शुभमन गिल तीनै फर्म्याटमा शतक बनाउने भारतका पाँचौँ र विश्वको २१औँ ब्याट्सम्यान बनेका छन्।
काठमाडौँ– तेस्रो टी–२० आई खेलमा भारतले न्यूजिल्यान्डलाई १६८ रनले पराजित गरेको छ। २३ वर्षीय ओपनर शुभमन गिल भारतको जितका नायक बने।
एक दिवसीय (ओडीआई) क्रिकेटका पछिल्ला चार खेलमा तीन शतक प्रहार गरेका गिलले पहिलो दुई टी–२० आईमा राम्रो प्रदर्शन गर्न सकेका थिएनन्। उनले अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा त्यसको पूर्ति गरे। तेस्रो खेलमा उनले १२६ रनको इनिङ्स खेले। योसँगै गिल टी–२० आईमा भारतका लागि सबैभन्दा ठुलो इनिङ्स खेल्ने ब्याट्सम्यान बनेका छन्। उनले विराट कोहली (१२२ रन)को कीर्तिमान तोडेका छन्।
गिल टी–२० आई ढाँचामा भारतका सबैभन्दा कान्छो सेन्चुरियन बनेका छन्। उनले सुरेश रैनाको कीर्तिमान तोडे। सुरेशले २३ वर्ष १५६ दिनको उमेरमा १०१ रन खेल्दै शतक बनाएका थिए। गिलले २३ वर्ष १४६ दिनमा शतक प्रहार गरेका हुन्। सुरेशले क्रिकेटबाट सन्यास लिइसकेका छन्। गिलको शतक टी–२० आईमा भारतीय ब्याट्सम्यानले बनाएको १३औँ हो। रोहित शर्माले हालसम्म चार शतक प्रहार गरेका छन्। सूर्यकुमार यादवले ३ र केएल राहुलले २ शतक प्रहार गरेका छन्। विराट कोहली, दीपक हुड्डा र सुरेश रैनाको नाममा १/१ शतक छ।
पछिल्लो ६ महिनामा गिलले तीनवटै फर्म्याट अर्थात् टेस्ट, ओडीआई र टी–२० आईमा शतक बनाएका छन्। गिलले गत जनवरीमा न्यूजिल्यान्डविरुद्धको ओडीआईमा २ र श्रीलंकाविरुद्ध १ शतक प्रहार गरेका थिए। यस्तै, गत अगस्टमा जिम्बाबेविरुद्धको ओडीआईमा १ दशक बनाएका थिए। गत डिसेम्बरमा बंगलादेशविरुद्धको टेस्टमा पनि गिलले शतक बनाएका थिए। तीनै फर्म्याटमा शतक बनाउने भारतका पाँचौँ र विश्वको २१औँ ब्याट्सम्यान बनेका छन्।
गिलभन्दा पहिले सुरेश रैना, केएल राहुल, रोहित शर्मा र विराट कोहलीले यो कीर्तिमान बनाएका थिए। गिल तीनै फर्म्याटमा शतक बनाउने विश्वकै दोस्रो कान्छा ब्याट्सम्यान हुन्। पाकिस्तानका मोहम्मद शहजादले २२ वर्ष १२७ दिनको उमेरमा शतक बनाएका थिए। गिलले २३ वर्ष १४६ दिनमा यो उपलब्धि हासिल गरेका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
