेको घाउ पुर्न माओवादीलाई अहिलेसम्म हम्मे छ।
स्थानीय तह निर्वाचनमा माडी नगरपालिकाको मेयरका लागि माओवादी केन्द्रबाट ठाकुर ढकाल, प्रभु महतो र ऋषि काफ्ले आकांक्षी थिए। ढकाल र महतो त दाहालकै निकट मानिन्थे र मेयरको टिकटका लागि तीव्र 'लबिइङ' पनि गरेका थिए। तर, माओवादीमा नारायणकाजी श्रेष्ठको समूहमा रहेका काफ्लेलगायतका कार्यकर्ताहरूले मेयरको टिकट नदिइए पार्टी नै छाड्ने धम्की दिएपछि मनोनयनको एक दिनअघि मात्र माओवादीले काफ्लेलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको थियो।
तर, काफ्लेले निर्वाचनमा आफैँ मेयरका आकांक्षी रहेका ढकाल र महतोको सहयोग पाएनन्। ढकाल र महतोको असहयोगकै कारण आफूले पराजय ब्यहोर्नुपरेको काफ्ले बताउँछन्। “मैले चुनाव हार्नुको मुख्य कारण पार्टीभित्रको मनमुटाव नै हो”, काफ्ले भन्छन्, “चुनावी कमाण्डरको हिसाबले ठाकुर र पार्टी इन्चार्जको हिसाबले प्रभुजी खट्नु त भो तर, दुवै जनाले सामान्य हिसाबले खटेको देखाउनु मात्र भो। बरु कतिपय स्थानमा मलाई प्रतिकूल असर पर्ने गलत भाषण गरिदिनुभो। उहाँहरूको असहयोगकै कारण मैले चुनाव हारेँ।”
स्थानीय निर्वाचनबाट सिर्जित माओवादीभित्रको त्यही असन्तुष्टिका कारण दाहालले चितवनमा आफूलाई असहज महशुस गरेको बताइन्छ। काफ्ले भने स्थानीय तह निर्वाचनको परिणामकै कारण दाहाललाई असहयोग गर्ने पक्षमा आफूहरू नरहेको बताउँछन्। पार्टीभित्र अन्तरविरोध भए पनि अध्यक्षलाई जिताउन कुनै कसर बाँकी नराख्ने सन्देश पार्टी केन्द्रलाई आफूहरूले पठाएको उनले बताए।
तर, दाहाल त्यतिले मात्र विश्वस्त हुन सकेनन्। त्यसको एउटा कारण २०७४ सालको स्थानीय तह निर्वाचनमा माडीको मेयर जितेको माओवादी यसपटक पाँचदलीय गठबन्धनका बाबजुद पनि पराजित भएको थियो। र, त्यसको मूलभूत कारण नै माओवादीभित्रको ‘रडाको’ थियो।
दोस्रो कारणः संगठनहरूले नै माओवादी छाड्नु
चितवनका माओवादी नेताहरू पार्टीभित्रको कलहकै कारण मात्र दाहाल चितवन छाड्ने निधोमा नपुगेको बताउँछन्। उनीहरूका भनाइमा दाहाललाई झस्काउने अर्को कारण पनि छ।
नाम उल्लेख गर्न नचाहने माओवादीको बागमती प्रदेश कमिटीका एक सदस्यले प्रभावशाली नेताहरूले निर्वाचनको मुखैमा पार्टी छाड्दा दाहाल थप झस्किएको बताए। माओवादी नेताहरूका अनुसार हिंसात्मक विद्रोहकालदेखि नै पार्टीमा लागेका र चितवनसहित आसपासका क्षेत्रमा समेत संगठक भनेर चिनिएका केन्द्रीय सदस्य यमबहादुर परियार ‘इन्द्रजीत’ले माओवादी छाड्दा दाहालले सबभन्दा धेरै असुरक्षित महशुस गरे। माओवादीका चितवन जिल्ला अध्यक्ष र सेक्रेटरी रहिसकेका परियार माओवादी छाडेर एमाले प्रवेश गरेका छन्। परियार आफू मात्र एमाले प्रवेश गरेनन्, अरू थुप्रै नेता–कार्यकर्तालाई पनि सँगै लिएर गए।
माओवादीभित्र परियार दाहालनिकट भनेर चिनिन्थे। “अध्यक्षले छोरी रेणुलाई दुई पटक भरतपुरको मेयर बनाउन सम्पूर्ण जोडबल लगाउनुभो, तर चितवनमा माओवादीको जग बसाउने यत्तिको नेतालाई कहिल्यै अवसर र जिम्मेवारी दिनुभएन। उहाँ एमालेमा जानुको कारण पनि यही हो”, चितवनका एक माओवादी नेताले भने।
तेस्रो कारणः कांग्रेसका धेरै समूहसँग ‘डिल’ गर्न कठिन
२०७४ को स्थानीय तह निर्वाचनमा पहिलोपटक छोरी रेणु दाहालका लागि चितवनका कांग्रेसीको साथ–सहयोग पाएका दाहाल कांग्रेसकै सहयोगमा यसपालि पनि रेणुलाई भरतपुर महानगरको मेयरमा दोहोर्याउन सफल भए। तर, भरतपुरको यसपालिको स्थानीय निर्वाचन परिणामले नै दाहाललाई नराम्ररी झस्काइसकेको थियो।
कांग्रेसको नेतृत्व र नेताहरूले सबै शक्ति लगाउँदा पनि भरतपुरको मेयरमा दाहालले कांग्रेसको पूरै सहयोग पाउन सकिनन्। उनीविरुद्ध बागी उम्मेदवारी दिएका पुराना कांग्रेस नेता जगन्नाथ पौडेलले पार्टीबाट निष्काशन हुँदा पनि १४ हजार ७२८ मत ल्याए। यो बेग्लै हो कि यति हुँदा पनि रेणुको जित सुनिश्चित भयो।
यही मत दाहाललाई झस्काउने अर्को कारण बन्यो। यसपालि चितवन–३ को परिदृष्य भिन्न थियो। चितवनमै भिजेका राप्रपाका विक्रम पाण्डे उनका प्रतिस्पर्धी हुने र उनलाई एमालेले पनि सघाउने लगभग निश्चित थियो। “यस्तो अवस्थामा अध्यक्षको मुख्य भरोसा रहेको कांग्रेसभित्र धेरै उथलपुथल भइसकेको थियो। स्थानीय निर्वाचनमै त्यसको संकेत देखिइसकेको थियो”, चितवनका एक माओवादी नेताले भने, “त्यो अवस्था फेरि पनि दोहोरिनसक्ने आकलन भयो। त्यसक्रममा फेरि १० हजार भोट मात्र दायाँ–वायाँ हुनेबित्तिकै अध्यक्षले जित्ने सम्भावना कम देखियो। यो सबै जञ्जालले गर्दा ढुक्क नभएपछि अध्यक्ष गोरखा जानुभयो।”
स्थानीय निर्वाचनमा भरतपुरको मेयरमा बागी उम्मेदवारी दिएका पौडेलले आउँदो प्रतिनिधिसभा निर्वाचनका लागि चितवन–३ बाट उम्मेदवारी दिएका छन्। त्यहाँ गठबन्धनबाट माओवादीका उम्मेदवार हुँदाहुँदै कांग्रेस नेता दिनेश कोइराला पनि उम्मेदवार बनेका छन्। यसले पनि चितवनमा कांग्रेसका तीन समूह अस्तित्वमा रहेको देखाउँछ। माओवादी नेताहरू कांग्रेसका धेरै समूहलाई ‘सम्हाल्न’ असम्भवजस्तै देखिएपछि दाहालले चितवन छाड्ने निधो गरेको बताउँछन्।
“कांग्रेसमा धेरै झुण्ड भएकाले भोट लिन धेरै पैसा खर्च गर्नुपर्ने बाध्यताले पनि समस्या पार्यो,” माओवादी नेता काफ्ले भन्छन्, “चार–पाँच जना मिलेर आउँछन्, हामीसँग यति भोट छ भनेर बार्गेनिङ गर्दछन्। अन्तिम–अन्तिमतिर दुई-चार भोट पनि थपियोस् भन्ने हुन्छ। कांग्रेसमा भएको निर्णय पनि कार्यान्वयन नहुने समस्याले थप अप्ठेरोमा पार्यो।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
