सन्दीपलाई थप २ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई थप २ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

काठमाडौँ- बलात्कारको आरोपमा पक्राउ परेका किक्रेटर सन्दीप लामिछानेलाई थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। आइतबार जिल्ला अदालत काठमाडौँले सन्दीपलाई थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

यसअघि थपिएको समयसीमा सकिएसँगै अदालतले प्रहरीको आग्रहमा अनुसन्धानका लागि २ दिन म्याद थप गरेको हो। यसअघि पनि अनुसन्धानका लागि अदालतले असोज २४ गते २० गतेबाट गणना हुने गरी ७ दिनको म्याद दिएको थियो। त्यसपछि असोज २७ गते दोस्रो पटक ५ दिन म्याद थप गरेको थियो भने कात्तिक २ गते थप ४ दिनको समय थप गरी अनुसन्धानका लागि अदालतले समय दिएको थियो।

सञ्चारकर्मीसँग बोल्दै अधिवक्ता सरोजकृष्ण घिमिरेले प्रहरीको आग्रहमा थप २ दिनको म्याद थपिएको बताए। उनले आइतबार नै प्रहरी अधिकृतले आफ्नो अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउने तयारी रहेको पनि बताए। उनले प्रहरीको अनुसन्धान प्रक्रिया सुस्त भएका आफूहरूको बुझाइ रहेको बताए। उनले सन्दीपको स्वास्थ्य अवस्थालाई लिएर विभिन्न गलत समाचार प्रकाशन भएको भन्दै सन्दीपको स्वास्थ्य अवस्था राम्रो रहेको बताए।

"दुई दिनको म्याद दिनुभएको छ, आज नै प्रहरी अधिकृतले आफ्नो अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउने भनिएको छ। तिहारको बिदाका कारण हामीले सोचेको जस्तो अगाडि नै अभियोग पत्र आउने स्थिति छैन। बीचमा बिदा परेको र उहाँहरूको अनुसन्धान प्रक्रिया सुस्त भएको भन्ने हाम्रो बुझाइ छ," उनले भने।

१७ वर्षीया किशोरीले बलात्कार अभियोग लगाएपछि अनुसन्धानका लागि सन्दीपलाई असोज २० गते नेपाल आएलगत्तै विमानस्थलबाट नै पक्राउ गरिएको थियो। काठमाडौँको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा किशोरीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन्। सन्दीप त्यसबेला क्यारेबियन लिग क्रिकेट खेल्न गएका थिए।