यू–१९ विश्वकपमा छनोट हुन एशियाली छनोट प्रतियोगिता खेल्न लागेको नेपाली टोलीको मुख्य भरोसा अलराउन्डरद्वय देव खनाल र गुलशन झाको प्रदर्शनमा निर्भर हुनेछ।
काठमाडौँ– आईसीसी अन्डर–१९ विश्वकपका लागि संयुक्त अरब इमिरेट्स (यूएई)मा आयोजना हुने एशियाली छनोट प्रतियोगिता शुरू हुन अझै एक महिना बाँकी छ। त्यसकै लागि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा नेपाली यू–१९ टोली अभ्यासमा व्यस्त छ।
सिनियर टोलीसँग दिनहुँ अभ्यास गरिरहेका यू–१९ टोलीका सदस्यले १६ दिनयता थकाइ मार्ने फुर्सद पाएका छैनन्। यू–१९ टोलीले आन्तरिक रूपमा मूलपानीमा पाँचवटा अभ्यास खेल खेलेको थियो। तिनै खेलमा गरेको प्रदर्शनका आधारमा विश्वकप छनोट खेल्ने १४ खेलाडी छानिएको हो।
सिनियर टोलीसँग दुई अभ्यास खेल खेलिसकेको यू–१९ टोलीले आउँदो शनिबार र आइतबार थप अभ्यास खेल खेल्ने तालिका छ। त्यसबाहेक नेपाल क्रिकेट संघ (क्यान)ले यूएईको छनोट प्रतियोगिताअघि नेपाली टोलीलाई बंगलादेशमा अभ्यास गराउने तयारी पनि गरेको छ।
छनोट खेल्न जानुअघि बंगलादेशमा अभ्यास गर्न पाउने भएपछि खेलाडीमा बेग्लै मनोबल देखिन्छ। त्यो आत्मविश्वास राष्ट्रिय क्रिकेट टोलीकै प्रशिक्षण सम्हालिसकेका, हाल यू–१९ टोलीको मुख्य प्रशिक्षक रहेका जगत टमाटाको अनुहार र भनाइमा पनि झल्किन्छ। “विश्वकप खेल्न मिहिनेत चाहिन्छ। खेलाडीले कडा मिहिनेत गरेका छन्। छनोट चरणमा राम्रो प्रदर्शन गरेर श्रीलंकामा हुने विश्वकप खेल्छौँ भन्नेमा म पूर्ण विश्वस्त छु”, टमाटाले भने।
नेपाली क्रिकेटमा यू–१९ टोलीको बेग्लै परिचय छ। अहिलेसम्म सबैभन्दा ठूलो सफलता नेपाललाई यही समूहमा मिलेको छ। उमेर समूहमा पनि बलियो मानिने यू–१९ टोली टमाटाले तेस्रोपटक सम्हालेका हुन्। सन् २०१२ उनले सम्हालेको नेपाली टोली विश्वकपको पहिलो चरणबाटै बाहिरिएको थियो। त्यसको चार वर्षपछि नेपालले न्युजिल्यान्ड र आयरल्यान्डजस्ता बलिया टोलीलाई हराउँदै क्वार्टरफाइनलसम्मको ऐतिहासिक यात्रा तय गरेको थियो।
राजु रिजालको कप्तानीमा क्वार्टरफाइनल पुगेको नेपाल क्वार्टरफाइनलमा घरेलु टोली बंगलादेशसँग ६ विकेटले पराजित भयो। पहिलो ‘प्लेअफ’मा पाकिस्तानसँग १२२ रनले पराजित नेपाल दोस्रो ‘प्लेअफ’मा नामिबियासँग १५ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।

त्यसअघि पहिलो सहभागितामा बाहेक नेपाल विश्वकपको दोस्रो चरणमा पुग्न सकेको थिएन। सन् २००२ मा श्रीलंकामा आयोजित विश्वकप पहिलोपटक खेलेको नेपाल दोस्रो चरण पुगेको थियो। त्यसपछि नेपालले सन् २००८ सम्म लगातार छनोट हुँदै विश्वकप खेल्यो। तर, दोस्रो चरण पुग्न सकेन। नेपालले सन् २०१०, २०१४, २०१७ र २०१८ को विश्वकपमा भने एसियाली छनोट नै पार गर्न सकेन।
२०१७ मा अफगानिस्तानसँग पराजित भएको नेपाल त्यसको दुई वर्षपछि मलेसियामा भएको छनोटमा पुनः पराजित हुन पुग्यो। वर्षका कारण बिथोलिएको खेलमा नेपाल युएईसँग डकवर्थ लेविस नियमका आधारमा एक रनले पराजित हुँदै विश्वकपमा पुग्न असफल भएको थियो।
यसपालि नेपाल रहेको डिभिजन १ मा युएईसँगै सिंगापुर, कुवेत, हङकङ र मलेसिया छन्। नेपालले फागुन १२ गते सिंगापुर, १३ गते कुवेत, १५ गते हङकङ, १६ गते मलेसिया र १८ गते अन्तिम खेल युएईविरुद्ध खेल्ने छ। विजेता टोलीले २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ।

“श्रीलंकामा आयोजना हुने विश्वकप खेल्ने मात्र होइन, उपाधि जित्ने हाम्रो लक्ष्य हो। अहिलेदेखि नै टिमलाई छनोट गराउन लागिरहेको छु”, प्रशिक्षक टमाटानले भने।
६ पुरानो अनुहार
नेपाल क्रिकेट संघले घोषणा गरेको विश्वकप छनोट खेल्ने १४ सदस्यीय टोलीमा यू–१९ एशिया कपमा कप्तानी सम्हालिसकेका देव खनालसँगै गुलशन झा, दुर्गेश गुप्ता, अर्जुन कुमाल, दीपेश कँडेल, विशाल विक्रम केसीजस्ता अनुभवी खेलाडी छन्। यी खेलाडीले २०७८ पुसमा मलेसियामा आयोजित यू–१९ एशिया कप खेलेका थिए।
देवको कप्तानीमा नेपाल समूह चरणका तीन खेलमा जितविहीन हुँदै बाहिरिएको थियो। त्यो प्रतियोगिताबाट बाहिरिए पनि लुम्बिनी प्रदेशबाट घरेलु प्रतियोगिता खेल्दै आएका अलराउन्डर देवले भने त्यसपछि सिनियर राष्ट्रिय टोलीमा स्थान बनाए। त्यसपछि उनले सिनियर टोलीबाट एक दिवसीय र ‘लिस्ट ए’ समेत गरी १० खेल खेल्दा दुई अर्धशतकसहित २५३ रन बनाएका छन्।
केन्या भ्रमणपछि देवले सिनियर टोलीमा स्थान बनाउन सकेका छैनन्। प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा शानदार प्रदर्शन गरे पनि लेग स्पिनर सन्दीप लामिछानेमाथि लागेको नाबालिग बलात्कारको अभियोगमा अप्रत्यक्ष रूपमा मुछिएपछि देवलाई पनि क्यानले राष्ट्रिय टोलीबाट हटाएको थियो।
यता, गुलशनले एक दिवसीय र लिस्ट ए गरी ९ खेल खेलेका छन्। उनले यी खेलमा जम्मा १३८ रन बनाएका छन्। विश्वकप छनोटअन्तर्गत फिलिपिन्सविरुद्धको टी–२० खेलका उनले ब्याटिङ गर्न भने पाएनन्।

गुलशनले यी सबै खेलमा ९ विकेट लिएका छन्। एशिया कपमा उत्कृष्ट प्रदर्शन गरेका अलराउन्डर बसिर अहमद र विवेक मगर भने टोलीमा परेका छैनन्। बसिर उमेरले १९ कटिसकेका छन्। विवेक भने टोलीमै अटाएनन्। सम्भवतः त्यहीकारण पनि मुख्य प्रशिक्षक टमाटा देव र गुलशनमाथि निर्भर र विश्वस्त देखिन्छन्।
“देव र गुलशनले टोली धान्छन् भन्नेमा म विश्वस्त छु। देवले शीर्षक्रमको महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्नेछन्, गुलशनले बलिङसँगै मध्यक्रम धान्न सक्छन्”, उनले भने।
देव र गुलशनबाहेक गण्डकी प्रदेशबाट घरेलु प्रतियोगिता खेल्दै आएका ओपनर आकाश त्रिपाठी पनि लयमा छन्। उनले प्रतियोगिताका १० खेलमा एक अर्धशतकसहित २९१ रन बनाएका थिए।
यू–१९ राष्ट्रिय प्रतियोगिताको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका सुदूरपश्चिमका ओपनरद्वय दिपक बोहरा र दीपक बोहराले उनीहरूलाई साथ दिने छन्। यी दुईले सुदूरपश्चिमका लागि ३२८ रन जोडेका थिए।

“ब्याटिङमा सबै औसत छन्, टप अर्डरले राम्रो गर्यो भने लोअर अर्डरले पनि राम्रो गर्न सक्छन् भन्ने मेरो विश्वास हो”, टमाटाले भने।
बलिङमै निर्भर
मुख्य प्रशिक्षक टमाटा आफ्नो टोलीमा बलिङ आक्रमण बलियो रहेको बताउँछन्। यसपटक हेमन्त धामी, मिलन बोहरा र दुर्गेश गुप्ताले यू–१९ विश्वकपमा नेपालको बलिङ आक्रमणको जिम्मेवारी सम्हाल्ने छन्।
सुदूरपश्चिमबाट यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलेका हेमन्तले १० खेलमा २१ विकेट लिएका थिए। उनी गण्डकी र एपीएफविरुद्धको खेलमा मात्रै विकेटविहीन रहे।
सुदूरपश्चिम प्रदेशबाटै खेलिरहेका मिलन बोहराले १० खेलमा १८ विकेट लिए। यी हेमन्त र मिलनलाई एभरेस्ट प्रिमियर लिग (इपीएल) र नेपाल टी–२० लिग खेलेको अनुभव भएका दुर्गेश गुप्ताले साथ दिनेछन्।
‘फारवेस्ट युनाइटेड’बाट पहिलो संस्करणको नेपाल टी–२० क्रिकेट प्रतियोगितामा दुर्गेशले तीन खेलमा ६४ रन दिँदै ६ विकेट लिएका थिए। अघिल्लो संस्करणमा विराटनगर ग्लाडियटर्सबाट इपीएल खेलेका उनको प्रदर्शन हेर्नलायक थियो। उनले ७ खेलमा १० विकेट लिएका थिए।
“हाम्रो बलियो पक्ष भनेकै बलिङ हो। हामीसँग गुलशनबाहेक पनि बलियो बलिङ आक्रमण छ। सबैले राष्ट्रिय प्रतियोगिताहरूमा राम्रो प्रदर्शन गरिरहेका छन्”, मुख्य प्रशिक्षक टमाटाले भने।
तस्वीरहरू : क्यान
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
