लुम्बिनी मागी खाने भाँडो होइन, पवित्र थलोमा बसेर अपवित्र कर्म नगर्नुस् : मन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफू लुम्बिनी विकास कोषको कार्यप्रगतिसँग सन्तुष्ट नरहेको बताएका छन्।

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले लुम्बिनी विकासका कर्मचारीलाई क्यालेन्डर अनुसार कार्ययोजना बनाएर काम गर्न निर्देशन दिएका छन्। 

आइतबार लुम्बिनी विकास कोषले आयोजना गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र राज्यमन्त्रीलाई स्वागत कार्यक्रममा बोल्दै मन्त्री किरातीले लुम्बिनी विकास कोषले देखाएको कार्यप्रगतिको रिपोर्ट सन्तोषजनक नभएको भन्दै कोषका कर्मचारीलाई क्यालेन्डर अनुसार कार्ययोजना बनाएर काम गर्ने निर्देशन दिएका हुन्।

उनले लुम्बिनीजस्तो पवित्र स्थलको काम इमानदारीका साथ गर्न आग्रह गरे। मन्त्री किरातीले लुम्बिनीको विकास गर्न कोषसँग बजेट, कार्यक्रम हुँदाहुँदै काम नभएको भन्दै अब भने योजना अनुसारको काम चाहिने बताए। 

उनले नेपालको संविधान कानून अनुसार संरचनाहरू निर्माण भएको भन्दै संरचनाहरूमा कर्मचारी भएर पनि काम किन नभएको भन्दै प्रश्न गरे। 

लुम्बिनी विकासको बाँकी काम गर्न क्यालेन्डर अनुसार सात दिन, एक महिना, तीन महिना,६ महिना र एक वर्षमा के गर्ने भन्ने कार्ययोजना बनाउन मन्त्री किरातीले निर्देशन दिए। 

गौतम बुद्धको जन्मथलो लुम्बिनी मागी खाने भाँडो नभएर बौद्ध धर्मावलम्बीहरूको नाभि तथा ढुकढुकी भएको बताए। मन्त्री किरातीले कर्मचारीलाई पवित्र थलोमा बसेर अपवित्र कर्म नगर्न आग्रह गरे। 

उनले नेपालले गौरवका साथ विश्वमा गौतम बुद्धको नाम बेच्ने,पवित्र थलो लुम्बिनी भन्ने तर लुम्बिनीमा नै अपवित्र काम गर्न कसैलाई छुट नभएको बताए।

उनले भने, “लुम्बिनी विकास कोषको रिपोर्टमा म सन्तुष्ट छैन । मन्त्री भएर होइन लुम्बिनी विकास कोषको अध्यक्ष भएर बोल्दैछु। विश्व सम्पदा बौद्धधाम मात्रै नभएर गौतम बुद्धको जन्मस्थल फोहोर छ भनेर चीनमा सुनेको थिए।”

त्यस्तै, उनले सात दिन, एक महिना, तीन महिना, ६ महिना र एक वर्षमा के गर्ने भन्ने कुराको क्यालेन्डर आफूलाई चाहिने बताए। 

लुम्बिनी विकास कोषको काम भएन भनेर कर्मचारी सरुवा गरेर रमिता नदेखाउने उनको भनाइ थियो। 

यो पनिः कोषको ‘लामो हात’ले रमिता बनेको लुम्बिनी