शिवपुरी राष्ट्रिय निकुञ्जमा पर्ने हिले भञ्ज्याङमा शिव चिया बेच्छन्। यहाँबाट चिसापानी, धाप ड्याम, हैबुङ, नगरकोट र मुलखर्क जाने फरक–फरक बाटा छन्। पैदलयात्रा गर्ने प्रायले उनलाई बाटो सोधेकै हुन्छन्।
काठमाडौँ– “कहिलेकाहीँ आँखासामु उभिएका मानिससरह जुत्ता लगाएर, खुट्टा मचक्क टेकेर हिँड्डुल गर्न मन लाग्छ। फुल–पाइन्ट लगाएर उभिँदा कस्तो देखिन्छु होला जस्तो लाग्छ”, आफूले लगाएको खैरो हाफ–पाइन्ट मुसार्दै ६४ वर्षीय शिव भक्ति (भूजेल)ले भने।
शिव शारीरिक रूपमा भिन्न छन्। उनको दुवै खुट्टा चल्दैन, जसकारण सिधा उभिन सक्दैनन्। यद्यपि, लौरोको सहाराले थोरै उभिन्छन्। मुस्किलले हिँड्न सक्छन्। सधैँ हाफ–पाइन्ट लगाउँछन्। खुट्टाका कारण पूरा बाहुला भएको पाइन्ट लगाउन मिल्दैन।
शिव शिवपुरी राष्ट्रिय निकुञ्जको चिसापानी, धाप ड्याम, हैबुङ, नगरकोट, मुलखर्कको जङ्क्सन हिले भञ्ज्याङको प्रतीक्षालयमा चिया र प्याकेटका खानेकुरा बेच्छन्। उनले यहाँ चिया बेच्न थालेको १२ वर्ष भयो। निकुञ्ज क्षेत्रमा कुनै प्रकारको पसल संचालन गर्न नपाइने नियम भए पनि शारीरिक रूपमा अशक्त भएका कारण आफूलाई निकुञ्जले छुट दिएको उनी बताउँछन्।

“निकुञ्जमा मृग, भालु, चितुवाजस्ता वन्यजन्तु छन्। राति अबेर गर्दिनँ, दिउँसो भने खासै डर लाग्दैन”, उनी भन्छन्, “दिउँसो मानिसको चहलपहल पनि हुन्छ। अहिलेसम्म भगवानको कृपाले त्यस्तो केही भएको छैन।”
आफूले धेरै पढ्लेख नगरेको कारण पसलकै सहारामा जीवन धानेको शिवले बताए। हिले भन्ज्याङबाट एक किलोमिटर पर रहेको सिन्धुपाल्चोकको हैबुङमा उनको घर छ। हरेक दिन आउन र जान घस्रिँदै दुई किलोमिटर यात्रा गर्छन्। उनका लागि भन्ज्याङसम्म भाइका छोरी र बुहारीले चिया तथा पसलका सामान ल्याइदिन्छन्। शनिबार भने उनै भतिजी र बुहारीले दिनभर पसलमा सहयोग गरिदिन्छन्।
साप्ताहिक बिदाको दिन पर्ने हुँदा शनिबार अन्य दिनको तुलनामा मानिसहरूको चाप बढ्ने र व्यापार बढी हुने उनी बताउँछन्। “साबिकका दिनमा ४०० देखि १२ सय रुपैयाँसम्मको व्यापार हुन्छ। शनिबार भने राम्रै आम्दानी हुन्छ”, उनले भने।
पसलमा चियाबाहेक, चाउचाउ, चना, लेज, अण्डालगायत खानेकुराहरू पनि पाइन्छ। बिदाको दिनमा खाजा बनाउने भतिजी र बुहारी हुँदा उनलाई सहज हुन्छ। अन्य दिन न उनी चिया बनाउन जुरुक्क उठ्न सक्छन्, न त चिया खाएका कप पखाल्न।

यस्तो बेला उनी आफ्नी जीवनसाथीलाई निकै सम्झन्छन्। दुई वर्षअघि जन्डिसको कारण श्रीमतीको मृत्यु भएको उनले बताए। “मजस्तो मान्छेको विवाह होला, परिवार होला भनेर सोचेकै थिइनँ। तर, काठमाडौँको गलैचा फ्याक्ट्रीमा काम गर्ने क्रममा मेरो भेट मनमाया मगरसँग भयो। उनी सपाङ्ग नै थिइन्। पछि हाम्रो बिहे भयो”, उनले भने।
उनी २०४३ सालतिर काठमाडौँमा गलैँचा फ्याक्ट्रीमा काम गर्थे। बसेर काम गर्न खासै गाह्रो थिएन। त्यहीँ भेट भएकी मनमायासँग प्रेम बस्यो। २०५६ सालमा बिहे गरे। उनीहरूको एक छोरी र छोरा पनि भयो।
दुई वर्षअघिसम्म पनि उनीहरू जोडी नै मिलेर चिया पसल चलाउँथे। “बुढीले मालसामान बोक्ने गर्थिन्। यताउतिका काम गर्थिन्। मेरो सहारा थिइन्”, उनी भन्छन्, “सहारा नहुँदा खल्लो लाग्ने रहेछ। तर, म भाग्यमानी हुँ।” आफूजस्तो अपांगता भएकालाई पनि जीवनसाथीको रूपमा साथ दिने मनमायालाई उनी सम्झिरहने बताउँछन्। कहिलेकाही मनमायाको न्यास्रोले सताउने उनको भनाइ छ।
हाल उनको परिवारमा ९४ वर्षिया वृद्ध आमा र एक छोरा छन्। छोरीको विवाह भइसकेको छ। छोराले पढ्दै गरेको कारण घरव्यवहार टार्ने सबै जिम्मा शिवकै थाप्लोमा छ। अन्य दाजुभाइले पनि आमासँग बस्ने रहर गरेका थिए, तर आमाले नै आफूसँग बस्ने रहर गरेको शिव बताउँछन्।
सुन्दर बाल्यकाल
आफ्नो खुट्टाको समस्या जन्मजात नै हुनसक्ने उनी बताउँछन्। ६ महिना पुग्दासमेत राम्रोसँग खुट्टा नचल्ने भएपछि उनलाई बुबाआमाले धामीझाँक्री कहाँ लगे। उनी भन्छन्, “त्यसबेला डाक्टरी उपचार खासै कोही गर्दैन थिए। त्यसमा पनि हामी गरिब परिवार, कहाँ औषधी उपचारमा खर्च गर्न सक्थ्यौँ? धामीकै भर थियो।”
यद्यपि, आफ्ना जीवनकालको सबैभन्दा सुन्दर क्षण नै बाल्यकाल भएको उनी बताउँछन्। “सानो छँदा मलाई मेरो खुट्टाको समस्या समस्याजस्तो नै लाग्दैन थियो। मलाई त म हिरो लाग्थ्यो”, मुस्कुराउँदै उनी भन्छन्, “परिवारको जेठो छोरो भएको कारण पनि होला सबैले बढी माया गर्थे। त्यसबेला केही हदसम्म उभिन पनि सक्थेँ।”

वयस्क हुँदा आफ्नो खुशीले हिँड्डुल गर्नसम्म सक्थे। सोही क्रममा उनी काठमाडौँमा गलैँचा बुन्न पुगेका थिए। “म आफ्नो हिसाबले हिँड्डुल गर्ने गर्थेँ। घरपरिवार चलाउने, चाडपर्व र पूजापाठमा खर्च जोहो गर्ने बुबाआमा र भाइहरूले गर्थे”, शिव भन्छन्, “एक प्रकारले मलाई फुक्का छोडिदिनु भएको थियो। यसो सोच्दा मेरो बाल्यकाल रमाइलो लाग्छ।” त्यो सुन्दर जीवन चाँडै सकिएको उनको भनाइ छ।
आफूजस्तै अरू, अरूजस्तै आफू
जीवनको अनेक आयाम देखेका शिवले १०–१२ वर्षअघि हिले भञ्ज्याङमा निकुञ्ज घुम्न आउने पर्यटकलाई चिया, खाजा खुवाउन थाले। यस क्रममा उनले आफूजस्तै शारीरिक रूपमा भिन्न मानिसहरूलाई भेटे। जिन्दगीका अनुभव बाँडे। त्यसले पनि काम गर्ने साहस जुट्ने उनी बताउँछन्।
केही महिनाअघि शिव पसलमा बसिरहेका थिए। चार जना तन्नेरी युवा आए र हातको इसारामा खानेकुरा मागे। उनीहरु बोल्न नसक्ने थिए।

दुई हप्ताअघि दुई जोडी निकुञ्ज घुम्न आए। उनीहरूले पनि इसाराले खानेकुरा मागे। इसारामा आफू जाने ठाउँबारे सोधे। “त्यस बेला मलाई लाग्यो, यी नानीहरूलाई पनि कति बोल्न मन होला, मलाई हिँड्न मन लागेजस्तै। बरु म त बोल्न सक्छु, भन्न सक्छु”, उनले भने, “बाहिरबाट हेर्दा कुनै खोट छैन। कुइरे (विदेशी)का बच्चाजस्ता। तर बोली छैन। मसँग बोली त छ, आवाज छ।”
त्यही बोलीले उनले धेरैलाई सहयोग गर्न पाएका छन्। उनको पसल भएको ठाउँबाट दुईतर्फ जाने बाटो फाट्छ। दुवैतर्फ अगाडि बढ्दा चिसापानी, धाप ड्याम, हैबुङ, नगरकोट, मुलखर्क जाने बाटो छुट्टिन्छन्। अधिकांशले हिले भञ्ज्याङ पुगेपछि उनैलाई बाटो सोध्ने गर्छन्।
आफू मुस्किलले हिँड्ने शिवले अरूलाई भने बाटो देखाउने गर्छन्। आफू बोल्न सक्ने भएकै कारण बाटो भनिदिन पाएको उनी बताउँछन्।
भविष्यको चिन्ता
कुराकानीको उत्तरार्धमा हामीले शिवलाई प्रश्न गर्यौँ, “अबको लागि केही इच्छा वा केही गर्न बाँकी चाहना छन्?”
“भविष्यको कुरा त हेर्नु पर्यो नि, भोलिको बाटोलाई हेर्नु पर्यो नि”, उनी भन्छन्, “अबको लागि यसो कहीँकतैबाट सहयोग पाए हुन्थ्यो भन्ने छ। आज सकिनसकी यति गरिरहेको छु, भोलिको दिनमा यही पनि गर्न नसकिएला।”
जीवनमा एउटा भए पनि बैंक खाता होस् र थोरै ‘ब्यालेन्स’ होस् भन्ने उनको चाहना रहेछ। उनी भन्छन्, “घुम्न आउने कतिपयले सहयोगको आश्वासन देखाउँछन्। तर पछि भने हात लाग्यो शून्य हुन्छ।”
आफ्नी आमा अहिले बुढ्यौलीका कारण थला परेको उनी बताउँछन्। “मेरो आमा सपांग हुँदाहुँदै बसेकै ठाउँमा खाना लगिदिनु पर्छ। मेरा त झन् आफ्नै कमजोरी छन्। पछि के हालत होला”, उनलाई डर छ।
छोरा अझै पढ्दै नै गरेको कारण पछि के होला भन्ने चिन्ता पनि उनलाई छ। त्यसैले भविष्यका लागि उनी थोरै जोहो गर्ने चाहना भएको बताउँछन्। तर अहिले उनको सानो पसलले जसोतसो जिन्दगी मात्र धानिइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
