अस्पतालमा आफन्तको पीडा : घरी रुवाबासी, घरी नाराबाजी

यती एयरलाइन्सको विमान दुर्घटनाममा परेर निधन भएकाको शव पहिचान र पोस्टमार्टममा ढिलाइ भएको छ। कतिपय शवको पहिचान नभएपछि काठमाडौँ पठाउनु परेका कारण आफन्त अझै अस्पताल परिसरमा छन्।

पोखरा- एम्बुलेन्स साइरन बजाएर हुइँकिदै आउँथे। पश्चिमाञ्चल क्षेत्रीय अस्पताल परिसरमा शोकमा डुबेकाहरू जर्‍याकजुरुक उठ्थे। एम्बुलेन्सले एउटा शव छाड्थ्यो र उसैगरी दौडिएर जान्थ्यो।

शव पाउने आफन्त डाँको छाडेर रुन्थे। अरू भने फेरि निराश भएर बस्थे। मंगलबार दिनभरि अस्पताल परिसरमा यही दृश्य देखियो। शव पहिचान नभएर काठमाडौँ पठाइएका कारण केही आफन्तले त अझै अस्पताल छाडेका छैनन्। शव पहिचान र पोस्टमार्टममा ढिलाइ हुँदा पीडामाथि पीडा थपिएको उनीहरूको गुनासो छ।

सेती खोँचमा दाजुभाउजू अस्ताएपछि रोशन गुरुङ अत्यासमा थिए। भाउजू सीता गुरुङको पहिचान खुल्यो। दाइ बेलमान गरुङको सनाखतका लागि भने शव काठमाडौँ पठाउनु पर्ने भएपछि उनी निराश थिए। तर सरकारलाई पनि काम गर्न दिनुपर्ने भन्दै उनी संयम देखिए।

“यहाँ नहुने चिज हामीले पनि बुझ्नुपर्छ। समस्या खडा गरेर पनि केही हुनेवाला छैन। जाने मान्छे गइसकेको छ”, रोशनले भने, “उहाँहरुले शवै नउठाएको भए अब्जेक्सन गर्ने कुरा हुन्थ्यो। अझै एक हप्ता लाग्न सक्छ भनेका छन्।”

शव ढिला पाउँदा कतिपयले श्रद्धान्जलीका लागि हातमा बोकेको फूल पनि ओइलाइसकेको थियो। शवको पहिचान ढिलाइ हुँदा आफन्तले नाराबाजीसमेत गरेका थिए।

लोकगायिका निरा छन्त्यालको शव बुझ्न आफन्त गोविन्द पुनमगर अस्पतालबाहिर बसेका थिए। उनी भन्दै थिए, “कतिबेला पालो आउँछ थाहा छैन, अझै ४५ मिनेट लाग्छ भनेका छन्।”

निराको शव पोस्टमार्टमपछि श्रद्धाञ्जली सभाका लागि पनि लैजाने योजना थियो। तर पोस्टमार्टममा ढिलाइ भएको भन्दै मृतकका आफन्त रुष्ट थिए। शव पहिचानमा ढिलाइ गरेको आरोपमा सोमबार आफन्तले अस्पताल परिसरमै नाराबाजीसमेत गरे। उनीहरूले निराको शव मंगलबार साँझ पाएका थिए।

यती एरलाइन्सको विमान दुर्घटनामा परेर निधन भएका २२ शवको पोस्टमार्टम सो अस्पतालमा भएको थियो। मंगलबार साँझसम्म सबै शव पोस्टमार्टम गरेर आफन्तलाई बुझाइएको छ। ४८ शव काठमाडौँ लगिएको छ। 

अस्पतालका निर्देशक डा. भरत खत्रीका अनुसार शवको थप एउटा पोको पनि काठमाडौँ पठाइएको छ। उक्त पोकोमा दुई वटा शव रहेको वा एउटै हो भन्ने नखुलेको खत्रीले बताएका थिए। तर यती एयरलाइन्सले विज्ञप्ति प्रकाशित गरेर शव एक जनाकै भएको र बेपत्ता बाँकी एक जनाको खोजी भइरहेको जनाएको छ।

शव एकैपटक नभेटिँदा र पहिचानमा समस्या हुँदा क्षेत्रिय अस्पतालमा बसेका आफन्तले सास्ती खेप्नु परेको थियो। अस्पतालमा अव्यवस्था भएको भन्दै आफन्तहरू आक्रोश पोखिरहेका हुन्थे। शव पाएपछि भने डाँको छाडेर रुन्थे। यो दृश्यले अस्पताल परिसर पुग्ने पनि सोमबार र मंगलबार निकै भावुक भएका थिए। 

यतीको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै माघ १ गते दुर्घटना भएको थियो। दुर्घटनामा ६८ यात्रुसहित चालक दलका चार जना परेका थिए। तीमध्ये ७१ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ। बाँकी एक जना बेपत्ता छन्।

दुर्घटनापछि शव संकलन गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको थियो। पोखरा र आसपास घर भएका आफन्तले शव त्यहीँबाट बुझेका थिए। पहिचान नभएका, पोखरा तथा आसपासभन्दा बाहिर घर भएका तथा विदेशीको शव काठमाडौँ पठाइएको छ।

रोशनले भाउजूको शव पाए पनि दाजुको शव पहिचान हुन नसक्दा अझै पर्खनुपर्ने भएको छ। उनीहरूले शवलाई चाँडो सद्‍गत गरेर घाउ ओभानो बनाउन पाएनन्। चाँडो गरिदेउ भनेर ढिपी गरेर पनि केही उपाय नलाग्ने सत्य रोशनले स्वीकारेका छन्। 

डीएनएका लागि दुई जना आफन्त काठमाडौँ गएका छन्। “जर्बजस्ती गरेर पनि भएन, अरूको शव बुझ्ने कुरा पनि भएन। शव नै नचिनिएपछि पर्खनुको विकल्प छैन”, उनले भने। 

उनका दाजु बेलमानको शव पाइलटसँग मिलेछ। “उद्दारकर्ताले पकेटमा मोबाइल पनि भेटेका थिए रे, तर ठ्याक्कै नछुट्टिएपछि काठमाडौँ पठाएका छन्।”

टेकबहादुर गुरुङका बहिनी र ज्वाइँ हुन् बेलमान र उनकी श्रीमती सीता। “मेरो बहिनी ज्वाँइको शव अब घर लैजाने कि सिधै घाट लाने अहिलेसम्म केही थाहा छैन”, उनले भने, “शव चाँडो सद्गत गर्न पाए  हुन्थ्यो भन्ने लागेको हो। बहिनीको शव पहिचान भयो। ज्वाँइको हुन सकेन। बताएर साध्य छैन के भयो भयो।”

सनाखत गरिएका २२ शवमध्ये ओममाया गुरुङ, पुजन राना र एस्मिन गुरुङका मामा रुद्र गुरुङ पोस्टमार्टम घरअघि भेटिए। आमा र दुई भान्जी गुमाएका रुद्रलाई प्रियजन गुमाउनुपर्दाको पीडा त छँदैथियो, पोस्टमार्टम घरको चक्कर लगाउँदालगाउँदा थकित देखिन्थे। “भान्जीका बुवाआमाले शव सद्‍गत नगरिदिनू एकपटक हेर्छौं भनेका छन्। उनीहरु आउँदै छन्। शव यहाँबाट लगेर घरमा राख्न आइसबक्स रेडी पारेर राखेका छौँ”, उनले भने। 

पुजन हङकङबाट आउँदै थिइन्। उनलाई लिनका लागि एस्मिन र हजुरआमा शुक्रबार काठमाडौँ पुगेका थिए। शनिबार पुजन आइन्। फर्किदाँ दुई नातिनी र हजुरआमा कहिले नफर्किनेगरी सेती खोँचमा अस्ताए। 

पुजन वर्षदिनमा मामाघर आउनेगर्थिन्। एस्मिन मामाघरमै बसेर पढ्थिन्। 

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा. खत्रीका अनुसार सनाखत हुन नसकेका शवको डीएनए जाँचिनेछ। त्यसपछि मात्र आफन्तलाई दिइनेछ।