विश्वप्रकाश शर्मालाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

निर्वाचन आयोगले कांग्रेस नेता विश्वप्रकाश शर्मालाई स्पष्टीकरण सोधेको छ। आगलागीपीडितलाई पैसा वितरण गरेको पाइएको भन्दै उजुरी परेकाले स्पष्टीकरण सोधेको आयोगले जनाएको छ।

निर्वाचन आयोग।

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ। आयोगले शुक्रबार महामन्त्री शर्मालाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको उजुरी परेपछि २४ घण्टे स्पष्टीकरण सोधेको हो। 

आायेगले महामन्त्री शर्माविरुद्ध आगलागीपीडितलाई पैसा वितरण गरेको पाइएको भन्दै उजुरी परेकाले स्पष्टीकरण सोधेको उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले बताए। 

झापा-१ का उम्मेदवार शर्मालाई आयोगले आगलागीपीडित केवल निरौलाको घर निर्माणको लागि अमेरिकाबाट मुनिन्द्र नेम्वाङको नेतृत्वमा जम्मा भएको २ लाख ५० हजार केवल निरौला र उनको बुबालाई हस्तान्तरण गर्दै गरेको फोटो विजय दाल्मियाले आफ्नो फेसबुक वालमा सेयर तथा पोस्ट गरेको भनी श्रव्यदृश्य सामग्रीका विषयमा आयोगबाट गठित सामाजिक सञ्जाल अनुगमन टोलीबाट अध्ययन तथा परीक्षण गर्दा गरेको होइन भन्न सकिने कुनै आधार कारण नदेखिएको भन्दै स्पष्टीकरण सोधेको जनाएको छ। 

"विश्वप्रकाश शर्माले आगलागी पीडितलाई पैसा वितरण गरेको र त्यो पैसा वितरण कार्यले निर्वाचन आचारसंहिता उल्लंघन भयो भनेर आयोगमा उजुरी प्राप्त भइसकेपछि त्यही पैसा बाँडेको विषय आचारसंहिता उल्लंघन भयो र निर्वाचनको सन्दर्भमा मतदातालाई कुनैपनि गतिविधि गरेर कुनै प्रकारले प्रभावित पार्नु हुँदैन र लोभलालच देखाउनु हुँदैन भन्ने आचारसंहिताको सन्दर्भलाई लिएर आयोगको निर्णयअनुसार उहाँलाई स्पष्टीकरण सोधिएको हो," उनले भने।

आायेगले महामन्त्री शर्मालाई उम्मेदवार रहेको जिल्लाको निर्वाचन कार्यालयमा आफैँ उपस्थित भई वा आफ्नो प्रतिनिधिमार्फत लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ। उपन्यायाधिवक्ता वाग्लेले महामन्त्री शर्माले पठाएको जवाफपछि आयोगले गहन विश्लेषण र अध्ययन गरी उचित कदम लिने स्पष्ट पारे।

उपन्यायाधिवक्ता वाग्लेले शुक्रबारसम्मको तथ्यांकअनसार निर्वाचन आयोगले विभिन्न राजनीतिक दलका उम्मेदवार, संघसंस्था, कार्यालयसमेत गरी ४८ वटालाई स्पष्टीकरण सोधेको र त्यसमध्ये ३० वटा जवाफ आएको बताए।