प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, मन्त्रिपरिषद् बिस्तारबारे छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा शनिबार बिहान भएको भेटमा मन्त्रीपरिषद् विस्तार, सभामुखको निर्वाचनलगायत विषयमा छलफल भएको छ।

तस्वीर: रासस

काठमाडाैँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान भएको भेटमा मन्त्रीपरिषद् विस्तार, सभामुखको निर्वाचनलगायत विषयमा परामर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। दाहाल पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए।

सोही दिन उनले सानो आकारको मन्त्रिमण्डल बनाएका थिए। गठबन्धन दलमा भागबन्डा नमिल्दा  मन्त्रीपरिषद् विस्तार हुन सकेको छैन। कांग्रेसले पनि सरकारलाई विश्वासको मत दिएको अवस्थामा कसरी अगाडि बढ्ने भन्ने विषयमा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीले छलफल भएको हो। 

माघ ५ गते प्रतिनिधिसभाको सभामुखको निर्वाचन हुँदै छ। नेपालको संविधानको धारा ९१ को उपधारा ९१० मा प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था छ।