सरकारले अनुमतिका लागि पठाएका ३०० निवेदन आयोगले रोकिदियो

निर्वाचन आयोगले सरकार र मातहतका निकायले अनुमतिका लागि दिएको ३०० भन्दा बढी निवेदन रोकिदिएको छ।

निर्वाचन आयोग

काठमाडौँ- निर्वाचन आयोगले सरकार र मातहतका निकायले विभिन्न कामको अनुमतिका लागि दिएको ३०० भन्दा बढी निवेदन रोकिदिएको छ।

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सरकारले निर्वाचन आचारसंहिताविपरीत हुने खालका काममा 'अनुमति पाऊँ' भनी दिएको निवेदन रोकिदिएको प्रष्टयाएका हुन्। 

उनले कर्मचारी सरुवा/बढुवा, नयाँ नियुक्ति, नयाँ भवन शिलान्याश, उद्घाटन, अनावरणलगायतका विषयमा सरकार र मातहतका निकायले दिएको निवेदन निर्वाचन आचारसंहिताविपरीत भएकाले अनुमति नदिइएको बताए।

तर, आयोगले अत्यावश्यक सेवाका लागि परेको करिव १५३ वटा निवेदनमाथि अध्ययन गरी सो कार्य अघि बढाउन अनुमति दिइएको जनाएको छ। निर्वाचन आयुक्त भण्डारीले देशको प्रतिनिधित्व गरेर मुलुकबाहिर जानुपर्ने विषय, अत्यावश्यक स्वास्थ्य, सरसफाईलगायतका कार्यक्रम अघि बढाउन दिइएको निवेदन भने स्वीकृत गर्दै अघि बढाउन अनुमति दिइएको बताए।

"लगभग ५०० संख्यामा अनुमति पाऊँ, सहमति पाऊँ भनेर आयोगमा निवेदन परेको छ। हामीले १५३ वटालाई सहमति दिएका छौँ। रोकिएको करिब-करिब ३०० हाराहारीमा होला। निर्वाचन प्रक्रियामा असर पर्ने कुनै पनि अनुमति सरकारलाई दिन सकिँदैन, हामी रोक्छौँ," उनले भने।