विमान दुर्घटनामा मृत्यु हुनेका परिवारलाई भेटेर प्रधानमन्त्रीको सान्त्वना

प्रधानमन्त्री दाहालले महाराजगन्जस्थित टिचिङ अस्पताल पुगी विमान दुर्घटनामा ज्यान गुमाएका यात्रुका परिवारसँग भेट गरी आवश्यक सहयोग गर्ने आश्वासन दिएका छन्।

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले महाराजगन्जस्थित टिचिङ अस्पताल पुगी यती एयरलाइन्सको विमान दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग बिहीबार भेट गरेका छन्।

प्रधानमन्त्री दाहालले अस्पतालसँग शव पहिचानको अवस्थाबारे पनि जानकारी लिए। दाहालले शव पहिचान वैज्ञानिक बनाउन र छिटो परिवारलाई हस्तान्तरण गर्न पनि निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री दाहालले शव पहिचान छिटो सक्न सरकारको तर्फबाट चाहिने सहयोग माग्न पनि अस्पतालका पदाधिकारीलाई आग्रह गरे। सो क्रममा प्रधानमन्त्रीले पहिचानका लागि राखिएका शवको निरीक्षण पनि गरेका थिए।

उनले मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै शव बुझाउने प्रक्रिया तीव्र बनाउन आफूले निर्देशन दिएको जानकारी दिए। साथै, परिवारका सदस्यलाई आवश्यक सहयोगका लागि सम्बन्धित निकायममा निर्देशन दिएको पनि प्रधानमन्त्री दाहालले जानकारी दिए।