जेरन्टोक्रेसीको अन्त्य: युवा पुस्तालाई धन्यवाद

जीर्णतन्त्रले वास्तविकता र यर्थाथ अझै तोडमरोड गर्दैछ। अझै जेनजीलाई सरापेर बसेको छ। ऊ निर्लज्ज जेरेन्टोक्रेटिक चरित्र देखाइरहेको छ।

खासमा नेपाली जेनजी आन्दोलनले हालकै संसदीय प्रणालीभित्र शासकीय सुशासन खोजेको थियो। यसैलाई संस्थागत गर्ने अपेक्षा बोकेको प्रतिनिधिसभा निर्वाचन–२०८२ ले धेरै युवा नेतृत्व (जेनजी पुस्ता) यो संसद्मा ल्यायो। यही संसदीय व्यवस्थाले आर्थिक–प्रशासनिक सुशासन, विधायिकी सृजनशीलता, योग्यता प्रणाली र नीतिगत उत्पादनशीलता यदि इमानदारितासहित अपनायो भने पनि धेरै हदसम्म राज्यले जनपक्षीय कार्यहरू गर्न सक्छ। जहाँसम्म सुशासनको मुद्दा छ, जीर्ण पुस्ताले यही नगरेकाले नै युवापुस्ताले नेतृत्व र नीति परिवर्तन खोजेको हो नेपालमा। 

हाम्रो राजनीतिको क्यान्सर रोग मानिने जीर्णहरूको एकाधिकारलाई यस निर्वाचनले अब विस्थापन गर्‍यो पनि। अर्थात् नेपालको अहंकारी बुढो–प्रौढतन्त्रीय (जेरन्टोक्रेसी) शासनलाई नव–युवाहरूले ढलाए। अब तरुणतन्त्र  (युवातन्त्र–निओक्रेसी/पेडोक्रेसी) ले राजकाज गर्ला र देश असल बाटोमा हिँड्ला। यसरी लामो समयदेखि जरा गाडेको अनुत्पादक दलीय जेरेन्टोक्रेसीको कब्जाबाट देशलाई मुक्त गराएकोमा धेरै धेरै धन्यवाद छ जेनजी तिमीहरूलाई।

वास्तवमा नेपाली जेनजी यस्तो जीर्णतन्त्रको कुशासन चाहन्नथे। किनकि प्रौढतन्त्रले सबै राजनीतिक दलमा रहेको ऊर्जाशील युवाहरूलाई नेतृत्वमा जान अवरोध गर्‍यो, सृजनशीलता बन्द गर्‍यो र जडसुत्रवाद फस्टाउन सघायो र यिनको भविष्य बिगारेको थियो। फलतः हाम्रो राजनीति उत्पादनशील भएन। केबल आसेपासे परिपोषक बनिरह्यो। संविधानमा प्रस्तावित प्रगतिशील लोकतन्त्रको मूल लक्ष्य आर्थिक सृजनशीलता (ज्ञान र प्रविधिसहित उत्पादन वृद्धि) सँगै सामाजिक न्याय (आय वितरण, पूर्ण रोजगारी र समावेशिता) मार्फत समाजवादमा जाने परिकल्पनाको धज्जी उडाउँदै यो जीर्णतन्त्र चाकरी प्रथामा रमायो र हमेसा इतिहासको अग्रगामी परिवर्तन रोक्न अघि सर्‍यो। यसै विकृतिको अन्त्य चाहन्थ्यो नेपालले। 

प्रतिनिधिसभा चुनाव जितेका उम्मेदवारहरू नियाल्दा युवा वर्ग नै बढी देखिन्छन्। यो राम्रो हो। यति खेरको राजनीतिमा खास महत्त्वपूर्ण देखिएको पक्ष के हो भने यस निर्वाचनको मुखैमा देशको सबैभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली काँग्रेसले विद्रोहबाटै दोस्रो पुस्ता (युवा नेता) को सभापति पायो। यो विद्रोहले सो पार्टीमा नेतृत्व पुस्तान्तरण गर्‍यो, जसले लोकतान्त्रिक पार्टी सचेत युवाहरूको दस्ता हो, दासहरूको होइन भन्ने सशक्त सन्देश बुलन्द गर्‍यो। खैर, काँग्रेसले निर्वाचनमा कम सिट ल्यायो, तथापि अन्तरपार्टी युवा विद्रोहको मूल्य भने इतिहासमा जीवन्त राख्न सफल भयो। यसैले काँग्रेसी तरुणहरू र नवयुवालाई पनि धन्यवाद छ।

तर पुराना मधेसवादी दल, एमाले, नेकपा र अन्य वामदलमा जेनजी आन्दोलनको प्रभावै परेन र नेतृत्वले प्रौढतन्त्र (जेरन्टोक्रेसी) छोड्न सकेनन्। फलतः यी पुरातनवादी दलहरू नेपाली काँग्रेसभन्दा पनि नराम्ररी चुनावमा पछारिए। नेपालका वामपन्थीहरू त सर्वनाशकै बाटोमा गए। लाग्छ अब कम्युनिस्ट पार्टीप्रतिको अपार जनवादी श्रद्धाभाव पुनर्स्थापित हुन हम्मे हम्मे पर्छ नेपालमा। किनकि, जेनजी युवाहरूले तानासाह वामपन्थलाई स्पष्ट रूपमा देखे, भोगे र आफ्ना सहकर्मी साथीहरू सडकमा ढलाइएको तस्बिर देखे। 

यसले यिनीहरूलाई सदासर्वदा तर्साएको छ। युवाहरूले निर्वाचनमा वाम दलहरूको धरौटी जफत गरे। आश्चर्य लाग्छ, यति गर्दा पनि एमाले नेकपा र अन्य वाम दलहरू सच्चिएनन्, अझै उल्टो पो हिँड्दै छन्। नेपालमा यस्तो बिसौँ टुक्रामा विभाजित वामपन्थमाथि थप जनबलिदान र सामाजिक भार (क्रान्तिको लागत खर्च) अब सर्वसाधारण जनताले बोक्न सक्दैनन्। यो इतिहासको डिलमा अन्त्यतिर उभिँदै गइरहेको छ। यदि यिनले आत्मालोचना गर्दै एकता गरेनन् भने चाँडै सकिन्छन् नै।

नेपाली राजनीतिमा गज्जब देखिएको आजको अवस्था हो–युवा बहुल राजनीतिक दलको रूपमा रास्वपाको उदय र उसको लोकप्रियतावाद ह्वात्तै हाबी देखिँदै जानु। तत्काल वैचारिकी कित्ता प्रस्ट नदेखाएको रास्वपा क्रमशः मोडिफाइड लिबरल डेमोक्रेटिक वा लिबरल सोसलिस्ट धारमध्ये एकमा त उभिन्छ नै, अहिले भने कांग्रेस र वामपन्थीहरूको परम्परागत वर्चस्व तोड्दै नेपालमा बलियो वैकल्पिक उदार–लोकतान्त्रिक धुरीका रूपमा यो स्थापित हुँदै जाला, जो भारत र पश्चिमाहरूको चाहना नै हो भन्नेहरू बौद्धिक पनि प्रशस्तै छन्।

अब पश्चिम, भारत र स्वदेशी अभिजात वर्गलाई भाडामा वामपन्थी-काजी चाहिएन, उनीहरूकै कारिन्दा ल्याए भन्नेछ। एकातिर अहंकारी वामपन्थप्रति आकर्षण घट्दै गएको र अर्कोतिर पश्चिमाहरूले खोजेजस्तै नेपालमा मध्यमार्गी लिबरलिज्म (वैकल्पिक–मिश्रित उदारवाद)का लागि राजनीतिक मैदान खाली नै रहेकाले रास्वपालाई यो मध्यपन्थ अनुकूल देखिन्छ। यसैले रास्वपा दक्षिणपन्थी कित्तामा जाँदैन, किनकि उसलाई पोलिटिकल फिल्डीङको लाभ यही मध्यपन्थमा छँदै छ। यस्तो मध्यपन्थी उदारवादले इकोनोमीक अस्टेरिटी (आर्थिक मितव्ययिता/आर्थिक सुशासन) लाई निकै जोड दिन्छ।

सँगै प्रगतिशील कर प्रणाली मार्फत  (धनाढ्यसँग बढी कर लिने) सामाजिक कल्याणकारिता बढाउन खोज्छ। शायद बेरोजगारीको सम्बोधन गर्न यही बाटो रोज्ला रास्वपाले। शासकीय सुधारजस्ता थुप्रै लोकप्रियताजन्य कामहरू पनि गर्ला। उसको घोषणापत्रले यस्तै संकेत गर्छ। वाम–लोकप्रियतावादले काम नरेपछि उदय भएको मध्यपन्थी लोकप्रियतावाद नराम्रो होइन। किनकि घोर दक्षिणपन्थ, जातीय फासीवाद र अन्ध्रराष्ट्रवाद जब सांस्कृतिक कट्टरतावादसँग मिसिएर (उदाहरणका लागि–जायोनिस्ट, इस्लामिक, हिन्दुत्व, क्रिस्तानी आदि) पैदा हुने फार राइटविङ लोकप्रियतावादले कतै समाज विभाजनको बिउ रोप्ने पो हो कि भन्ने डर देखाउने गर्छ, तर रास्वपाजन्य यो नवोदित नेपाली मध्यपन्थी पपूलिज्म खासमा उच्चतम सुधारवाद नै भएकाले लोकतन्त्र समाप्त गर्दैन। 

यो चुनावबाट अन्य दलमा पनि क्रमशः युवापुस्ता नै आउँदै छन्। यसरी हेर्दा यी सबै युवाको क्षमता उत्पादनशील र राजनीतिक निष्ठा लोकतान्त्रिक छ। अब देशले यो युवा पुस्ताको राजनीतिक कौशलको परीक्षण गर्ला। सदन र सरकारबाट राम्रा काम गर्ला नै। तसर्थ, बौद्धिक तप्काले यस्तो नवलोकतान्त्रिक तरुण–युवापुस्ताको उदयलाई सकारात्मक लिएका छन् र पुराना नेताहरूलाई अभिभावक भई बस्न आग्रह गरेका छन्। लोकतन्त्रका लागि कठोर जेलनेल खाने पुरानो पुस्ताप्रति सम्मान र कृतज्ञता पनि छँदै छ। 

तर अधिक आश्चर्य के लाग्छ कि यो जीर्ण पुस्ता अझै पनि युवाहरूप्रति आक्रोशित छ। बौद्धिकहरूले प्रौढहरूलाई भीरतिर नजाऊ, थप उल्टो यात्रा नगर भन्ने सल्लाह दिने न हो, बाँकी ऊनै जानुन्।

निर्वाचन–२०८२: नयाँ भर्सेस पुराना नेता 
पहिलेका निर्वाचनमा दलहरूका घोषणापत्र, नीति विचार र कार्यक्रममा लामो बहस गर्ने चलन थियो। तर यो निर्वाचन भिन्न बन्यो। यो नयाँ भर्सेस पुराना नेता (सुशासन भर्सेज कुशासन) भन्ने अजेन्डाबाट अगाडी बढ्यो। सबै दलका घोषणापत्रमा युवालाई प्राथमिकता दिइएको थियो, यो नै जेनजी प्रभाव भनी बुझ्न सकिन्छ। सय बिलियन अर्थतन्त्र, युवा डिजिटल सेवा, ७% आर्थिक वृद्धि र वार्षिक तीन लाख युवा रोजगारी तथा नवउद्यमीलाई फ्री ऋण दिनेजस्ता विषय सबैका उस्तै अजेन्डा थिए। 

यस निर्वाचनका बेला खास डरलाग्दो देखिएको के थियो भन्दा हाम्रा आदरणीय पुराना नेतागणले उदीयमान युवा नेताहरूलाई गालीगलौज र घृणा गरिरहेका थिए। यसले समाजमा थप झडप र द्वन्द्व भय निम्ताउने हो कि भन्ने थियो तर युवाहरू संयमित भए। युवाहरूले असल राजनीतिक आदर्श र लोकतान्त्रिक संस्कृति देखाए। किनकि लोकतन्त्रमा सबैको मर्यादा, प्रतिस्पर्धा, नीति विविधता र जीत हारलाई सहजै स्विकारिन्छ। हाम्रा प्रौढ नेताहरूमात्रै जेरेन्टोक्रेटिक भएका थिए। यिनले त गाली पुराण र दुर्योधनजस्तो अहंकारको सहारा लिए। यही गलत आचरणले नै उनीहरू हारेका हुन्। 

खासमा नयाँ पुस्ता राष्ट्रका भविष्य हुन्। डिजिटल, बुद्धिमान र मेहनती वर्ग हुन् यी। मानिसका कमीकमजोरी हुन्छन्, तर ती सच्चाइन्छन्। युवाहरू पनि सच्चिन तयार छन् तर प्रौढहरू कहिल्यै सच्चिएनन्। उल्टो युवाहरूलाई भेडा र गैरराष्ट्रवादी भन्दैछन् अझै पनि। नेपालीहरू सबै राष्ट्रवादी हुन्। हिमाल, पहाड, मधेस, तराइ सबैमा बराबर राष्ट्रवाद छ यहाँ। यसरी निर्वाचनमा लज्जाजनक हार हुँदा पनि यी प्रौढहरू अझै पनि किन अहंकार र  मैमत्त हावादारी कथ्य रच्छन्? किन युवाप्रति हेटस्पीच ओकल्छन्? यो जेरेन्टोक्रेटिक चरित्रका कारणले ले गर्दा हो। आउनुहोस्, यसै वरिपरि विमर्श गरौँ।

जेरेन्टोक्रेसी चरित्र: अहंकार र सत्तालिप्सा छोड
जब कुनै देशमा नयाँ परिवर्तन आउँछ, तब पुराना शासक, सम्भ्रान्त वर्ग र सत्ताच्यूतहरूले 'देश संकटमा गयो र देश विदेशीले लान्छ' भन्ने उग्र राष्ट्रवादको खेती बढी गर्छन्। यो वर्गले नेपालमा वि.सं. २००७, २०४६, २०६३ र २०८२ मा भएका सबै परिवर्तन विदेशीहरूको षडयन्त्र हो भन्छ। समाजको परिवर्तनभन्दा प्रतिगमन, पुनरुत्थान र यथास्थिति–पश्चगमन (एडहक कल्चर) आदर्शमा मैमत्त भई रमाउने नै जेरेन्टोक्रेटिक वैचारिकी हो। 

फ्रान्सको बिग्रँदो अवस्थाबारे बुढ्यौलीतन्त्रको आलोचनामा जेजे फाजी (सन् १८३०) ले जेरेन्टोक्रेसी बारे लेखेपछि यो शब्द चर्चामा आएको मानिए पनि दार्शनिक प्लेटोले नै प्रौढतन्त्रीय शासकबारे केही नोटहरू लेखेको पाइन्छ। अमेरिकी समाजशास्त्री माग्नी बे्रटोन तथा पेनेल एसले ओलीगार्की एण्ड जेरेन्टोक्रेसी (सन् २०२१) आलेखमा भन्छन् कि प्रौढतन्त्र पनि सानो आकार र पाको उमेरको नेर्तत्वझूण्ड (साठी कटेका ओलीगार्क) ले सञ्चालन गर्छ, उसको मुख्य उद्देश्य सत्तालिप्सा र राज्य स्रोतमा अविरल पकड राख्ने नै हो। यो सुडो–सर्वसत्तावादी विचारको हुन्छ। यसले प्रतिस्पर्धीसँग इगो राख्दै हमेसा दुस्प्रचार (प्रोपागान्डा) मा रमाउँछ र जनतामा विभाजन पैदा गर्न खोज्छ। यसैले उसले युवापुस्ता रुचाउँदैन, जो उद्यमशीलता, सुशासन र समाज परिवर्तनका पक्षमा हुन्छ।

उनीहरूको सो अध्ययनले अमेरिकी ४१ % मानिस जोय बाइडेनजस्ता अति प्रौढ शासकको विपक्षमा रहेको देखाएको पनि थियो। यति गर्दा पनि पश्चिममा अझै डोनाल्ड ट्रम्पजस्ता बुमरले शासन गरेका छन्। 

यस्तो प्रौढतन्त्र निरन्तर कसरी हुन्छ भन्नेमा समाजशास्त्री एरिका बेनन (एन्जल्सवर्ग अनलाइन– २०२४) को निष्कर्ष छ कि यी बेबी बूमरले केटाकेटी तथा युवाहरू आलाकाँचा हुने र यिनको राज्य चलाउने अनुभव हुन्न भनेर जनतामा असुरक्षाको भावना फैलाउन सफल रहन्छन्। साथै आफूहरू बुद्धिमानी र देशका अभिभावक भएको भन्ने विभ्रम पैदा गर्छन् यिनीहरू। 

नेपालमा पनि जेनजी विद्रोहको प्रतिवाद गर्न ठीक यही फर्मुला अपनाइएको थियो। निर्वाचनमा पराजित भएपछि आत्मालोचना त कता हो कता, यो परिवर्तन स्विकार्न सकिरहेका छैनन् यिनले। प्रौढान्त वर्गले अहिले पनि फैलाइरहेको विभ्रम एउटै छ–नेपाल भूराजनीतिक संकटमा गयो, देश असुरक्षित भयो र देश प्रौढले बाहेक अरूले चलाउन सक्दैनन्। केटाकेटीले चुनाव जिते रे आदिआदि। 

के नेपालको वर्तमान घटनाक्रम साँच्चै जेरेन्टोक्रेट विभ्रमजस्तै हो त? जेनजीले किन यस चुनावमा जेरेन्टोक्रेसीको विकल्प खोजे? यसमा भूराजनीति (बाहिरी) स्वार्थ हाबी थियो त? वा सामाजिक–आर्थिक (आन्तरिक) परिर्बतनको जनचाहना नै यसको निर्णायक बनेको रहेछ भन्ने पनि छलफलमा लागौँ।

जेनजीमाथि भूराजनीतिक आरोप: गलत प्रोपागान्डा
आफ्ना नागरिकप्रति गैरजिम्मेवार रही हमेसा कुशासन लादिरहेका अहंकारी प्रौढहरूलाई जेनजीले दिएको चुनौती निकै भारी परिरहेछ। स्थापित वर्गको रजगजउपर धावा बोल्ने सामर्थ्य युवा, सबाल्र्टन तप्का र सामाजिक पिँधका पावरलेस वर्गसँग हुँदैन भन्ने पूर्वाग्रह बोकेका पावर एलिटहरू यो निर्वाचन परिणामप्रति पनि आक्रोशमा छन्। सोको प्रतिक्रियामा जेनजीलाई भूराजनीतिक एजेन्ट भएको भ्रम छर्न व्यस्त छन्। यसमा सत्यता नै छैन। यो प्रोपागान्डा हो। बरु ऐतिहासिक सत्य यो हो कि यिनै प्रौढ नेताहरूबाटै राष्ट्र र जनताको सार्वभौमिकताको लगातार खिल्ली उडाइयो र निरन्तर भूराजनीतिक खेल निम्ताइयो। असंलग्न विदेश नीति छोड्ने यी प्रौढहरू अब पश्चात्ताप गरुन्। नेपाल भूराजनीतिक तानातानमा कहिल्यै पर्नै हुँदैन। जेनजीले त्यसो पक्कै गर्ने छैन।

खासमा नेपाली जेनजी आन्दोलन बाह्य चलखेल (भूराजनीतिक) को भन्दा पनि समाजको ऐतिहासिक विकास क्रमलाई अनदेखा गर्दै जनयुद्धका अजेन्डाहरू बैठान नगरिएको, बि.सं. २०६४ यता हमेसा प्रचण्डलाई सताइएको, संघीयता–समानुपातिक कमजोर पारिएको, परिवर्तनलाई खिल्ली उडाई राजनीतिक विकृति व्याप्त फैलाइएको, संविधानपछि गर्नुपर्ने आन्तरिक सामाजिक सुधार, भ्रष्ट्राचार अन्त्य र सुशासन स्थापना, गरिबी र बेरोजगारी उन्मुलन, उत्पादन साधनस्रोत (भूमि र पुँजी) को न्यायोचित पूर्नवितरण जस्ता अर्थ–राजनीतिक समस्याको हल पुराना नेताले नगरेको अनि यी प्रौढहरूको अघोर सत्तालिप्साका कारण यो आक्रोश र विस्फोट भएको हो (अक्सफाम रिर्पोट २०२६)। तर हाम्रो जिर्णतन्त्रले यसपट्टि ध्यानै दिएन। 

आम–बेरोजगारी जेनजी विद्रोहको कारक थियो 
वि.सं. २००७ को क्रान्तिपछि नेपालको आर्थिक प्रगति उल्लेख्य बढ्नेछ भन्ने आशा थियो। अर्धसामन्तवादी  जाँतोबाट उम्कँदै देशमा स्वाधीन औद्योगीकरणमार्फत राष्ट्रिय आय (जीडीपी) बढोत्तरी भई गरिबी र बेरोजगारी अन्त्य हुने सपना बोकेका थिए आम सर्वसाधारणले। परम्परागत कृषि अर्थतन्त्र अब औद्योगिक र मेनुफेक्चर इकोनोमीतिर जान्छ भन्ने पनि थियो। कमरेड पुष्पलाल र बीपी कोइरालाले समाजवाद (सोसल डेमोक्रेसी) को राजनीतिक सह–विचार हाम्रो माटोमा रोपेका थिए। नेपालका वामपन्थी र प्रजातान्त्रिक पार्टीहरूको लक्ष्य समानतामूलक राज्य अर्थात् सोसलिज्म स्थापना गर्ने नै थियो, जो कमन (साझा) विचार थियो । गरिबी र बेरोजगारी अन्त्य सबैको राजनीतिक प्रतिबद्धता थियो। वि.स. २०७२ को संविधानले यसैलाई समावेशिता ढाँचामा लोकतातिन्त्रक समाजवादउन्मुख बनाएको थियो।

विडम्बना, यिनै पार्टीका पछिल्लो नेतृत्व यही उद्देश्यमा चुक्यो। देशलाई समाजवादतिर लैजानुको साटो नव–उदारवादी, आसेपासे र डिस्टोपियन (राज्य दोहनकारी) पुँजीवादमा लगेर फसाइदिए। राजनीतिक नेता र आसेपासे र धूर्तब्यापारीको लागि मात्रै स्वर्ग बन्यो देश। आम जनताका लागि राज्य नर्कजस्तो भयो। फलतः न त देशको औद्योगीकरण भयो, नत जीडीपी बढ्यो, न परकेपिटा इन्कम बढ्यो, न त रोजगारी बढ्यो। उल्टो भयावह बेरोजगारी र सामाजिक असुरक्षा पैदा भयो। 

लाज लाग्छ, परकेपिटा १३७७ डलर र ४३% युवा पूर्ण बेरोजगार छ यति बेला नेपालको। उत्पादनशील युवा बिदेसिएको छ। युवाहरू भविष्य र रोजगारी यही चाहन्छन्। तर प्रौढ नेताहरू यस्तो डरलाग्दो बेरोजगारीप्रति थोरै पनि संवेदनशील भएनन्। 

नेताहरूले देशको न्यून उत्पादन, आर्थिक असमानता, सामाजिक अन्याय–विभेद र उच्च बेरोजगारीको मूल समस्याको विषयान्तर गरिरहे। भोकमरीमा उग्रराष्ट्रवादको भजन गाँउदै बसे। तब गरिबी तथा आम बेरोजगारी संकट चुलिँदै जाँदा युवा विद्रोह भयो र जेनजीले जेरेन्टोक्रेसी सरकार ढलाए। आम निर्वाचनले यो सत्य स्वीकार गर्‍यो। 

रोजा लक्जेम्बर्ग फाउन्डेसन–२०२५ र ट्राईकन्टीनेन्टल–२०२५ तथा लेफ्ट होराइजन–२०२५ का अध्ययनले अरब क्रान्ति, कलर रिभोलूसनहरू र संसारका सबै जेनजी विद्रोहका खास कारण बेरोजगारी र आन्तरिक असन्तोष नै रहेको भन्छन्। सरकारी छानबिन आयोग रिर्पोट–२०८२ ले पनि कुशासन, भ्रष्ट्राचार र आम बेरोजगारीले गर्दा नै भदौको विस्फोटक जेनजी विद्रोह भएको भनेको छ। यसर्थ, नेपालको जेनजी विद्रोह भूराजनीतिक भन्दा पनि बढी आन्तरिक अर्थ–राजनीतिक कारणले भएको छ। तर जिर्णतन्त्रले यस्तो वास्तविकता र यर्थाथ पनि तोडमरोड गर्दैछ। अझै पनि ऊ जेनजीलाई सरापेर बसेको छ। ऊ निर्लज्ज जेरेन्टोक्रेटिक चरित्र देखाइरहेको छ। 

नेतृत्व पुस्तान्तरण र विचारमा अग्रगमन: संकट पार लगाउँछ 
सरसर्ती हेर्दा यस निर्वाचनमा प्रस्तावित भएका अजेन्डा र देशको आगामी अर्थ–राजनीतिक संकटलाई इमानदार, प्रगतिशील र उत्पादनशील लोकतान्त्रिक सरकार सञ्चालनको सहकार्य प्रणालीबाट भने हल गर्न सक्छौँ। युवाहरूले साँचेको सपना नै त्यही हो। खासमा राज्यबाट उच्च डेलिभरीसहित कल्याणकारी सुधारहरू हुनासाथ देश सप्रिनेतिर बढ्छ। देश सप्रियो भने आफू पत्तासाफ भइन्छ, यही डर पुराना नेताहरूमा अझै कायमै छ। यस्तो गलत विचार अब त्याग्नु पर्छ उहाँहरूले। यदि अग्रगमन–रूपान्तरणको अवरोध गरिरहने हो भने देश बर्वादीको बाटोमा जान्छ। यसले आन्तरिक शोषण र गरिबी अन्तको मूल सामाजिक मुद्दा हमेसा ओझेल पार्छ। तसर्थ जनताहरू यसप्रति सचेत बनौँ।

इतिहास भन्छ–यस्ताखाले संकट संसारका अन्य मुलुकमा पनि उत्पन्न भएका थिए। ती कसरी पार लागे त? जस्तै:दोस्रो विश्वयूद्धपछि जर्मनी, पोलैण्ड र रुस खरानी भएका थिए। करोडौँ मानिस र हजारौँ संरचना ध्वस्त भएका थिए। 

यो युद्धमा उ बेलाको ४.५ ट्रिलियन डलर नोक्सानी भएको थियो। युरोपका जनताले यही मूल्यमा जेरेन्टोक्रेटिक–सर्वसत्तावाद (हिटलर) समाप्त गरेका थिए, पछि समग्र युरोपको पुर्ननिर्माण त्यहाँका युवाले गरे। जापान र भियतनामको पुनर्निर्माण पनि यसरी नै भयो। यस्तो अग्रगमन जेरेन्टोक्रेसीले नभई युवापुस्ताले नै सम्भव बनाउँछन्। 

अतः अब युवाप्रति घृणा र अहंकार बन्द गरौँ। प्रतिगमन र प्रतिशोध होइन, सृजनशील बाटो देखाऔँ। निर्वाचित भए पनि वा नभए पनि परिवर्तनका संवाहकहरू गगन, विश्वप्रकाश, बालेन, लेखनाथ, हर्क, उषाकिरण, विप्लवजस्तै आआफ्ना दलभित्रका अग्रगामी युवा वर्ग असफल बनाउनु हुँदैन प्रौढहरूले। तसर्थ हाम्रो चेतना, विवेक र ज्ञानको पुर्नसंस्करणबाट सामाजिक बदलावका प्रगतिशील प्रारूपहरू बोक्ने यी युवा नेतृत्व देशलाई दिँदा फरक पर्दैन। कसैले इतिहास पछि धकेल्नु हुँदैन, प्रतिगमनतिर लानु हुँदैन।

यसैले सबै राजनीतिक दलहरूले आफ्नो नेतृत्व, संगठन र विचार परिस्करण एवं पुस्तान्तरण गर्दै ठूलो अर्थतन्त्रको निर्माण, उच्च आर्थिक वृद्धि, प्रगतिशील लोकतन्त्रको सांस्कृतिक जीवन्तताबाटै सामाजिक न्यायसहितको उन्नतिशील समाजवाद स्थापनाका लागि संसदमा होस वा पार्टीमा होस वा अन्य मोर्चामा जता भए पनि आ–आफ्ना जेनजीसँग सहकार्य गर्न र सबैसँग हातोमालो गर्न हिचकिचाउनु पर्दैन।

यो नै आम निर्वाचन–२०८२ को स्पष्ट सन्देश हो। यसर्थ आउनुहोस्, देश बनाउने जिम्मा अब युवा पुस्तालाई हस्तान्तरण गरौँ। प्रौढ नेतृत्वहरू अवरोधक होइन कि सहजकर्ता बनौँ। नेपालको इतिहासले खोजेको पनि यही हो।

(उकालोको विचार खण्डमा छापिने सामग्री लेखकका निजी हुन्।)