मिथिलामा विद्यालयसँगै घरमा पनि सरस्वती पूजा गर्ने परम्परा छ। त्यसैले सरस्वतीका मूर्तिको माग बढी हुन्छ।
महोत्तरी– मधेसको महोत्तरीसहित मिथिला क्षेत्रमा अहिले वसन्त उत्सवको उल्लास छ। श्रीपञ्चमी पर्वका लागि सबै आ–आफ्नो तयारी गरिरहेका छन्।
मिथिलाका कुम्हाल समुदाय सरस्वतीको मूर्तिमा आफ्नो सीप खन्याउन तल्लीन छन्। मूर्तिलाई अन्तिम आकार दिन जुटेका छन्। सरस्वती पूजाको दिन नजिकिँदै गर्दा कुम्हाललाई माटो मुछेर बनाइने देवी सरस्वतीका मूर्ति तयार गर्ने चटारो छ। वसन्त पञ्चमीसमेत भनिने माघ शुक्ल पञ्चमीका दिन उल्लासका साथ सरस्वती पूजा मनाउने मैथिल परम्परा छ।
पूजाका लागि माटो मुछेर बनाइएका मूर्तिको माग हुन्छ। त्यसैले कुम्हाललाई मूर्तिमा अन्तिम चरणको रङ भर्ने कामले छोपेको छ। कतिपय अझै मूर्तिमा विभिन्न अंगको बनोटबारे अन्तिम छाँटकाँट पनि गर्दैछन्। “आउने बिहीबार त पर्व नै हो, मूर्ति त एक दिन पहिले नै तयार भइसक्नुपर्छ”, मूर्तिमा कुचीले विभिन्न रङ भर्न व्यस्त महोत्तरी भंगाहा नगरपालिका–५ भूचक्रपुरका सीताराम पण्डित कुम्हालले भने, “दुई–चार वटा मूर्ति बिके पनि अलिकति रकमको जोहो हुन्थ्यो।
त्यसैले मूर्तिको काम चाँडै सक्नुपरेको छ।” मूर्तिमा रङ भर्न परिवारजन पनि सरिक हुने गरेका सीतारामले बताए। माटो मुछेर भाँडा, मूर्ति बनाउने पेसाका कुम्हाल अब आफ्नो पुर्ख्यौली व्यवसाय पर्वविशेषमै सीमित भएको बताउँछन्। मिथिलामा विद्यालयमात्र नभई घरमै पनि सरस्वती पूजा गर्ने परम्परा छ। त्यसैले सरस्वतीका मूर्तिको माग बढ्ने गरेको छ। “अब पहिलेजस्तो घरायसी प्रयोजनमा माटाका भाँडा प्रयोग हुन छाड्यो, त्यसैले हाम्रो सीप चाडवाड विशेषमा सीमित भएको छ”, सीतारामले भने।
सरस्वती पूजाको एक महिना पहिलेदेखि नै कुम्हालको व्यस्तता बढ्छ। मूर्तिका लागि माटो छान्ने, ओसार्ने, मुछ्ने, पराल र खरलाई मूर्ति आकार बनाएर माटो भर्ने र अन्त्यमा सरस्वतीको मूर्ति आकर्षक बनाउन विभिन्न रङ भरेर तयार गर्ने यस क्रमका काम हुन्छन्। सामान्यतः पूजामा सरस्वतीसँगै गणेशजीको मूर्तिको पनि माग हुने महोत्तरीकै लोहारपट्टी नगरपालिका–४ पिपराढीका महेश्वर पण्डित बताउँछन्।
बितेका दुई–तीन वर्ष पर्वकै मुखमा कोरोना संक्रमणका कारण पूजा समारोहसँगै मूर्तिको कारोबार पनि भएन। यसपालि भने ठाउँ–ठाउँबाट मूर्तिको माग भएको उनले सुनाए। मूर्ति र माटाका भाँडा बनाउने काम पुर्ख्यौली पेसासँग जोडिएको हुँदा त्यो परिचय थाम्न पनि अझै माटोसँग खेल्दै गरेको मनराशिशवा सहसरामका ६० वर्षीय रामविलास पण्डितले बताए। “पहिले घरायसी प्रयोजनमा माटाका गाग्री, तौला (सामान राख्ने र खाना पकाउनसमेत प्रयोग गरिने भाँडा), ढकन, अंखरा र छ्याँची (दही जमाउने भाँडा) प्रयोग हुन्थे र पो सधैँ यी सामानको बजार जम्थ्यो”, रामविलास भन्छन्, “अब दैनिक प्रयोजनमा माटाका भाँडाको ठाउँ प्लास्टिकका भाँडाले लिएपछि हाम्रो सीप पनि चाडपर्वमा खुम्चेको छ।”
घरायसी प्रयोजनमा डेक्ची, बाटा, बाल्टिन, गिलास, अंखराजस्ता भाँडामात्र नभएर बाँसको चोयाबाट बन्ने डाली, छिटी, नाङ्लो र चाल्नीसहितका सामान पनि प्लास्टिककै प्रयोग हुन थालेका छन्। माटाका भाँडा सानो असावधानीले कतै ठोक्किनासाथ फुट्ने हुँदा सर्वसाधारणको रोजाइमा प्लास्टिकका भाँडा पर्न थालेका कुम्हाल स्वयं स्विकार्छन्। दशैँमा दुर्गा, तिहारमा लक्ष्मी, श्रीपञ्चमीमा सरस्वती, भदौ शुक्ल चौथीमा गणेश, भदौ कृष्ण अष्टमीमा श्रीकृष्ण र असोज सङ्क्रान्तिमा विश्वकर्माबाबाका मूर्ति माग हुन्छन्।
यसबाहेक तिहार, छठ र चौरचनसहितका पर्वमा बत्ती बाल्ने दियो, गाग्री, तौला, दही जमाउने छ्याँची र केही सानातिना भाँडाको माग हुन्छ। पछिल्लो पुस्ताले त गुजारा नचल्ने भएपछि पुर्ख्यौली पेसा छाड्दै गएको लोहारपट्टी–४ पिपराढीकै राजकिशोर पण्डितले सुनाए। “हाम्रो बस्तीमा ४० घरजति कुम्हाल हौँला, ३० वर्षमुनिका कोही पनि माटाका मूर्ति र भाँडा बनाउने काममा छैनन्”, ६५ वर्षीय राजकिशोर भन्छन्, “हाम्रो शेषपछि यो काम पनि कसैले थेग्लान् भन्ने लाग्दैन।”
जिल्लामा अल्पसङ्ख्यक रहेको यो समुदायको जनसङ्ख्या अझै पाँच हजारमुनि छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
