रुस–युक्रेन युद्ध शुरू भएको एक वर्ष पुग्नै लाग्दा पनि रोकिने छाँटकाँट देखिँदैन। अमेरिका र युरोपियन देशको प्रतिबन्धले पनि रुस पछि हट्ने संकेत नदेखाएकाले युद्ध थप लम्बिने देखिएको छ।
सन् २०२२ फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि गोलाबारी गरेसँगै शुरू भएको दुई देशबीचको युद्ध आजसम्म जारी छ। युद्धका क्रममा रुसले कब्जामा लिएका भूमि फिर्ता नगरुन्जेल युद्ध जारी रहने युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की अडान छ भने रुसले पनि ती भूमि फिर्ता नगर्ने र कुनै सम्झौता नगर्ने बताउँदै आएको छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा गरिएको आक्रमण युद्ध नभई सैन्य कारबाही भन्दै आफ्नो बचाउ गर्दै आएका छन्। उनले यसलाई युक्रेनलाई ‘डिमिलिटराइजेसन’ र ‘डिनाजिफिकेसन’ बाट बचाउन गरिएको सैन्य कारबाही भनेका छन्।
जारी युद्धका कारण हजारौँको मृत्यु भएको छ। हजारौँ घाइते भएका छन् भने लाखौँ विस्थापित हुनुपरेको छ। यस्तै, अर्बौँ डलर बराबरको धनमाल नोक्सानी भएको छ। युद्धले पुस्तौँसम्म पनि नमेटिने छाप छोडेको छ। यति ठूलो जनधनको क्षति हुँदा पनि दुवै पक्षले पूर्णकालीन युद्धविरामको संकेत गरेका छैनन्। बरु एक अर्काबीच शत्रुता थप बढिरहेको देखिन्छ। यति मात्र होइन युद्ध शुरू भएयताको भूराजनीतिक तनाव र मुलुकहरूको विभाजनले विश्वमा थप दरार उत्पन्न गरेको छ। भौतिक र मानवीय क्षतिको लेखाजोखा अपुरै छ।

पछिल्ला दिनमा रुसले युक्रेनका संवेदनशील र महत्त्वपूर्ण भौतिक संरचनालक्षित आक्रमण तीव्र पारेको छ। रुसले उसलाई आन्तरिक रूपमै ध्वस्त पार्ने वाचा गरेको छ। तर, दुवै पक्षले पछि नहट्ने अडान लिँदा राजनीतिक, आर्थिक र सैन्य क्षेत्रको अस्थिरता बढ्ने निश्चित छ। केही दिनअघि उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो)का अध्यक्ष जेन्स स्टोलटेनबर्गले रुस–युक्रेन युद्ध अर्को एक वर्षसम्म लम्बिन्छ भनेका थिए।
दुवै पक्ष समझदारीमा आउनेभन्दा पनि आक्रमण र विस्फोटलाई तीव्र पारेका छन्। जसले स्थिति थप खराब बनिरहेको छ। कतिसम्म भने सन् २०२४ मा पेरिसमा हुने समर ओलम्पिकमा रुस र उसको मित्रराष्ट्र बेलारुस सहभागी हुने भए आफूले भाग नलिने युक्रेनले चेतावनी दिएको छ। यी दुवै देश सहभागी अन्तर्राष्ट्रिय खेलमा आफूले माग नलिने युक्रेनको भनाइ छ। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले यी दुई देशलाई खेलमा सहभागी गराउने विषयमा छलफल गर्न सकिने संकेत गरेपछि युक्रेनको यस्तो प्रतिक्रिया आएको हो।
रुसी सरकारी मिडिया तासले शुक्रबार रुसले दोनेत्स्क क्षेत्रको अग्लेदार र जापोरिजिया क्षेत्रमा आफ्नो पकड बलियो बनाएकोबारे समाचार लेखेको थियो। रुसी रक्षा मन्त्रालयका प्रवक्ता लेफ्टिनेन्ट जेनेरल इगोर कोनाशेन्कोलाई उद्धृत गर्दै सो क्षेत्रमा रुसी सेनाले युक्रेनी सेनामाथि आक्रमण गरिरहेको उल्लेख गरेको छ। साथै, पछिल्लो २४ घण्टामा मात्रै सो क्षेत्रमा ६५ युक्रेनी सैन्य अधिकारी मारिएको रुसको दाबी छ। एउटा ट्यांक र दुईवटा सशस्त्र सवारी, तीनवटा सवारी साधन र अमेरिकामा निर्मित दुईवटा काउन्टर ब्याट्री रेडारसमेत नष्ट गरिदिएको रुसको दाबी छ।
प्रवक्ता कोनाशेन्कोले भने, “दक्षिण क्षेत्रमा रुसी सैन्य बलले गरेको सफल आक्रमणको परिणामस्वरूप त्यस क्षेत्रबाट ८० भन्दा बढी युक्रेनी सेनालाई हटाइएको छ।” धेरै हदसम्म रुसी आक्रमणको औचित्य पूरा भएको पनि उनको दाबी छ।
यता, रुसी राष्ट्रपति पुटिनले पनि दुई मुलुकबीचको द्वन्द्व थप लम्बिने संकेत गरेका छन्। केही दिनअघि द गार्डियनसँगको कुराकानीमा पुटिनले युद्ध दीर्घकालीन प्रक्रियामा परिणत हुने भनेका थिए।

युद्ध लम्बिने आधार र संकेत
युक्रेन–रुस युद्धका कारण क्षेत्रीय अस्थिरता बढिरहेको छ। जसले युद्ध समाप्त हुनुको साटो लम्बिने संकेत गर्छ। युक्रेनलाई मानवीय र आर्थिक सहायता गरिरहेका मुलुकहरू पनि युक्रेनको पक्षमा शतप्रतिशत उभिने अवस्था छैन। किनकि अधिकांश युरोपेली मुलुक इन्धन र खाद्यान्नमा रुसको भर पर्नुपर्ने अवस्था छ। युक्रेनमाथि आक्रमण गरेको भन्दै उनीहरूले रुसमाथि विभिन्न प्रतिबन्ध त लगाएका छन् तर कडा कदम चाल्न हिचकिचाइरहेका छन्।
युक्रेनलाई साथ दिए पनि व्यवहारतः उनीहरूले रुससँगको कूटनीतिक सम्बन्ध पूर्ण रूपले तोड्न सक्ने अवस्था छैन। यसको फाइदा रुसले उठाइरहेको छ। किनकि टर्की, बेलारुस, चीन, दक्षिण अफ्रिकाजस्ता मुलुकहरू विभिन्न बहानामा रुससँग थप नजिक भएको विदेशी मिडियाले चर्चा गरिरहेका छन्।
केही दिनअघि मात्रै चीन, रुस र दक्षिण अफ्रिकाले संयुक्त सैन्य अभ्यास गर्ने बताएका थिए। फेब्रुअरीमा यी तीन मुलुकले सामुद्रिक सैन्य अभ्यास गर्ने योजना सार्वजनिक गरेका हुन्। आफ्नो संयुक्त सैन्य अभ्यासको बचाउ गर्दै दक्षिण अफ्रिकी विदेशमन्त्री नलेदी पान्दोरले भनिन्, “विश्वका अधिकांश मुलुकले आफ्ना मित्र राष्ट्रसँग मिलेर सैन्य अभ्यास गर्दै आएका छन्। यो देशसँग गर्ने वा नगर्ने भन्ने विषय कुनै बाध्यकारी हुनुहुँदैन।” यसबाट पनि दक्षिण अफ्रिका र रुसबीचको घनिष्ठता आकलन गर्न सकिन्छ।

यो सैन्य अभ्यास दक्षिण अफ्रिकाको पूर्वी तटीय क्षेत्र क्वाजुलु नाटल प्रान्तको दुरवा र रिचर्डस् बेमा फेब्रुअरी १७ देखि २७ सम्म हुने तयारी छ।
यता, रुसको मित्रराष्ट्र चीनले पनि आपसी सैन्य सम्बन्ध थप बलियो बनाउन चाहेको छ। रुस–युक्रेन युद्धबारे दुई देशको आपसी मामिलामा हस्तक्षेप नगर्ने चीनले प्रतिक्रिया दिएको थियो। यस्तै, युक्रेनको सार्वभौमसत्ताको पक्षमा रहेको अभिव्यक्ति दिएर सहानुभूति दिएको चीन रुसमाथिको प्रतिबन्ध र अन्य हस्तक्षेपको मामिलाबाट समेत परै रह्यो।
सन् २०२३ को नयाँ वर्षको सन्देशमा पनि चीनले रुससँग सम्बन्ध प्रगाढ बनाउन चाहेको बताएको थियो। यस वर्ष चीन र रुस कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव पनि हो। आपसी सम्बन्धबारे बोल्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले भनेका थिए, “रुस र चीनबीचको सम्बन्धलाई कुनै पनि शक्तिले रोक्न सक्दैन र रुसी नागरिक कुनै पनि बाहिरी हस्तक्षेपबाट प्रभावित हुने छैनन्।” साथै, उनले दुईपक्षीय रणनीतिक, सुरक्षा र सञ्चारलाई बलियो बनाउने, आपसी विश्वास बढाउने, आ-आफ्ना मूल हित र सामान्य सुरक्षाको संरक्षण गर्दै क्षेत्रीय र विश्व शान्ति तथा स्थायित्वको कायम गर्नेमा जोड दिएका थिए।

युक्रेनी मामिलामा चीन र भारतको मौनता, तटस्थता र व्यापारमा साझेदारी र अन्य साना मुलुकको कमजोर उपस्थिति रुसी मनोबल बढाउने अस्त्र बनेका छन्। रुस–युक्रेन युद्धमा रुसको मनोबल कसरी बढिरहेको छ भन्ने देखाउन ग्रीड न्युजमा लेखक टम नागोस्कीले ‘भ्लादिमिर पुटिनसँग अझै धेरै मित्रहरू छन् : टर्की, भारत र दक्षिण अफ्रिकाले कसरी उसलाई बल दिए’ शीर्षकमा विस्तृत रूपमा लेखेका छन्।
युक्रेन नेटोको सदस्य बन्न चाहेको विषयमा टर्कीले सधैँ हस्तक्षेप गर्दै आएको थियो। टर्की नेटो बिस्तार गर्न नहुने अडानमा छ। यता, रुसमाथि पश्चिमा मुलुकले प्रतिबन्ध लगाए पनि आफूले रुसबाट इन्धन खरिदको प्रक्रियालाई नरोक्ने भारतीयको भनाइले अझ रुसको मनोबल उच्च बनाएको छ। भारतले अघिल्लो वर्षको तुलनामा यस वर्ष रुसबाट ३३ गुणा बढी तेल खरिद गरिरहेको ब्लुमबर्गले लेखेको छ। भारतले गत डिसेम्बरमा एकै दिन १२ लाख ब्यारेल तेल रुससँग खरिद गरेको बताएको छ। यो नोभेम्बरको तुलनामा २९ प्रतिशत बढी रहेको वोर्टेक्सा लिमिटेडको तथ्यांक छ। युरोपलाई बेच्दै आएको पेट्रोलियम पदार्थ उसले केही सस्तोमा भारतलाई बेचिरहेको हो।
रुसले युक्रेनमा आक्रमण गरेयता अमेरिका र युरोपेली मुलुकले रुसलाई विश्वमा एक्लो पार्न खोजेका थिए। तर, उनीहरू बिस्तारै असफल भइरहेको र रुसले आफूलाई बलियो बनाउन मित्र राष्ट्रहरूसँगको घनिष्ठता थप बढाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
