सार्वजनिक ऋण २० खर्ब पुग्यो

चालु आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट ल्याएको सरकारले  वैदेशिक ऋणबाट २ खर्ब ४२ अर्ब २६ करोड र आन्तरिक ऋणबाट २ खर्ब ५६ अर्ब ऋणबाट स्रोत जुटाउने लक्ष्य राखेको छ।

काठमाडौँ– चालु आर्थिक वर्षको मंसिरसम्ममा मुलुकको सार्वजनिक ऋण २० खर्ब ७ अर्ब १३ करोड पुगेको छ।

त्यसमध्ये आन्तरिक ९ खर्ब ६६ अर्ब ४८ करोड र बाह्य ऋण १० खर्ब ४० अर्ब ६५ करोड रहेको अर्थ मन्त्रालयले जनाएको छ। यो गत आर्थिक वर्षको तुलनामा भने ६ अर्ब ३० करोड रुपैयाँले कम हो। सरकारले बजेट कार्यान्वयनका लागि राजश्वबाहेक आन्तरिक र बाह्य ऋणबाट स्रोत व्यवस्थापन गर्दै आएको छ।

चालु आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट ल्याएको सरकारले  वैदेशिक ऋणबाट २ खर्ब ४२ अर्ब २६ करोड र आन्तरिक ऋणबाट २ खर्ब ५६ अर्ब ऋणबाट स्रोत जुटाउने लक्ष्य राखेको छ।

५ महिनामा २९ अर्ब ५७ करोड बाह्य  र १७ अर्ब ५० करोड आन्तरिक गरी कुल ४७ अर्ब ७ करोड ऋण लिएको अर्थ मन्त्रालयले जनाएको छ। यस्तै, यो अवधिमा सरकारले आन्तरिक र बाह्य ऋणको ५३ अर्ब २४ करोड साँवा र ३२ अर्ब १५ करोड ब्याज भुक्तानी भएको छ।

वैदेशिक सहायता प्रतिबद्धता बढ्यो
त्यस्तै, यो ५ महिनामा वैदेशिक सहायता प्रतिबद्धतामा उल्लेख्य वृद्धि भएको छ। साउनदेखि मंसिरसम्म १ खर्ब ९ अर्ब ४ करोड रुपैयाँ बराबरको सहायता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४ अर्ब ८९ करोड रुपैयाँले बढी हो। गत आर्थिक वर्ष २०७८/७९ को ५ महिनामा ६४ अर्ब १५ करोड रुपैयाँको वैदेशिक सहायता प्रतिबद्धता आएको थियो।

चालु आर्थिक वर्षको ५ महिनामा आएको सहायता प्रतिबद्धतामध्ये ऋण ८०.२४ र अनुदान १९.७६ प्रतिशत रहेको अर्थ मन्त्रालयको बुलेटिनमा उल्लेख  छ।

कुल वैदेशिक सहायता प्रतिबद्धतामध्ये विश्व बैंक समूहबाट सबैभन्दा बढी ६० प्रतिशत रहेको छ।  जापानबाट १५.२, एसियाली विकास बैंकबाट ९.४, युरोपियन युनियनबाट ३.१ प्रतिशत सहायता प्रतिबद्धता प्राप्त भएको छ।

५ महिनाको अवधिमा आएको कुल वैदेशिक सहायता प्रतिबद्धतामध्ये सडक क्षेत्रमा सबैभन्दा बढी ३२.१ प्रतिशत छ।