विमान दुर्घटना : शीर्ष नेताहरूद्वारा दुःख व्यक्त

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार आइतबार बिहान दुर्घटनामा परेको विमानमा चार जना चालक दलका सदस्यसहित कुल ७२ जना सवार थिए।

काठमाडौँ– सत्तारूढ र प्रतिपक्षी दलका शीर्ष नेताहरूले पोखरामा भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। काठमाडौँबाट ६८ जना यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज आइतबार बिहान पोखरामा दुर्घटनामा परेको थियो।

शीर्ष नेताहरूले विमान दुर्घटनाको खबरले अत्यन्तै दुःखी बनाएको बताएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरामा भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रभावकारी उद्धारका लागि सरकारसँग आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, “दुर्घटनामा ज्यान गुमाउनुहुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।”

त्यस्तै, कांग्रेस सभापति एवं प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवालाई विमान दुर्घटनाले स्तब्ध बनाएको बताएका छन्। उनले उद्धारमा खटिन नेपाली कांग्रेसको स्थानीय पार्टी संयन्त्रलाई निर्देशन दिएका छन्। देउवाले उद्धारलाई प्रभावकारी बनाउँदै आवश्यक सबै प्रक्रिया अविलम्ब शुरू गर्न नेपाल सरकारसँग मागसमेत गरेका छन्।

"यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनाको खबरले स्तब्ध भएको छु। यस दुखद र त्रासदीपूर्ण दुर्घटनाको तत्कालै प्रभावकारी रूपमा उद्धार कार्य अघि बढाउन नेपाल सरकारसँग अनुरोध गर्दछ", उनले भनेका छन्, "साथै उद्धारमा खटिन नेपाली कांग्रेसको स्थानीय पार्टीका सबै निकायलाई निर्देशन गर्दछु।"

त्यस्तै, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विमान दुर्घटना भएको खबरले स्तब्ध बताएका छन्। उनले दुर्घटनाको वास्तविक कारण यथासम्भव छिटो पत्ता लगाई सार्वजनिक गर्न, नेपाली हवाई आकाशलाई सुरक्षित बनाउन दुनियाँले देख्ने र बुझ्ने गरी प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन्।

त्यस्तै, माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले दुर्घटनाका घाइतेको तत्काल उद्धार गरी उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। उपाध्यक्ष महराले मृतकका परिवार तथा घाइतेलाई उचित राहत उपलब्ध गराउन सरकारसमक्ष अनुरोध गरेका छन्। यस्तै, पछिल्लो समय बढिरहेको हवाई तथा सवारी दुर्घटना रोक्नका लागि उचित पहल गर्न सम्बन्धित पक्षले ध्यान दिन जरुरी रहेको विज्ञप्तिमा उल्लेख छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार आइतबार बिहान दुर्घटनामा परेको विमानमा चार जना चालक दलका सदस्यसहित कुल ७२ जना सवार थिए। जसमध्ये ५३ जना नेपाली, पाँच जना भारतीय, चार जना रुसका, दुई जना कोरियाका आयरल्यान्ड, अर्जेन्टिना, अस्ट्रेलिया र फ्रान्सका एक/एक जना यात्रु थिए।