ग्रामीण बस्तीमा ‘साइलेन्ट किलर’ बनिरहेको चट्याङ

मकवानपुरको राक्सिराङ जस्ता बस्तीमा चट्याङ मौसमी घटना मात्र नभई नियमित त्रास बनेको छ। पछिल्ला वर्षहरूमा मानवीय र भौतिक क्षति बढिरहँदा चट्याङबाट जोगिने–जोगाउने उपाय खोजिएको छैन।

राक्सिराङ, मकवानपुर– २०८२ असार १३ गते साँझको ६ बजे एनोस कामबाट भर्खरै फर्किएका थिए। श्रीमती रुबिना पिँडीमा बसेकी थिइन्। छेउमा ६ वर्षकी छोरी एनिका खेल्दै थिइन्। 

मकवानपुर, माइसिराङको आकाशमा बिजुली चम्किन थाल्यो। गड्याङगुडुङ गर्दै पानी पर्‍यो। त्यसैबेला परेको चट्याङ लागेर रुबिना र एनिका भुइँमा लडे।

अचेत अवस्थामा अस्पताल पुर्‍याइएका आमा–छोरीमध्ये एक हप्तापछि रुबिना मात्रै घर फर्किइन्। एनिकाको ज्यान जोगिएन। छोरीको सद्गत गरेपछि रुबिना माइती गइन्।

“छोरीलाई चट्याङले खोस्यो, श्रीमती घर आउन मान्दिनन्” २८ वर्षीय एनोस भन्छन्, “कुखुरा र बाख्रा हेर्नु नपर्ने भए म पनि यो बाटै हिँड्दिन्थेँ।” 

माइसिराङकै ६९ वर्षीय सीताराम स्याङ्तानले त तीन पटक चट्याङको झट्का ब्यहोरिसके। करिब पाँच वर्षअघि मनहरि बजारबाट किनमेल गरेर घर पुगेका सीताराम भित्र पस्नै लाग्दा चट्याङले लाग्यो। 

“असारको महिना हो। म घरभित्रै थिएँ। दुई जना भरिया र उनी यहीँनेर ढले,” सीतारामकी श्रीमती कान्छीमाया सम्झन्छिन्, “उनीहरूलाई बँदिया खर (घर छाउने खर) बालेर धुवाँ सुँघाएपछि होस आयो।” माइसिराङतिर अझै पनि चट्याङ लागेर बेहोस भएका व्यक्तिलाई खरको धुवाँ सुँघाइदिएपछि होस फर्किन्छ भन्ने विश्वास गरिन्छ।   

null

स्थानीय गुनबहादुर गोलेका अनुसार २०३५ सालमा पनि सीताराम चट्याङबाट प्रभावित भएका थिए। सीतारामकै पसलमा ओत लागेका बेला उनीहरूमाथि चट्याङ परेको थियो। त्यसअघि २०३२ सालमा पनि चट्याङ लागेको सीताराम सुनाउँछन्। भन्छन्, “धन्न, अझै सग्लै छु।”

सीतारामको जस्तै कथा मकवानपुरका धेरै गाउँहरूमा छ, जहाँ आकाश गर्जनासाथ त्रास फैलिन्छ। तर सरकारसँग न समयमै सूचना दिने प्रविधि छ, न नागरिकलाई चट्याङ लागेर घाइते भएपछि उपचारमा सहज पहुँच।

उच्च जोखिममा मकवानपुर
मकवानपुरमा चट्याङ मौसमी घटना मात्र होइन, नियमित जनधनको क्षति निम्त्याउने विपद्का रूपमा देखिन थालेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार जिल्लामा चट्याङका घटना र त्यसबाट हुने मानवीय क्षति बढ्दो क्रममा छ।

राक्सिराङ गाउँपालिकामा मात्र २०७८ देखि २०८२ सम्म पाँच वर्षको अवधिमा चट्याङ लागेर नौ जनाको मृत्यु भएको छ। प्राधिकरणका अनुसार यही अवधिमा मकवानपुर जिल्लाभर १७ जनाको चट्याङ लागेर मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन्। 

यो अवधिमा जिल्लाभरमा ६६ वटा चट्याङका घटना रेकर्ड भएका छन्। चट्याङकै कारण हरेक वर्ष मानवीय र भौतिक क्षति बढिरहेको तथ्यांकबाटै देखिन्छ। 

null

प्राधिकरणको तथ्यांक अनुसार मकवानपुरमा २०७८ सालमा ७ वटा चट्याङका घटना भएकामा २०८१ र २०८२ मा २१–२१ वटा घटना भएका छन्। पछिल्ला १२ वर्षको तथ्यांक झन् चिन्ताजनक छ।

त्रिभुवन विश्वविद्यालय, नेपाल जियोग्राफी स्टुडेन्ट एसोसिएसनले सन् २०२४ मा गरेको अध्ययनले पनि मकवानपुरलाई देशको उच्च जोखिमयुक्त जिल्ला मानेको छ। अध्ययन अनुसार सन् २०११ यता मात्रै जिल्लामा चट्याङका कारण ८३ जनाको मृत्यु भएको छ, २९६ जना घाइते भएका छन्। अध्ययनले विशेष गरी जिल्लाको दक्षिण–पूर्वी क्षेत्रमा चट्याङको गतिविधि बढी केन्द्रित हुने देखाएको छ।

जलवायु परिवर्तन, चुरे क्षेत्रको भू–बनोट, प्रि–मनसुन अवधिमा बढ्ने वायुमण्डलीय अस्थिरता र स्थानीय मौसममा आउने परिवर्तनका कारण मकवानपुरमा चट्याङको जोखिम लगातार बढिरहेको जलवायुविज्ञ मधुकर उपाध्या बताउँछन्। 

नेपालमा कार्यरत विपद् जोखिम न्यूनीकरण तथा विद्युत्–बज्रपात सम्बन्धी अनुसन्धानमा संलग्न तथा सरोकारवाला संस्थाहरू पनि आँधीहुरी र चट्याङ सम्बन्धी गतिविधि अझ तीव्र बनिरहेको निष्कर्षमा पुगेका छन्।

प्राधिकरणको तथ्यांक अनुसार पछिल्ला ११ वर्षमा सबैभन्दा धेरै चट्याङ मकवानपुरमा परेको छ। मानवीय क्षति पनि मकवानपुरमै बढी छ। यो अवधिमा जिल्लाभर चट्याङकै कारण ७५ जनाको मृत्यु भएको छ। ६ वर्षअघि एकै दिन चट्याङबाट पाँच जनाको ज्यान गएको थियो। जिल्ला प्रशासन कार्यालय मकवानपुरको तथ्यांक केलाउँदा थाहा हुन्छ, मृत्यु हुनेहरू अधिकांश ग्रामीण क्षेत्रका बासिन्दा छन्। 

नेपालमा चट्याङसम्बन्धी अनुसन्धान गरेका विज्ञ डा. श्रीराम शर्माले शहरका पक्की संरचनामा चट्याङले क्षति कम गर्ने बताए। “ग्रामीण क्षेत्रका कच्ची घरमा सजिलै चट्याङ प्रवेश गर्न सक्छ। शहरमा धेरै संरचना चट्याङ प्रतिरोधी र घरहरू बलिया हुने कारणले क्षति कम हुन्छ”, उनले भने।

स्थानीय तह र प्रहरी कार्यालयबाट प्राप्त सूचनाका आधारमा प्राधिकरणले तथ्यांक संकलन गर्छ। दूरदराजमा भएका कतिपय घटना र क्षतिको विवरण त स्थानीय सरकार वा प्रहरीसम्म पुग्दैन।

राक्सिराङ गाउँपालिकाका सूचना अधिकारी गोविन्द अधिकारीका अनुसार ४ र ६ नम्बर वडाबाट अहिले पनि क्षतिको जानकारी प्राप्त गर्नै समस्या छ। “मृत्यु भएका व्यक्तिको रेकर्ड वडासम्म आइपुग्छ” उनी भन्छन्, “घाइते भएका र चट्याङका घटना टिपाउन कोही आउँदैनन्।”

null

उपचार र राहत 
चट्याङ लागेर बाँचेका धेरै पीडितले वर्षौंसम्म शारीरिक र मानसिक समस्या भोगिरहनुपरेको चिकित्सकहरू बताउँछन्। तर ग्रामीण क्षेत्रमा यसलाई गम्भीर स्वास्थ्य समस्याका रूपमा नलिने प्रवृत्ति अझै व्यापक छ।

हेटौँडा अस्पतालका जनरल फिजिसियन डा. घनश्याम शाह उपचारका लागि आउने बिरामीको छाला पोलेको, सुन्ने क्षमतामा कमी, शरीर दुख्ने, डर लाग्ने, निद्रा नलाग्ने जस्ता समस्या देखिएको बताउँछन्। “गम्भीर चोट नलाग्दासम्म धेरैजसो बिरामी अस्पताल आउँदैनन्,” उनी भन्छन्, “आउनेहरू पनि लामो समयदेखि दुःख सहेर बसेकाहरू हुन्छन्।”

चट्याङको प्रभाव तत्काल देखिने शारीरिक चोटमा मात्र सीमित हुँदैन। पीडितले महिनौँ र वर्षाैंसम्म नसा सम्बन्धी समस्या, सुन्ने क्षमतामा कमी, मानसिक तनाव र दैनिक जीवनमा असहजता भोगिरहेका हुन्छन्। यसको संकेत गत वर्ष माइसिराङ गाउँपालिकाको वडा नम्बर ६ र ७ मा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा पनि देखियो। हेटौँडा अस्पतालका मेडिकल अधिकृत योगकेहर श्रेष्ठका अनुसार शिविरमा जाँच गराएका १९ जनालाई सुन्न सहयोग पुग्ने उपकरण (हियरिङ एड) जडान गर्नुपरेको थियो। 

तर यस्ता समस्या भोग्ने अधिकांश ग्रामीण क्षेत्रका बासिन्दा नियमित उपचारको पहुँचबाट टाढा छन्। आर्थिक अवस्था कमजोर भएका कारण धेरैले स्वास्थ्य जाँचसमेत गराउँदैनन्।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ ले प्रत्येक प्रदेश र स्थानीय तहमा विपद् व्यवस्थापन कोष रहने व्यवस्था गरेको छ। विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७९ अनुसार विपद्बाट घाइते भएकाहरूको उपचार खर्च स्थानीय तहले व्यहोर्न सक्ने व्यवस्था छ। तर व्यवहारमा यो सुविधा सबै पीडितसम्म पुग्न सकेको छैन।

null

राक्सिराङ गाउँपालिकाको अभिलेख अनुसार गत वर्ष चट्याङबाट चार जना घाइते भएका थिए। तर स्थानीय अधिकारीहरू वास्तविक संख्या धेरै हुनसक्ने बताउँछन्।

“धेरैजसो घाइतेले घटना नै दर्ता गराउँदैनन्” गाउँपालिकाका स्वास्थ्य संयोजक विजयकुमार कापरी भन्छन्, “कसैले सामान्य चोट ठानेर बस्छन् र उपचार गराउँदैनन्।”

सहायक लेखा अधिकृत चन्द्रलाल लामाका अनुसार गाउँपालिकाको सम्पर्कमा आएका गम्भीर घाइतेहरूलाई पोहोर वडाको सिफारिशमा जनही २५ हजारका दरले राहत रकम वितरण गरिएको थियो। 

मकवानपुरगढी गाउँपालिकामा गत वर्ष १० जनाले चट्याङबाट घाइते भएको बिवरण टिपाएका थिए। सूचना अधिकारी ध्रुवप्रसाद लामिछानेका अनुसार घाइतेहरूलाई प्रतिव्यक्ति १५ हजार रुपैयाँका दरले उपचार खर्च दिइएको थियो। 

देशभर चट्याङ
चट्याङ मकवानपुरको मात्र समस्या होइन। पछिल्ला वर्षहरूमा देशभर यसको प्रभाव बढेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०८२ मा मात्रै देशभर ३९३ वटा चट्याङका घटना रेकर्ड भएका छन्। ती घटनामा ४८ जनाले ज्यान गुमाएका छन् भने २९२ जना घाइते भए।

लामो अवधिको तथ्यांक हेर्दा समस्या अझ गम्भीर देखिन्छ। २०७० देखि २०८२ सम्मको १२ वर्षमा देशभर ३ हजार ३८६ वटा चट्याङका घटना भएका छन्। ती घटनामा १ हजार ७३ जनाको मृत्यु भएको छ भने ३ हजार ४०८ जना घाइते भएका छन्। यस अवधिमा ४ हजार २९४ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।

चट्याङले मानव जीवन मात्र होइन, भौतिक संरचनामा पनि ठूलो क्षति पुर्‍याएको छ। यो १२ वर्षको अवधिमा ३९० घरमा चट्याङले क्षति पुर्‍याएको छ भने १०४ घर पूर्ण रूपमा नष्ट भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ। चट्याङकै कारण ११ करोड ८२ लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ। 

तथ्यांकले दिएको अर्को चिन्ताजनक संकेत हो, चट्याङका घटनाको निरन्तर वृद्धि। २०७७ सालमा देशभर २७८ वटा घटना रेकर्ड भएकोमा चार वर्षपछि, २०८१ मा यो संख्या बढेर ४३६ पुग्यो।

दक्षिण एशियामा चट्याङको उच्च जोखिम भएका देशमध्ये नेपाल पहिलो नम्बरमा छ। तर जोखिम उच्च भए पनि पूर्वसूचना, जनचेतना, प्रतिरोधी संरचना र अनुसन्धानमा गरिएको लगानी पर्याप्त छैन।

null

किन बढिरहेछ चट्याङ
चट्याङसम्बन्धी अनुसन्धानहरूले नेपाल विश्वकै उच्च जोखिमयुक्त मुलुकमध्ये एक रहेको देखाएका छन्। नेपालको भौगोलिक बनोट, मनसुनी प्रणाली, हिमाल र तराईबीचको तापक्रम भिन्नता तथा तीब्र मौसमी परिवर्तनका कारण यहाँ चट्याङका लागि अनुकूल अवस्था बारम्बार बन्ने विज्ञहरूको निष्कर्ष छ।

द साइन्टिफिक वल्र्ड जर्नलमा प्रकाशित त्रिचन्द्र क्याम्पसका सहप्राध्यापक डा. पितृभक्त अधिकारीको अध्ययन ‘द रिपोर्ट अफ लाइटनिङ इन हिमालयन लोकेल’ का अनुसार सन् २०११ देखि २०२१ सम्म रेकर्ड भएका घटनामध्ये सबैभन्दा धेरै सन् २०१९ मा थियो। त्यस वर्ष ३८३ वटा घटना रेकर्ड भएका थिए। 

पछिल्ला वर्षहरूमा नेपालमा चट्याङका घटना मात्र बढेका छैनन्, त्यसबाट हुने मानवीय र आर्थिक क्षति पनि बढिरहेको छ। विज्ञहरू यसको प्रमुख कारण जलवायु परिवर्तन, बढ्दो तापक्रम र वायुमण्डलीय अस्थिरतालाई मान्छन्।

विश्व मौसम विज्ञान संगठन (डब्लूएमओ)ले हालसालै सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०१५ देखि २०२५ सम्मको अवधिलाई मानव इतिहासकै सबैभन्दा तातो दशकका रूपमा उल्लेख गरेको छ। प्रतिवेदन अनुसार २०२४, २०२३ र २०२५ क्रमशः पहिलो, दोस्रो र तेस्रो सबैभन्दा तातो वर्ष बनेका छन्।

विश्वव्यापी तापक्रम बृद्धिको प्रभाव नेपालमा पनि देखिन थालेको छ। अमेरिकी अन्तरिक्ष अध्ययन सम्बन्धी संस्था नासाले सन् २०२२ मा दक्षिण एशियामा गरेको उपग्रह–आधारित अध्ययनले पछिल्ला दुई दशकमा चट्याङको घनत्व निरन्तर बढ्दो क्रममा रहेको देखाएकोे छ। अध्ययन अनुसार सतहको तापक्रम बृद्धि, समुद्री सतहको तापक्रममा आएको परिवर्तन तथा वायुमण्डलीय अस्थिरताले चट्याङको सम्भावना बढाइरहेका छन्।

null

नेपालमा विशेषगरी प्रि–मनसुन (चैत–जेठ) महिनामा यसको तीब्रता बढी देखिन्छ। विज्ञहरूका अनुसार बढ्दो गर्मी, आद्र्रता र अस्थिर मौसम प्रणालीले तीब्र मेघ गर्जनयुक्त बादल बढाउँदै चट्याङको जोखिमलाई अझ उच्च बनाइरहेका छन्।

जल तथा मौसम विज्ञान विभागको विश्लेषण (१९७१–२०१४) अनुसार नेपालमा वार्षिक अधिकतम तापक्रम प्रति वर्ष करीब ०.०५६ डिग्री सेल्सियसका दरले बढेको देखिन्छ। पछिल्ला रिपोर्टहरू (२०२३–२०२५) ले पनि देशभर औसतभन्दा उच्च तापक्रम मापन भएको देखाएका छन्। 

सुरक्षित हुने उपाय
नेपालमा चट्याङबाट हुने क्षति न्यूनीकरणबारे चर्चा बढे पनि व्यवहारमा यसको प्रयोग अझै सीमित छ। चट्याङबाट बच्न प्रयोग गरिने सबैभन्दा प्रभावकारी प्रविधिमध्ये एक हो— लाइटनिङ अरेस्टर। लाइटनिङ अरेस्टरले चट्याङको विद्युत् धारलाई जमिनतर्फ प्रवाह गराएर क्षतिबाट जोगाउँछ। भवन, विद्यालय, सञ्चार टावर, विद्युत् सबस्टेसन तथा अन्य महत्वपूर्ण संरचनामा यसको प्रयोग विश्वभर सामान्य मानिन्छ। चट्याङका घटनाहरू बढी हुने खुला स्थानमा समेत ‘लाइटनिङ अरेस्टर’ पोल स्थापना गरी जोखिम कम गर्न सकिन्छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको १६ नम्बर वडाका झण्डै आधा दर्जन स्थानमा लाइटनिङ अरेष्टर पोल जडान गरिएको छ। 

२०८० सालमा पहिलो पटक रेडक्रसकोे सहयोगमा यो प्रविधि जडान गरिएको थियो। वडाअध्यक्ष डण्डबहादुर विश्वकर्मा भन्छन्, “अन्य पाँच बस्तीहरूमा वडाकै बजेटबाट लाइटनिङ अरेस्टर राखेका छौँ। अहिले चट्याङबाट हुने क्षतिमा कमी भएको छ।” 

शहरी विकास तथा भवन निर्माण विभागका इन्जिनियर प्रमोद शर्माका अनुसार सामान्य घरमा समेत तुलनात्मक रूपमा कम खर्चमा अर्थिङ र लाइटनिङ अरेस्टर जडान गर्न सकिन्छ। “शुरूआती चरणमा आठ–दश हजार रुपैयाँ खर्च गरेर पनि आधारभूत सुरक्षा प्रणाली जडान गर्न सकिन्छ”, उनी भन्छन्। 

जमिनको बनोट, घर तथा संरचनाका आधारमा फरक फरक बनोट र किसिमका चट्याङ अरेस्टर जडान गर्न सकिने उनले जानकारी दिए। 

null

स्थानीय बासिन्दाको दबावपछि राक्सिराङ गाउँपालिकाले दुई वर्षअघि लाइटनिङ अरेस्टर जडान गर्नका लागि आधा रकम अनुदान दिने कार्यक्रम ल्याएको छ। १४ हजार रुपैयाँ मूल्य पर्ने यो प्रणाली घरमा जडान गर्न व्यक्ति स्वयंले ७ हजार रुपैयाँ व्यहोर्नुपर्छ। 

जनसंख्याको ठूलो हिस्सा गरिबीको रेखामुनि रहेको यस क्षेत्रका बासिन्दामा यो कार्यक्रमको आकर्षण भने देखिएको छैन। २०७८ को जनगणना अनुसार २५ हजार ९९६ जनसंख्या रहेको राक्सिराङ गाउँपालिकामा करिब १७ हजार जनसंख्या गरिबीको रेखामुनि छ। त्यही कारण अहिलेसम्म गाउँपालिकाभर ९३ घरमा मात्रै लाइटनिङ अरेस्टर जडान भएको छ। 

अधिकांश स्थानीय बासिन्दा आफ्नो आर्थिक अवस्था कमजोर भएका कारण पालिकाले उक्त प्रणाली निःशुल्क जडान गरिदिनुपर्ने माग राख्दै आएका छन्। तर, गाउँपालिका अध्यक्ष राजकुमार मल्ल सीमित बजेट र खर्च गर्नुपर्ने क्षेत्र असीमित भएका कारण पालिकाले चाहेर पनि चट्याङ प्रतिरोधी प्रणाली निःशुल्क वितरण गर्न नसक्ने बताउँछन्। 

चट्याङबाट हुने क्षति न्यूनीकरणमा पूर्वसूचना प्रणालीलाई सबैभन्दा प्रभावकारी उपायमध्ये एक मानिन्छ। मकवानपुरको राक्सिराङ गाउँपालिका–५ चैनपुरस्थित श्री प्रजा जागृति माध्यमिक विद्यालयमा गत वर्ष चट्याङ पूर्वसूचना प्रणाली जडान गरिएको छ।

‘पिपुल इन निड’को आर्थिक सहयोग र साउथ एशियन लाइटनिङ नेटवर्कको प्राविधिक सहकार्यमा सञ्चालन गरिएको यो प्रणाली नेपालका ग्रामीण क्षेत्रमा गरिएका सीमित प्रयोगमध्ये एक हो। प्रणाली अन्तर्गत एक मुख्य सेन्सर र आठ वटा साइरन जडान गरिएको छ।

विज्ञ डा. श्रीराम शर्माका अनुसार बादलभित्र विद्युतीय चार्ज खतरनाक स्तरमा पुग्न थालेपछि सेन्सरले संकेत दिन्छ र साइरन बज्छ। तर प्रविधि जडानले मात्रै समस्या समाधान गर्न सकेकोे छैन। राक्सिराङ गाउँपालिकाका प्रवक्ता हरि प्रजाका अनुसार साइरन बज्दा के गर्ने भन्ने विषयमा अझै धेरै मानिस प्रष्ट छैनन्।

“साइरन बजेको थाहा हुन्छ” उनी भन्छन्, “तर कहाँ जाने, कसरी सुरक्षित हुने भन्ने अलमल छ।” यहाँ मुख्य समस्या के भने सेन्सरले सूचना एक ठाउँबाट लिन्छ तर, साइरन आठवटै वडामा बज्छ। 

null

विज्ञहरूका अनुसार बिहानको समयमा खेतको काम गरेर दिउँसो २ बजेपछिको समय चट्याङ प्रतिरक्षा प्रणाली जडान भएका र सुरक्षित घरमा बस्ने हो भने मानवीय क्षति घटाउन सकिन्छ। डा. शर्मा भन्छन्, “मनसुनका बेला सम्भव भएसम्म खेतबारीको काम बिहान गर्ने र साँझपख सुरक्षित ठाउँमा रही अन्य काम गर्दा जोखिम कम हुन्छ।”

त्यस्तै, चट्याङ पर्ने सम्भावना देखिएमा रूखमा ओत नलाग्ने, अग्ला संरचनाको छेउमा नजाने, घरभित्र भए भित्ता, झ्याल र ढोकामा नटाँसिने, विद्युतीय उपकरणहरूका स्वीच अफ गर्ने जस्ता सावधानीले पनि जोखिम कम हुने विज्ञहरू बताउँछन्। 

नीतिमा प्रतिबद्धता, कार्यान्वयनमा कमजोरी
जल तथा मौसम विज्ञान नीति, २०८१ ले आधुनिक पूर्वसूचना प्रणाली बिस्तार गर्ने लक्ष्य राखेको छ।

देशभर ६०० भन्दा बढी मौसम मापन केन्द्र, २०० भन्दा बढी जलमापन केन्द्र र तीन वटा मौसम राडार सञ्चालनमा छन्। बाढी, वर्षा, आँधी, पहिरो, हिमपहिरो, डढेलो र अन्य विपद्का लागि विभिन्न पूर्वसूचना प्रणाली पनि विकास गरिएका छन्। तर चट्याङको हकमा अवस्था फरक छ। जल तथा मौसम विज्ञान विभागसँग अहिले राष्ट्रियस्तरमा प्रभावकारी चट्याङ पूर्वसूचना प्रणाली सञ्चालनमा छैन।

करीब सात वर्षअघि काठमाडौँ, पोखरा, विराटनगर, तुम्लिङटार, सिमरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा चट्याङ पूर्वसूचना दिने उपकरण जडान गरिएको थियो। चट्याङ पर्नुभन्दा करीब १५ मिनेटअघि चेतावनी दिनसक्ने अपेक्षा गरिएका ती प्रणाली स्थापना भएको केही समयमै बेकामे भए। विभागका एक मौसमविद्का अनुसार दक्ष जनशक्तिको अभाव र मर्मतसम्भारको कठिनाइका कारण प्रणालीले काम दिएन। 

जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेल पनि चट्याङ पूर्वसूचनाको क्षेत्रमा अझ धेरै काम गर्न बाँकी रहेको स्वीकार गर्छिन्। “हामीसँग भएका उपकरणलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सकेको भए धेरै सहज हुन्थ्यो,” उनी भन्छिन्, “चट्याङ पूर्वसूचनालाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता छ।”

नेपालमा बाढी, पहिरो र भूकम्पले जति सार्वजनिक ध्यान पाउँछन्, चट्याङले त्यति पाउँदैन। तर, वार्षिक रूपमा हुने क्षति हेर्दा चट्याङलाई बेवास्ता गर्न मिल्ने अवस्था छैन। “चट्याङ साइलेन्ट किलर जस्तै बनेको छ,” डा. श्रीराम शर्मा भन्छन्, “अचानक आउँछ, मानिसको ज्यान लिन्छ र घटना सकिन्छ। धेरैजसो अवस्थामा राज्यको ध्यानसमेत पुग्दैन।”

उनका अनुसार पूर्वसूचना प्रणाली, चट्याङ प्रतिरोधी संरचना, जनचेतना र वैज्ञानिक तथ्यांक व्यवस्थापनलाई सँगसँगै अघि बढाउन सके मात्रै जनधनको क्षति उल्लेख्य रूपमा घटाउन सकिन्छ। नत्र माइसिराङकी एनिका जस्ता बालबालिका र देशभरका सयौँ परिवारले चट्याङको मूल्य आफ्नै जीवनबाट तिरिरहनुपर्ने छ।

(यो रिपोर्ट सापकोटाले खोज पत्रकारिता केन्द्रका लागि तयार पारेकी हुन्।)