हात्तीले कुनै पनि घटना लामो समयसम्म स्मरण गर्न सक्छन्। मानिसको रूप र आवाज पनि चिन्न सक्छन्। हात्तीलाई नराम्ररी दुःख दियो भने, उसले जोकसैलाई ‘ब्ल्याक लिस्ट’मा राख्नसक्छ।
हात्ती धर्तीको सबैभन्दा ठूलो शाकाहारी स्तनपायी जनावर हो। संसारमा अफ्रिकी र एशियाली गरी मुख्यतः दुई प्रजातिका हात्ती छन्। अफ्रिकी हात्तीको तुलनामा एशियाली हात्ती केही होचा र कम तौलका हुन्छन्। नेपालमा पाइने हात्ती एशियाली हुन्। यी हात्ती नेपाल, भारत, बांग्लादेश, श्रीलंका, म्यानमार, थाइल्यान्ड, लाओस्, भियतनाम, चीन, क्याम्बोडिया, मलेसिया, इन्डोनेसिया र भुटान गरी १३ देशमा छन्।
भारतको आसाम राज्य हात्तीको लागि प्रख्यात छ। त्यहाँ करीब पाँच हजार हात्तीहरू रहेको अनुमान छ भने, पश्चिम बंगालमा करीब ६०० हात्ती स्थायीरूपले विचरण गर्ने अनुमान गरिन्छ। यी हात्ती भारतको पश्चिम बंगालको ‘चिकेन नेक’ हुँदै मेची नदी पार गरी नेपालमा सामान्यतः झापा र इलामको सीमाक्षेत्रबाट प्रवेश गर्छन्।
हात्तीहरू घना जंगलदेखि झाडी र खुला खेतबारीमा विचरण गर्दै लामो यात्रामा निस्किन्छन्। लामो यात्रामा निस्कनु उनीहरूको प्राकृतिक स्वभाव हो। नेपालमा झापाबाट प्रवेश गरेका हात्ती तिनका पुर्खाले प्रयोग गरेको मार्ग पहिल्याउँदै पश्चिमतिर कोशी नदी पार गरी उदयपुर, सिन्धुली, महोत्तरी हुँदै पर्सा र चितवनसम्म पुग्छन्।
चुरेक्षेत्रको फेदीका वन र चारकोशे झाडीहरू हात्तीका परम्परादेखिका प्राकृतिक बासस्थान हुन्। यी वनमा पुर्खाले आफ्नो जीवन आनन्दसाथ बिताएका स्मृतिहरू संगालेर हात्ती भारतबाट यता आएका हुन्छन्। यसरी आएका हात्ती उही मार्गबाट वा फरक मार्ग हुँदै पुनः झापाबाट पश्चि बंगाल, आसामतिर फर्किन्छन्। यसको लागि उनीहरूले उचित मौसम र समय विचार गरी यात्रा तय गर्छन्।
हात्तीहरू समूहमा बस्ने सामाजिक प्राणी भएकाले लामो यात्रामा निस्कँदा आठ–दशदेखि बीस–तीस वटा हुन्छन्। हात्तीको समूहमा मातृसत्ता हुन्छ। यस्ता समूहलाई अनुभवी ढोईले नेतृत्व गर्छे। कता राम्रो खाना पाइन्छ, कता सजिलै पानी पाइन्छ र कता जाँदा बढी सुरक्षित हुन सकिन्छ भन्ने पाका ढोईहरूलाई राम्ररी थाहा हुन्छ। किनभने तिनीहरू पहिल्यै यस्ता यात्रामा धेरैपटक आउजाउ गरिसकेका हुन्छन्।
पहिले यात्रा गरेको पदमार्गमा अवरोध आए त्यस्तो अवरोधबाट रिसाउँछन् र विगतमा हिँडेको आफ्नो मार्गमा अहिले बनेका घरकटेरा भत्काएर अघि बढ्छन्। भत्काउन नसकिने पक्की घर, पुल, खाडल, नहर, पर्खालजस्ता संरचना भए तनाव महसुस गर्छन् र छेउकुनाबाट अगाडि बढ्छन्। यस्ता बाधाहरूले उनीहरूको मनोविज्ञानमा नकारात्मक असर गर्छन्। त्यसैले झोक्किने, रिसाउने र तोडफोड गर्ने तहमा उत्रिन्छन्। अन्यथा हात्ती चुपचाप आफ्नो बाटो लाग्छन्।
मानिसहरूले लगातार गर्ने वन अतिक्रमणको कारण हात्तीको वासस्थान खण्डीकृत वा खुम्चिएको छ। यस्तो अवस्थामा निर्धक्क हिँड्न हात्तीहरू साँझबाट सक्रिय हुन्छन् र रातभर यात्रा गर्छन्। दिनमा झाडी, रुखबुट्यान भएका सुरक्षित स्थान रोजी शीतल छहारीमा चुपचाप उँघेर आराम गर्छन्।
यसरी नियमितरूपले लामो बाटोमा आउजाउ गर्ने हात्तीहरूको स्वभावमा केही परिवर्तन भएको छ। विगतको अनुभवविपरीत तीन वर्षदेखि हात्तीहरूले कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लामा स्थायी बसोबास गर्न थालेका छन्। त्यसैले हात्तीहरू कोशी प्रदेशका लागि समस्या, चुनौती र अवसरका रूपमा देखापरेका छन्।
झापा, मोरङ र सुनसरीका जंगल आसपास वा विगतमा जंगल रहेका र हाल बस्ती बसेका क्षेत्रमा हात्तीको नियमित र बाक्लो उपस्थितिले मानिस र हात्तीबीच द्वन्द्व सिर्जना भएको छ। यस्ता द्वन्द्व विगतमा मौसमी वा अस्थायी हुन्थे, अब स्थायीरूप लिने सम्भावना बढेको छ। हात्तीले मानिस मार्ने, घरटहरा भत्काइदिने, अन्नबाली खाएर, कुल्चिएर नष्ट गरिदिने गर्छन्। साँझ बिहान सक्रिय हुने हात्तीका कारण गाउँबस्तीमा मानिसको हिँडडुल असुरक्षित हुन थालेको छ।
एउटा हात्तीले दिनमा करिब २०० किलो खानेकुरा खान्छ। ठूला झुण्डमा आउन् हात्तीलाई त्यहीअनुसार धेरै खाना चाहिन्छ। वनहरू जताततै खण्डीकृत हुँदा हात्ती जता गए पनि मानवबस्तीमै ठोक्किन पुग्छन्। हिँडिरहन मन पराउने भएकाले साना वनभित्र मात्र अटाउन सक्दैनन्। हात्तीलाई उखु, केरा, नरिवल, मकै, धान, बाँसका तामा जस्ता वनस्पति र जाँड धेरै मनपर्छ। यस्ता खानेकुरा बस्तीतिरै पाइन्छन्। यस अर्थमा मीठो खानेकुराको लोभले पनि हात्तीहरू बस्ती पस्छन्। यद्यपि, अहिलेका बस्तीहरू कुनै बेला उनीहरूकै बासस्थान थिए।
सामान्यतः हात्तीहरू हिँडेको मानिसले थाहा पाउन सक्दैनन्। हात्तीहरू चुपचाप हिँड्छन् र सानो झाडी वा वनस्पतिमा पनि छेलिएर रहन सक्छन्। जसले गर्दा मानिस सहजै हात्तीनजिक पुग्न सक्ने सम्भावना हुन्छ। एकाएक हात्तीको नजिक पुग्दा मानिस आत्तिएर कराउने, भाग्ने गर्दा लड्न सक्छ। लडेको मानिसलाई हात्तीले कुल्चिएर मार्ने सम्भावना धेरै हुन्छ।
आमरूपमा हात्तीहरू आक्रामक स्वभावका हुँदैनन्। तर झुण्डको अनुशासन तोड्ने नवयुवा थेत्तरा हात्तीलाई झुण्डले केही समयको लागि बहिष्कार गरिदियो भने त्यस्ता हात्ती विशेषगरी भाले युवा उपद्रवी बन्न सक्छ। अनुभवी र बलिया भालेसँग प्रतिस्पर्धा गर्न नसक्ने तर मस्त जवानी चढेका नवयुवा हात्ती समूहबाट एक्लिँदा बढी आक्रामक हुन्छन्। मानिसहरूले कुटपिट गरी चोट खाएका हात्ती पनि आक्रामक हुन सक्छन्।
भाले हात्तीहरूका दाह्रा बाहिरै देखिन्छन्। यदि, मझौला आकारको दाह्रेहात्ती देखिएको छ भने त्यस्तोबाट सतर्क रहनुपर्छ। ढोईका दाह्राहरू ओठभित्रै लुकेका हुन्छन् र बाहिर प्रस्ट देखिँदैनन्। सामान्यतः पोथी हात्ती आक्रामक हुँदैनन्। तर पोथी हात्तीको साथमा सानो छावा छ भने र छावाको सुरक्षामा खतरा महसुस गरे प्रतिकारमा अगाडि आउन सक्छन्।
हात्तीहरू ध्वनि (आवाज)प्रति अति नै संवेदनशील हुन्छन्। मानिसले सुन्न नसक्ने सूक्ष्म ध्वनि पनि हात्तीले २०–२५ किमि टाढाबाट सहजै सुन्छन्। धेरै टाढासम्म पनि हात्तीले सूक्ष्म ध्वनि (इन्फ्रासाउन्ड) मार्फत् कुराकानी गर्छन्। यो एकप्रकारको दूरभाष (टेलिकम्युनिकेसन) जस्तै हो।
अर्कोतिर, हात्तीको पैतालामा धर्तीमा हुने कम्पन पत्ता लगाउन सक्ने क्षमता हुन्छ। ती पैतालाहरू धातु पत्ता लगाउने यन्त्र (मेटल डिटेक्टर) जस्तै हुन् भनेर मान्न सकिन्छ। जमिनमा टाढा भएका कम्पन पनि हात्तीले सहजै थाहा पाउँछन्।
हात्तीको घ्राणशक्ति पनि अत्यन्त बलियो हुन्छ। तिनीहरूले आफ्नो सुँड उठाएर हावामा हुने गन्ध र कम्पन सहजै पत्ता लगाउँछन्। हात्तीको दृष्टि कमजोर मानिए पनि यिनै संवेदनशील अंगहरूबाट आफ्नो खाना, पानी, वन, मित्र, शत्रु, बाधा, अवरोध र अरू सबै कुरा पत्ता लगाएर चुपचाप अन्य सदस्यहरूलाई त्यो सूचना प्रसारण गर्छन्। चर्को ध्वनि हात्तीलाई पटक्कै मन पर्दैन। मानिसहरूको भीडबाट आउने होहल्लाले रिसाउँछन्। त्यस्तो आवाजले झोँक चल्छ र झन् बढी उपद्रो गर्ने सभावना हुन्छ।
आजभोलि साँझबिहान बाक्लो हुस्सु लाग्छ। हात्तीको शरीरको रङ पनि फुस्रो हुने भएकाले त्यो सहजै नदेखिने हुनसक्छ। तसर्थ हात्ती प्रभावित क्षेत्रका मानिस घर वरिपरि वा बाहिर निस्कँदा होस पुर्याउनु आवश्यक हुन्छ। कुनै क्षेत्रमा हात्तीले मान्छे मारिसकेको भए त्यस्तो हात्तीले पुनः मान्छे मार्ने सम्भावना हुन्छ। मान्छे मार्ने हात्तीको यथासम्भव निगरानी राख्न सकियो भने दुर्घटना कम हुनसक्छ।
मदिरा सेवन गरी हात्तीको छेउछाउमा फूर्ति लगाएर जानै हुँदैन। हात्तीलाई जाँड–रक्सी निकै मनपर्छ। हात्तीले जाँड–रक्सीको गन्ध परैबाट पत्ता लगाउँछन्। घरमा जाँड–रक्सी राख्नु भनेको हात्तीलाई निमन्त्रणा दिनुजस्तै हो। हात्ती प्रभावित क्षेत्रका घरहरूमा त जाँडरक्सी राख्नै हुँदैन।
हात्ती आएको बेला होहल्ला गर्नु हुँदैन। सकेसम्म एक शब्द पनि निकाल्नु हुँदैन। गुलेली, ढुंगामुढा, झटारो, तीरकाँण नचलाउनु नै हात्तीबाट बच्ने सर्वोत्तम उपाय हो। अचम्मलाग्दो कुरा के छ भने, हात्तीले कुनै पनि घटना लामो समयसम्म स्मरण गर्न सक्छन्। मानिसको रूप र आवाज पनि चिन्न सक्छन्। हात्तीलाई नराम्ररी दुःख दियो भने, उसले जोकसैलाई ‘ब्ल्याक लिस्ट’मा राख्नसक्छ।
हात्तीलाई बस्तीतिर आउन नदिन हलुका झड्का दिने विद्युतीय तारबार लगाउने गरिन्छ। यो विधि तत्कालका लागि प्रभावकारी भए पनि हात्तीहरू बुद्धिमान् प्राणी भएकाले तारबार सुरक्षित रूपले कसरी भत्काउने भन्ने जानिहाल्छन्। अनि त्यसको खर्च व्यवस्थापन गर्न सहज छैन। हात्ती उफ्रिन नसक्ने विशालकाय प्राणी भएकाले फराकिलो र गहिरो खाल्डोबाट पारि तर्न सक्दैन। तर यस्ता गहिरा नहरजस्ता खाल्डा कहाँकहाँ कसरी कुन स्रोतले र कसले खन्ने भन्ने प्रश्न जटिल र अव्यावहारिक छ।
हात्ती पस्नसक्ने गौँडामा केन्द्रित गरी घर–जग्गावरिपरि वा टोलमा माहुरीका प्रशस्त घार चारैतिर डोरीमा झुन्ड्याएर राख्न सकियो भने हात्तीबाट बच्न सकिने कम खर्चिलो, सरल र व्यावहारिक उपाय हुनसक्छ। किनभने हात्तीहरू माहुरीसँग धेरै डराउँछन्। हात्तीको झुण्डलाई वनतिर धपाउन माहुरीको आवाज निकाल्ने ‘साउन्डबक्स’ फिट गरेर ड्रोनको सहायताले गस्ती बढाउन सकिन्छ। तर यसको लागि पनि पर्याप्त स्रोत–साधन र तालिमप्राप्त जनशक्ति चाहिन्छ।
मानिसलाई हात्तीबाट र हात्तीलाई मानिसबाट बचाउने कार्य निकै जटिल देखिन्छ। झन्डै लोपोन्मुख अवस्थामा पुगिसकेको र कानूनले संरक्षित वन्यजन्तुको सूचीमा राखेको हात्तीलाई बचाउनु अत्यावश्यक छ। कोशी प्रदेशमै स्थायीरूपले बसोबास गर्न खोजेका हात्तीको उपस्थितिलाई पर्यापर्यटनसँग जोड्न सकिन्छ। यसका लागि मान्छेहरूले हात्तीको उपस्थितिलाई स्वीकार गर्न सक्नुपर्छ। हात्तीका आनीबानीहरूसँग अभ्यस्त बन्दै जानुपर्छ। हात्तीसँग मैत्रीपूर्ण व्यवहार देखाउन सक्नुपर्छ।
किसानहरूको बालीनाली र घरबासको बीमाको व्यवस्था गर्न सक्नुपर्छ। त्यसो भयो भने हात्तीबाट हुने नोक्सानीको रिसइबी हात्ती आफैले ब्यहोर्नु पर्दैन। जसले गर्दा स्थानीय प्रभावित मानिसहरूद्वारा हात्तीमाथि हुने दुव्र्यवहार र आक्रमण कम हुनसक्छ।
वन तथा निकुञ्ज प्रशासन, स्थानीय, प्रदेश र संघीय सरकारले कोशी प्रदेशमा देखापरेको हात्तीको बाक्लो उपस्थिति र गतिविधिबारे गम्भीरतापूर्वक ध्यान दिने बेला भइसकेको छ। यसका लागि खण्डित जैविक मार्गहरू पुनः जोड्ने योजनासहित विज्ञ, जनप्रतिनिधि, प्रभावित क्षेत्रका स्थानीय वासिन्दाहरूको अनुभवबाट दीर्घकालीन र अल्पकालीन कार्यक्रम सञ्चालन गर्न भरपर्दो तयारीका लागि ढिला गर्नु हुँदैन।
(लेखक वन अधिकृत हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||

यो र यस्ता लेख वन वातावरण तथा जैविक विविधता संरक्षणको लागी अत्यन्त प्रभावकारी हुन्छ। यति सरल भाषामा लेखिएको लेखले मानिसको अवचेतन मनमा सजिलो संग घर बनाउन सक्छ। कृपया यस्ता लेखहरू बारम्वार प्रकाशित होस।
राजकुमार रिमाल
5 months, 1 week ago