प्रेमलाई फूल र चकलेटको भाषामा मात्र बुझ्दा हामीले प्रेमको आधा भाग छुटाउँछौँ। प्रेम भनेको साथ दिनु पनि हो। काम बाँड्नु पनि हो। भ्यालेन्टाइन डेले प्रेमलाई कम नगरोस्। फराकिलो बनाओस्।
भ्यालेन्टाइन डे आउँदा हाम्रो आँखामा एउटै दृश्य आउँछ। रातो गुलाफ, चकलेट, मैनबत्तीको उज्यालो, र सामाजिक सञ्जालमा टाँसिएको प्रेम। यी सबै गलत होइनन्। तर प्रेमलाई हामीले एउटै किसिमको दृश्य र किनमेलको सूचीमा सीमित बनाउँदै लगेका छौँ। मानौँ प्रेम प्रमाणित गर्न ‘प्याकेज’ नै चाहिन्छ।
तर प्रेम केवल उपहार र फोटोको कुरा होइन। प्रेम जोडिनु हो, देखिनु हो, सुन्नु हो, रोजिनु र रोज्नु हो। कसैले कसैलाई खोज्नु हो। यो कुरा मानिसमा मात्र होइन, प्रकृतिमा पनि उस्तै चल्छ। कीराहरू कविता लेख्दैनन्, डेटमा जाँदैनन्। तर उनीहरू पनि भेट्छन्, संकेत गर्छन्, रोज्छन्। कतिले उपहारजस्तै केही ल्याउँछन्, कतिले जोडी बनेर लामो समयसँगै टिक्छन्।
कीरालाई मानिससँग तुलना गर्नुपर्दैन। उनीहरूको संसार, तरिका र नियम फरक छन्। तर उनीहरूले एउटा सिधा कुरा सम्झाउँछन्। जोडिनका लागि ठाउँ चाहिन्छ। अँध्यारो चाहिन्छ, मौनता चाहिन्छ, घाँसको कुनो चाहिन्छ, बोटबिरुवा चाहिन्छ। यी कुरा हराउँदै गए भने, प्रेमका संकेतहरू पनि हराउँदै जान्छन्।
प्रकाशका प्रेमपत्र
बच्चाबेला देखेका जुनकिरीका झिल्काहरू सम्झनुहोस्। न्यानो साँझमा घाँसको छेउछाउ, खोल्साको नजिक, झाडीबीच सानो उज्यालो बल्छ। त्यो केवल सुन्दर दृश्य मात्र होइन। धेरै जुनकिरीका लागि त्यो संकेत हो।
भाले जुनकिरी उड्दै बत्तीझैँ चम्किन्छ। उसको चम्कने ढाँचा फरक हुन्छ। समय र ताल मिलेको हुन्छ। पोथी जुनकिरी झाडीमा बसेर हेर्छे। मन पर्यो भने उसले पनि जवाफ दिन्छे। फेरि भालेले संकेत गर्छ। फेरि पोथीले संकेत गर्छे। यसरी संकेतको आदानप्रदान हुँदै उनीहरू भेटिन्छन्।
यो मानव प्रेम कथाजस्तो भावुक कथा होइन। तर यो पनि जोडिने तरिका हो। एकले आफूलाई देखाउँछ, अर्कोले प्रतिक्रिया दिन्छ। ‘म यहाँ छु’ भन्ने सन्देश अँध्यारोमा पठाइन्छ।
यहीँ एउटा कटु सत्य पनि छ। कहिलेकाहीँ अरू जीवले यो संकेत नक्कल गर्छ। झिल्को देखेर भाले जुनकिरी नजिक जान्छ, तर त्यो पोथी होइन, खतरा हुन सक्छ। संकेत बलियो भएपछि त्यसलाई छक्याउन पनि प्रयोग गर्न सकिन्छ। यो कुरा हामी मानिसमा पनि देख्छौँ। ठूलो प्रदर्शन, ठूलो संकेत, कहिलेकाहीँ खाली हुन सक्छ। जुनकिरीले सिकाउने पाठ यही हो। देखिनु सुन्दर पनि हो, जोखिमपूर्ण पनि।
गन्धको अदृश्य भाषा
हामी प्रायः आँखा र कानले संसार बुझ्छौँ। धेरै कीराहरू गन्धले बुझ्छन्। हामीलाई खाली लाग्ने हावा उनीहरूका लागि सन्देशले भरिएको हुन्छ।
कहिलेकाहीँ पोथी पुतलीले गन्ध छोड्छे। भाले पुतलीले धेरै टाढाबाट त्यो गन्ध समात्छ। उसले हावाको दिशा पछ्याउँदै अगाडि बढ्छ। हामीलाई ‘यस्तो कसरी सम्भव’ लाग्छ। तर उनीहरूका लागि यो सामान्य कुरा हो। गन्ध नै बाटो हो। गन्ध नै निम्तो हो।
कमिलाहरूको लाइन हेर्नुहोस्। उनीहरू खाना भेटेपछि एउटै बाटोमा लाम लागेर हिँड्छन्। त्यो लाइनको आधार पनि गन्ध नै हो। उनीहरूले जमिनमा गन्धको चिनो छोड्छन्। पछिल्ला कमिलाले त्यही चिनो पछ्याउँछन्। यसरी सानो कीराले पनि आफ्नै ढंगको सन्देश चलाउँछ।
हामी ‘केमेस्ट्री’ लाई प्रेमको नाम दिन्छौँ। कीराले भने त्यसलाई कामको भाषा बनाएका छन्। गन्ध उनीहरूको पत्र हो, ठेगाना हो, र भेटघाटको संकेत हो।
घाँसमा प्रेमगीत
झ्याउँकिरीको आवाज रातको संगीत जस्तो लाग्छ। त्यो रमाइलो मात्र होइन। धेरै कीरामा भालेले त्यही आवाजले पोथीलाई बोलाउँछ। आफ्नो ठेगाना दिन्छ। आफ्नो ताकत देखाउँछ। ‘म यहीँ छु’ भन्छ। ‘म बलियो छु’ भन्छ।
तर यस्तो गीत गाउनु सधैँ सुरक्षित छैन। ठूलो आवाजले पोथी मात्र होइन, शिकारीलाई पनि बोलाउन सक्छ। त्यसैले कीराको ‘संगीत’ केवल मनोरञ्जन होइन। यो जोखिम पनि हो। मानिसमा पनि ‘आफूलाई व्यक्त गर्नु’ सजिलो हुँदैन। कहिलेकाहीँ बोल्नु, संकेत गर्नु, प्रस्ताव राख्नु सबै जोखिम हुन्छ। कीराहरूले देखाउँछन्, जोडिनु कहिलेकाहीँ साहस हो।
तर साहस मात्रै पर्याप्त हुँदैन। त्यसलाई साथ दिने वातावरण चाहिन्छ। रातभरि गाडीको हर्न, लाउड स्पिकर र निरन्तर कोलाहल भयो भने त्यो सानो संगीत दबिन सक्छ। आवाजले मात्रै होइन, ठाउँले पनि रोक्छ। मैदान र बारीको घाँस सधैँ काटेर चिटिक्क पार्दा झ्याउँकिरी जस्ता कीराले लुक्ने र बस्ने ठाउँ गुमाउँछन्। अलिकति झाडी, अलिकति अग्लो घाँस, अलिकति जंगली कुनो नै उनीहरूको घर हो। हामीले सबै ठाउँ सधैँ सफा र खाली बनाइदियौँ भने, रातको त्यो सानो संगीत पनि बिस्तारै हराउँदै जान्छ।
उपहारको अर्थ
भ्यालेन्टाइन डे अब उपहारको पर्वजस्तो पनि भइसकेको छ। प्रकृतिमा पनि उपहारको भूमिका देखिन्छ। केही कीरामा भालेले पोथीलाई खानाजस्तो उपहार ल्याउँछ। सानो सिकार वा खानेकुरा। पोथीले त्यो स्वीकारेपछि उनीहरू जोडी बन्छन्। यस्तो उपहार पोथीका लागि उपयोगी पनि हुन्छ, किनकि अण्डा राख्न र सन्तान हुर्काउन उसलाई थप ऊर्जा चाहिन्छ।
तर उपहार सधैँ शुद्ध माया मात्र हुँदैन। कहिलेकाहीँ पोथी खानेकुरामा व्यस्त हुँदा भालेलाई आफ्नो काम सजिलै अघि बढाउन मिल्छ। यसलाई प्रेमको अपमान भनेर बुझ्नुपर्दैन। प्रकृतिमा धेरै कुरा यस्तो नै हुन्छ। एउटै कामले अर्कोको फाइदा पनि हुन्छ, आफूलाई पनि।
मानिसमा पनि उपहारको अर्थ उस्तै हुन्छ। कहिलेकाहीँ उपहार साँचो माया हो। कहिलेकाहीँ उपहार प्रभाव पार्ने तरिका मात्र हुन्छ। त्यसैले उपहारको मूल्यभन्दा बढी कुरा मनसाय र व्यवहारले देखाउँछ।
अर्को कुरा पनि छ। कीराको संसारमा पनि छल देखिन्छ। ‘डान्स फ्लाई’ भनिने केही झिँगामा भालेले पोथीलाई उपहार ल्याउँछ। तर कहिलेकाहीँ उसले रेशमले बेरेर उपहारजस्तो देखिने कुरा दिन्छ, भित्र चाहिँ खासै खानेकुरा हुँदैन, कहिलेकाहीँ खाली नै हुन्छ। यसले एउटा सरल पाठ दिन्छ। सम्बन्ध बाहिरी चमकले मात्र टिक्दैन। भित्रको सारले टिक्छ।
एक रातभन्दा लामो साथ
हामीलाई लाग्छ, कीराको जीवन छिटो र हतारो हुन्छ। तर सबै कीरा उस्तै हुँदैनन्। कतिपयले लामो समयका लागि जोडी बनाउँछन्। जस्तै, धमिरामा भाले र पोथीले जोडी बनेपछि माटोको घर शुरू गर्छन्। माटो र आफ्नै रस मिसाएर बनाइएको त्यो घर उनीहरूको बसोबास पनि हो, सुरक्षित ठाउँ पनि। उनीहरू वर्षौंसम्म एउटै माटोको घरमा टिक्छन्, सन्तान बढाउँछन्, र काम बाँडेर चलाउँछन्। सँगै टिक्नु प्रेम कविता होइन। तर त्यो सहकार्य हो। त्यो साझेदारी हो। र साझेदारी धेरैजसो कामले टिक्छ, भावुक प्रदर्शनले मात्र होइन।
कहिलेकाहीँ ‘साँचो प्रेम’ भन्ने कुरा हामी ठूलो शब्दमा खोज्छौँ। तर धेरै सम्बन्ध साना कामबाट चल्छ। समयमै साथ दिनु, जिम्मेवारी बाँड्नु, संकटमा टिक्नु। धमिराको उदाहरणले यही सम्झाउँछ। प्रेम कहिलेकाहीँ भावना मात्र होइन, टिकाइ पनि हो। घर जोगाइराख्ने आधार पनि हो।
सन्तानका लागि सहकार्य
लास गाड्ने खपटे कीराको (बरीङ बीटल) कथा झनै रोचक छ। यिनीहरूले सानो मरेको जनावर भेटे भने त्यसलाई जमिनमा गाड्छन्। त्यहीँ अण्डा राख्छन्। अनि बच्चाहरूलाई त्यहीँबाट खुवाउँछन्। केही अवस्थामा भाले र पोथी दुवैले मिलेर काम गर्छन्। ठाउँ तयार पार्छन्। बच्चा जोगाउँछन्। अरू प्रतिस्पर्धीलाई टाढा राख्छन्।
यो काम फिल्मको प्रेमजस्तो चम्किलो छैन। तर यही काम नै हेरचाह हो। यही जिम्मेवारी हो। त्यसैले प्रेमलाई फूल र चकलेटको भाषामा मात्र बुझ्दा हामीले प्रेमको आधा भाग छुटाउँछौँ। प्रेम भनेको साथ दिनु पनि हो। प्रेम भनेको काम बाँड्नु पनि हो।
मीठो कथा मात्र होइन
यति भन्दैमा कीराको संसार सबै मीठो छ भनेर नबुझौँ। प्रकृतिमा कठोरता पनि छ। केही कीरामा जोडी बन्ने प्रक्रिया सजिलो हुँदैन। कहिलेकाहीँ नियन्त्रणको तानातान हुन्छ। कहिलेकाहीँ चोटपटक पनि हुन्छ। यो कुरा पढ्दा असजिलो लाग्न सक्छ, र लाग्नु स्वाभाविक पनि हो।
तर यसले एउटा कुरा प्रस्ट पार्छ। प्रकृति नैतिक पाठ्यपुस्तक होइन। प्रकृतिमा टिक्ने कुरा टिक्छ, चल्ने कुरा चल्छ। त्यहाँ दया र न्यायको ग्यारेन्टी हुँदैन। हामी मानिस चाहिँ नियम बनाउँछौँ। हामी सहमति, सम्मान र सुरक्षा रोज्न सक्छौँ। मानवीयता त्यहीँबाट शुरू हुन्छ। त्यसैले कीराको कठोर उदाहरणलाई बहाना बनाउनु हुँदैन। चेतावनीका रूपमा लिनुपर्छ। सम्बन्ध सुन्दर हुन सक्छ, तर सुन्दर बनाउन व्यवहार चाहिन्छ। सम्मान चाहिन्छ। दयालु हुन चाहिन्छ। प्रकृतिले त्यो आफै दिलाइदिँदैन। हामीले रोज्नुपर्छ।
गुलाफ र चकलेटको पनि कथा छ
भ्यालेन्टाइनका प्रतीकहरू प्रकृतिबाट अलग छैनन्। गुलाफ फूल सजावट मात्र होइन। धेरै फूलहरू आफूले आफै फैलिन सक्दैनन्। मौरी, पुतली र झिँगा जस्ता कीराले फूलको पराग एक ठाउँबाट अर्को ठाउँमा पुर्याइदिन्छन्। त्यसैले बगैँचाको रङ, बोटबिरुवाको फलफूल, र खेतबारीको उत्पादनको पछाडि पनि यिनै साना जीवको मेहनत लुकेको हुन्छ। हामीले हातमा समातेको गुलाफको पछाडि एउटा ठूलो जीवित प्रणाली काम गरिरहेको हुन्छ।
चकलेटको कथा पनि त्यस्तै छ। काकाओ बोटका साना फूलमा साना कीराले पराग सार्न मद्दत गर्छन्। ती कीरा ठूलो हुँदैनन्, देखिन पनि सजिलो हुँदैन। तर काम भने ठूलो गर्छन्। हामीले पसलमा सजिलै देख्ने चकलेटको स्वादसम्म पुग्ने यात्रामा उनीहरूको भूमिका छ। कहिलेकाहीँ यस्ता साना कुरा बिग्रिएपछि मात्र हामीलाई थाहा हुन्छ कि ‘सप्लाइ चेन’भन्दा पहिला प्रकृतिको चेन जोडिएको रहेछ।
भ्यालेन्टाइनलाई हामीले ‘मानिसको मात्रै पर्व’ जस्तो बनाएका छौँ। तर यसको धेरै प्रतीक प्रकृतिले नै सम्भव बनाएको हो। त्यसैले यो कुरा बुझ्नु भनेको उपहार त्याग्नु होइन। यो बुझ्नु भनेको उपहारको मूलसम्म हेर्नु हो। र वरिपरि काम गर्ने साना जीवप्रति कृतज्ञ हुनु हो। गुलाफ र चकलेटजस्तै, प्रेम पनि अन्ततः सम्बन्धको कुरा हो। सम्बन्ध जोगाउन चाहिने कुरा भनेको केवल शब्द होइन, त्यो सम्बन्ध टिकाइराख्ने संसार जोगाउनु पनि हो।
बिग्रँदै छ मञ्च
यति सबै प्रेमकथा र संकेतहरू कहाँ हुन्छन्। त्यो मञ्चमा हुन्छ। र त्यो मञ्च नै अहिले बिग्रँदै छ। रातभरि चर्को बत्ती बल्यो भने जुनकिरीको संकेत देख्न गाह्रो हुन्छ। गाउँ शहर बन्दै जाँदा अँध्यारो घट्छ। आकाश उज्यालो हुन्छ। जुनकिरी हराउन थाल्छ। रातको मौनता हरायो भने कीराको गीत दबिन्छ। घाँस र झाडी घट्यो भने भेट्ने ठाउँ घट्छ। खेतबारीमा जथाभाबी विषादी छर्कियो भने फूलमा पराग सार्ने कीरा घट्छ।
कीरा घटेपछि केवल कीरा मात्र घट्दैन। फूलमा पराग सार्ने हात घट्छ। मरेको पात कुहाउने काम घट्छ। चराचुरुंगीको खाना घट्छ। सिंगो सन्तुलन हल्लिन्छ। हामीलाई तुरुन्तै महसुस नहुन सक्छ। तर प्रकृतिले लामो हिसाब राख्छ। एक दिन हामीले यस्तो रात देख्नेछौँ, जहाँ शान्त त छ तर जीवित छैन। उज्यालो त छ तर झिल्को छैन। र त्यो रातसँगै प्रेमको भाषा पनि हराउँदै गएको हुनेछ।
भ्यालेन्टाइनको राम्रो अर्थ
भ्यालेन्टाइन डे मनाउने कि नमनाउने भन्ने बहसमा अडिनु आवश्यक छैन। मुख्य कुरा यो हो, हामी यो दिनलाई के अर्थ दिन्छौँ। यदि यो दिन जोडिनुको पर्व हो भने, जोडिन सक्ने संसार जोगाउनु पनि यसको अर्थ हुनुपर्छ। त्यसका लागि ठूलो भाषण चाहिँदैन। केही साना काम पर्याप्त हुन्छन्।
अनावश्यक बाहिरी बत्ती रातभरि नबालौँ। घरबाहिरको बत्ती तलतिर पर्ने गरी राखौँ, आकाशभरि नछरियोस्। सम्भव भए न्यानो पहेँलो बत्ती प्रयोग गरौँ। धेरै चर्को सेतो बत्तीले रातलाई दिन बनाइदिन्छ, अनि रातसँगै चल्ने संकेतहरू हराउन थाल्छन्। घर, आँगन वा छतमा सकेसम्म स्थानीय फूलका बोट लगाऔँ। केवल सुन्दर फूल मात्र होइन, पुतलीका बच्चाले खाने बोट पनि चाहिन्छ। सबै ठाउँ सधैँ चिटिक्क पार्नुपर्छ भन्ने छैन। अलिकति पात झरेको कुनो, अलिकति झाडी, अलिकति अग्लो घाँस पनि जीवका लागि घर हो। बोटबिरुवा र घाँसको त्यो सानो जंगलीपनले धेरै जीवलाई बाँच्ने ठाउँ दिन्छ। विषादी प्रयोग सकेसम्म कम गरौँ। सबै किरालाई शत्रु ठान्ने बानी बदलौँ। केही क्षति सहनु पनि प्रकृतिसँग सँगै बस्ने एउटा तरिका हो। समस्या ठूला भए पनि सोचेर, सीमित र सही उपाय अपनाऔँ।
यी कामहरू फोटोमा धेरै रोमान्टिक नदेखिन सक्छन्। तर यी कामहरू वास्तविक हेरचाह हुन्। एउटा दिनको उपहारभन्दा लामो असर पार्ने हेरचाह।
प्रेमलाई फराकिलो बनाऔँ
भ्यालेन्टाइन डेले प्रेमलाई कम नगरोस्। फराकिलो बनाओस्। प्रेम भनेको अँध्यारोमा पठाइएको सन्देश पनि हो। घाँसमा बजेको गीत पनि हो। कुनै उपहार जसले कसैलाई ऊर्जा दिन्छ, त्यो पनि हो। सहकार्य, धैर्य र जिम्मेवारी पनि प्रेमकै भाषा हो।
कहिलेकाहीँ प्रेम एकदम सानो निर्णय पनि हुन्छ। यस्तो निर्णय, जसले संसारलाई बिग्रिनबाट रोक्छ। जुनकिरीले संकेत गर्न सक्ने अँध्यारो जोगाइदिने निर्णय। झ्याउँकिरीले गीत गाउन सक्ने शान्ति बचाइदिने निर्णय। पुतली, मौरी र भमरालाई उड्न ठाउँ दिने गरी फूलको बगैँचा बढाइदिने निर्णय।
हामीले प्रेमलाई केवल रातो रङ र एक दिनको किनमेलबाट अलि पर सार्न सक्यौँ भने भ्यालेन्टाइन डे पनि अर्थपूर्ण हुन्छ। अनि हाम्रो वरिपरिको संसार पनि अलि बढी जीवित रहन्छ।
(लेखक १० वर्षभन्दा बढी समयदेखि कीरामा अनुसन्धान गर्दै आएका छन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
