निगमले एउटा पेट्रोल ट्यांक, २४ वटा रिफिलर, प्रयोगशाला, फायरफाइटिङ सिस्टम, ओडब्ल्यूएस र पीएमसीसी कक्षको निर्माण गरिने जनाएको छ।
काठमाडौँ– नेपाल आयल निगमले दोस्रो चरणको पाइपलाइन परियोजनाअन्तर्गत भर्टिकल ट्यांकको निर्माण शुरू गरेको छ। निगमको मधेश प्रादेशिक कार्यालयअन्तर्गत बाराको अमलेखगन्जस्थित डिपोमा पेट्रोल र ट्रान्समिक्स ट्यांकको गत मंसिर २९ गते शिलान्यास गरी निर्माण कार्य शुरू भएको हो।
निगमले मोतीहारी–अमलेखगन्ज पाइपलाइनमार्फत २०७६ भदौदेखि डिजेल आयात गरिरहेको छ। मोतीहारी–अमलेखगन्ज पाइपलाइन परियोजना डिजेल र पेट्रोल दुवै ल्याउने भए पनि पेट्रोल भण्डार गर्न ट्यांकी नहुँदा डिजेल मात्रै आयात भइरहको थियो।
अमलेखगन्ज डिपोका प्रमुख प्रदीपकुमार यादवले आगामी अंग्रेजी नयाँ वर्षमा पाइपलाइनमार्फत पेट्रोल ल्याउने गरी भर्टिकल ट्यांक निर्माण कार्यको शुरूआत गरिएको बताए। उनले दोस्रो चरणको योजना निर्माणका लागि नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनले संयुक्त रूपमा लगानी गर्नेगरी सम्झौता भएर काम अगाडि बढेको बताए। उनले दुईवटा पेट्रोल ट्यांकमध्ये निगम र आईओसीले १/१ वटा ट्यांकको लागत व्यहोर्ने जानकारी दिए।
प्रमुख यादवका अनुसार पेट्रोल र डिजेल इन्धन राख्नका लागि दुई वटा ट्रान्समिक्स ट्यांक र डिपोभित्रको सुरक्षाका लागि ३ हजार किलोलिटर क्षमताको फायरवाटर ट्यांक भारतीय पक्षले निर्माण गरिदिने छ। निगमले यसका लागि करिब ७५ करोड भारतीय रुपैयाँ खर्च गर्ने अनुमान गरेको छ।
निगमले एउटा पेट्रोल ट्यांक, २४ वटा रिफिलर, प्रयोगशाला, फायरफाइटिङ सिस्टम, ओडब्ल्यूएस र पीएमसीसी कक्षको निर्माण गरिने जनाएको छ। यसका लागि निगमको १ अर्ब ५४ करोड भारतीय रुपैयाँ बराबरको खर्च हुने अनुमान गरिएको छ।
भारतबाट डिजेल र पेट्रोल दुवै पाइपलाइनमार्फत आयात गर्दा निगमलाई मासिक रूपमा ढुवानी र टेक्निकल खर्चमा १५ करोड रुपैयाँ वचत हुने अनुमान छ। अहिले डिजेल मात्रै पाइपलाइनमार्फत आयात गर्दा ढुवानी भाडा र टेक्निकल खर्चमा वार्षिक रूपमा करिब २ अर्ब रुपैयाँ वचत भएको निगमले जनाएको छ।
“डिजेल र पेट्रोल दुवै पाइपलाइनबाट आयात गर्दा निगमको मासिक रूपमा ढुवानी भाडा र टेक्निकल लस गरे १५ करोड रुपैयाँ वचत हुन्छ। अहिले १९ हजार ८ सय किलो लिटर डिजेल रहेको छ। ३४ सय किलोलिटर पेट्रोलको रहेको छ भने सबै निर्माण कार्य सम्पन्न भएपछि ४१ हजार ८ सय किलोलिटर डिजेलको भण्डार क्षमता हुन्छ”, प्रमुख यादवले भने।
प्रमुख यादवले दोस्रो चरणमा ४ हजार १ सय किलोलिटर क्षमताका २ वटा पेट्रोल ट्यांक, २५० किलोलिटर क्षमताका दुईवटा ट्रान्समिक्स ट्यांक, पेट्रोलको लोडिङका लागि २४ वटा पूर्ण स्वचालित लोडिङ वे (रिफिलर), पम्प हाउस र प्रयोगशालाको निर्माण हुने बताए। उनले फायर फाइटिङ सिस्टमको स्तरोन्नति, पानी र तेल छुट्याउने ओडब्ल्यूएस सिस्टम तथा पीएमसीसी कक्ष निर्माणसमेत हुने बताए।
प्रमुख यादवका अनुसार आयोजना निर्माण सम्पन्न भएपछि पेट्रोल, डिजेल र मट्टितेल गरी तीनवटै पदार्थको आयात पाइपलाइनबाटै हुने छ। अमलेखगन्जदेखि बरौनीसम्म आयातका लागि प्रयोग हुँदै आएको ट्यांकरको संख्या शून्य हुने उनको भनाइ छ।
निगमका अनुसार यसबाट प्राविधिक नोक्सानी शून्य हुने, ढुवान भाडा वचत हुने तथा वातावरणीय प्रदूषण कम गर्नसमेत सहयोग पुग्ने छ। “अहिले यो डिपोमा ५ सय ट्यांकरको आवतजावत हुने गरेको थियो। पेट्रोलसमेत पाइपलाइनबाट आएपश्चात् यो डिपोमा ७ सय ट्यांकर आवतजावत हुन्छन्”, उनले भने।
निगमले एउटै पाइपलाइनबाट पेट्रोल र मट्टितेलसमेत आयात गर्न सम्भव भए पनि भण्डारण गर्ने क्षमता नहुँदा तीन वर्षसम्म ट्यांकरबाटै पेट्रोलियम पदार्थ ल्याउनुपर्ने बाध्यता थियो। उक्त परियोजनाको लिखिता इन्फास्ट्रक्चर प्रालिले एक वर्षभित्रमा निर्माण सम्पन्न गर्नेगरी सबै पूर्वाधार निर्माणको ठेक्का लिएको छ।
यो आयोजना निर्माण सम्पन्न भएसँगै अमलेखगन्ज डिपोमा डिजेलको भण्डारण क्षमता २४ हजार ८४० किलोलिटर र पेट्रोलको भण्डारण क्षमता १६ हजार ६३० किलोलिटर पुग्नेछ। ९० दिनको इन्धन भण्डारण गर्ने सरकारको नीतिअनुसार थप ५/५ हजार किलोलिटर क्षमताको ट्यांक निर्माणको तयारीसमेत शुरू गरिएको छ। परियोजना सम्पन्न भएपश्चात् ५ दिनको माग धान्न सक्ने डिजेल र ७ दिनको माग धान्न सक्ने पेट्रोलको भण्डारणको क्षमता पुग्ने भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
