अफगानिस्तानमा महिलामाथि लगाइएको प्रतिबन्धमा अस्ट्रेलियाको विरोध, एकदिवसीय शृंखला नखेल्ने

अस्ट्रेलियाले तालिबान सरकारले शिक्षा, खेलकुद लगायतका क्षेत्रमा महिलालाई लगाएको प्रतिबन्धको विरोध गर्दै एकदिवसीय शृंखला नखेल्ने निर्णय गरेको छ।

काठमाडौँ– अस्ट्रेलियाले मार्चमा यूएईमा हुने भनिएको अफगानिस्तानविरुद्धको एकदिवसीय क्रिकेट शृंखला नखेल्ने निर्णय गरेको छ। तालिबान सरकारले शिक्षा, खेलकुदसहित विभिन्न क्षेत्रमा सहभागी हुन् महिलालाई लगाएको प्रतिबन्धका कारण शृंखला नखेल्ने निर्णय गरेको अस्ट्रेलियाले जनाएको हो।

"अफगानिस्तानलगायत विश्वभरका महिला र पुरुषका लागि खेलको विकासलाई समर्थन गर्न क्रिकेट अस्ट्रेलिया प्रतिबद्ध छ। अफगानिस्तान क्रिकेट बोर्डसँग महिला र युवतीको अवस्था सुधारको अपेक्षामा रहनेछ", क्रिकेट अस्ट्रेलियाको विज्ञप्तिमा भनिएको छ।

तालिबानले सन् २०२१ मा अफगानिस्तानको सत्ता कब्जा गरेको थियो। सत्ता कब्जा गरेसँगै तालिबानले राष्ट्रिय महिला टोलीसहित खेलकुदका गतिविधिमा महिलाको सहभागितामा प्रतिबन्ध लगाएको छ। 

पछिल्लोपटक यी दुई टोली अस्ट्रेलियामा भएको टी-२० विश्वकप २०२२ मा भिडेका थिए। सन् २०२४ र २०२६ मा फ्युचर टुर्स साइकलमा अस्ट्रेलिया र अफगानिस्तान दुईपटक भिड्ने तालिका छ। अस्ट्रेलिया र अफगानिस्तानले सन् २०१२ मा मात्र एक एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन्।

अस्ट्रेलिया तीन खेलको शृंखला (विश्वकप सुपर लिग)बाट बाहिरिएसँगै अफगानिस्तानले ३० अंक पाउनेछ। यद्यपि, अस्ट्रेलियाका लागि यो अंकले खासै महत्त्व राख्दैन। अस्ट्रेलियाले २०२३ को एकदिवसीय विश्वकपमा आफ्नो स्थान पक्का गरिसकेको छ।