संरक्षणकर्मीको चिन्ता: पर्यटक आए, फोहोर ल्याए

पछिल्लो समय ‘हाइकिङ’ र ‘ट्रेकिङ’को चलन बढिरहँदा पदमार्ग र पर्यटकीय गन्तव्यहरू ‘प्लास्टिक ट्रेल’ बन्ने जोखिममा छन्। अन्नपूर्ण पदमार्ग र मुस्ताङमा बढेको फोहोरले यसैको संकेत गर्छ।

म्याग्दी– ‘तस्वीरबाहेक केही नलैजानू, पाइलाबाहेक केही नछोड्नू,’ पर्यटन जगतमा बारम्बार सम्झाइरहिने नारा हो यो। तर नेपालका हिमाली पदमार्गहरूमा ठ्याक्कै उल्टो भइरहेको छ।

पछिल्लो समय ‘हाइकिङ’ र ‘ट्रेकिङ’को चलन बढिरहँदा पदमार्ग र पर्यटकीय गन्तव्यहरू ‘प्लास्टिक ट्रेल’ बन्ने जोखिममा छन्। पुस दोस्रो साता अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा रहेको पञ्चकुण्ड हिमतालसम्म पुग्ने मौरिस हर्जोग पदमार्गबाट १० बोरा प्लास्टिकजन्य फोहोर संकलन भयो। यो २२ किमी लामो पदमार्ग हो।

पर्यटनकर्मी चित्रबहादुर तिलिजा पछिल्लो समय नेपालीहरूमा घुमफिर गर्ने संस्कृति विकास भए पनि वातावरण जोगाउने सचेतना नफैलिएको बताउँछन्। “घुमफिर गर्नेको संख्या बढेसँगै एउटा कुरूप पाटो पनि हामीसँगै छ, त्यो हो– गाडीभित्र बसेर खाने, झ्यायालबाट बाटोमा फाल्ने,” उनी भन्छन्।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले पुस दोस्रो साता मौरिस हर्जोग पदमार्गको हुमखोलादेखी अन्नपूर्ण प्रथमको आधार शिविरसम्म सफाइ गरेका थिए। त्यस क्रममा पदमार्गीले फालेका चाउचाउ, बिस्कुट, चकलेटका खोल र रेडबुलजस्ता इनर्जी ड्रिङ्सका क्यान १० बोरा (करिब ५० केजी) जम्मा गरिएको फोहोर संकलन टोली संयोजकसमेत रहेका तिलिजा बताउँछन्।

उनी भन्छन्, “नेपालीको पछिल्ला दिनमा घुमफिर गर्ने संस्कृति विकास भए पनि यात्रा सभ्यता र पर्यावरणीय चेतना पटक्कै छैन। फोहोर फिर्ता लैजान नसके पनि एकछिन खल्तीमा राखेर नजिक र सुरक्षित ठाउँसम्म त पुर्‍याउन त सकिन्छ नि!”

म्याग्दीको नारच्याङमा पर्ने विश्वकै १०औँ अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर र त्यहाँ अवस्थित पञ्चकुण्ड हिमताल हेर्न पछिल्ला तीन वर्षदेखि धेरै पर्यटक पुग्छन्। यो पदमार्गमा आन्तरिक पर्यटकहरूका कारण फोहोरको थुप्रो लाग्ने गरेको छ। अन्नपूर्ण हिमालको छाया देखिने हिमतालमा चकलेट, चाउचाउलगायत प्लास्टिकजन्य फोहोर तैरिन थालेको छ।

सन् १९५० मा मौरिस हर्जोग नेतृत्वको पर्वतारोहीले अन्नपूर्ण हिमालमा पहिलो मानव पाइला टेकेपछि पदमार्गको नामकरण उनैको सम्झनामा गरिएको हो। तर यो पदमार्ग ‘प्लास्टिक ट्रेल’ बन्ने जोखिम भएको आधार शिविर पुगी फर्केका बेनीका पर्यटन व्यवसायी हरिकृष्ण श्रेष्ठ बताउँछन्।

null

यो पदमार्गबाट गत वर्ष वाराही युवा क्लब, शिख र जनजागरण युवा क्लब गाडपारका १२ युवाले क्यान र प्लास्टिकजन्य तीन बोरा फोहोर संकलन गरेका थिए। फोहोर संकलनका लागि अन्नपूर्ण गाउँपालिका–७ घराम्दी घर भई बेलायत बस्ने धनकुमार पाइजाले १ लाख रुपैयाँ सहयोग गरेका थिए।

पदमार्गमा आन्तरिक पदमार्गीले मात्र नभई ‘टि–हाउस’, रेस्टुरेन्ट र हिमाल आरोहीहरूले पनि फोहोर गरिरहेको पर्यटन व्यवसायी बताउँछन्। हिमाली क्षेत्रमा सिर्जित फोहोर सम्बन्धित व्यवसायीले तल्लो क्षेत्र झारेर सुरक्षित विसर्जन गर्नुपर्छ। तर अन्नपूर्ण प्रथम आधार शिविरमा पर्वतारोही र तिनका सहयोगीले सिर्जना गरेको फोहोर त्यहीँ व्यवस्थापन गरिन्छ। कतिपयले त प्लास्टिकजन्य फोहोर पनि जलाउने गरेका छन्।

एक्याप अन्नपूर्ण गाउँपालिका संरक्षण समिति सचिव तेजबहादुर गुरुङ फोहोर व्यवस्थापन नहुँदा हिमाली क्षेत्रको जलवायुमा नकारात्मक असर परिरहेको बताउँछन्। यो क्षेत्रको जलवायु बढी संवेदनशील हुने हुँदा पर्यटक र व्यवसायी बढी जिम्मेवार हुनुपर्ने उनको भनाइ छ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन हिमालको फेदीमा जथाभाबी फोहोर फाल्दा र प्लास्टिकजन्य फोहोर जलाउँदा हिमाली वातावरण तताएको बताउँछन्। पुन भन्छन्, “सरकार वा संस्थाहरूले फोहोर उठाउनु भन्दा पनि पर्यटकहरू आफै सभ्य भई जथाभाबी नफाल्ने, प्लास्टिकजन्य फोहोर हिमाली क्षेत्रमा नलैजाने र आफ्नो फोहोर आफैले बोकेर तोकिएको स्थानमा विसर्जन गर्न सिक्नै पर्छ।”

हिमालपारि मुस्ताङ घुम्न जाने पर्यटकको चाप बढ्दा फोहोर व्यवस्थापन मुस्किल हुन थालेको त्यहाँका जनप्रतिनिधि र व्यवसायी बताउँछन्। आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेसँगै चाउचाउ, बिस्कुट, चिप्स, कुरकुरेका खोल तथा पानीका बोतल सडक किनारा, भ्यु पोइन्ट तथा धार्मिक स्थलमा छरपस्ट देखिन थालेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल विष्ट बताउँछन्।

null

विष्टका अनुसार गत वर्ष मुस्ताङका प्रमुख पर्यटकीय गन्तव्यहरू जोमसोम, ढुम्बाताल, मुक्तिनाथ, कागबेनी, लोमन्थाङ, कोरलालगायत स्थानबाट करिब १० ट्याक्टर फोहोर संकलन गरिएको थियो। उनी भन्छन्, “नेपाली पर्यटकको एउटा नसुध्रिएको बानी छ– गाडीभित्र खाने र गाडीको झ्यालबाट बाहिर फोहोर फाल्ने। यो स्वभाव नत्यागेसम्म हाम्रा धार्मिक र पर्यटकीय गन्तव्यहरू सुन्दर रहनै सक्दैनन्।”

तीर्थस्थल पनि रहेका मुक्तिनाथ र कागबेनीमा पछिल्ला दुई सिजनमा उत्सर्जन भएका १७२ बोरा (१३ सय ५१ केजी) क्यान, प्लास्टिकजन्य र सिसाजन्य फोहोर संकलन भएको थियो। उक्त फोहोर पोखरास्थित ग्रिनरोड वेस्ट म्यानेजमेन्टमा व्यवस्थापनका लागि पठाएको एक्याप इलाका कार्यालय जोमसोमले जनाएको छ। 

केही वर्षअघि मात्र मुक्तिनाथ मन्दिर क्षेत्र सरसफाइ अभियान चलाएर तीर्थयात्रीले नुहाएपछि यत्रतत्र फालेका आठ बोरा भित्रीवस्त्र संकलन गरी नष्ट गरिएको युवा नेता प्रकाश पौडेल बताउँछन्। “मुक्तिनाथको धारामा स्नानगरी पापमोचन गरेपछि पाप टाँसिएका भित्रीवस्त्र जथाभाबी फाल्दा बाटोका झाडीमा झुन्डिएर मन्दिरक्षेत्र कुरूप बनेको थियो। कागबेनीमा पनि त्यस्तै थियो,” उनी भन्छन्, “अन्तर्राष्ट्रिय पर्यटकको दृष्टिमा पनि हाम्रो पर्यटन सभ्यतामा आँच आएको छ।”  

लोमन्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ धार्मिक तथा पर्यटकीय गन्तव्यलाई सुन्दर राख्न पर्यटकहरू आफैले सभ्यता सिक्नु पर्ने बताउँछन्। उनी भन्छन्, “हिमालपारिको मुस्ताङ जलवायु संवेदनशील क्षेत्र पनि हो। विश्वव्यापी तापक्रम वृद्धि र जलवायु परिवर्तनले मुस्ताङको कृषि, पर्यटन, जैविक विविधता, धार्मिक सांस्कृतिक पर्यावरणमा प्रतिकूल असर पुगेको छ।”

पर्यावरण संरक्षण तथा दिगो विकास अभियन्ता सौरभ ढकाल घुमफिरमा निक्लने यात्रुले प्लास्टिक बोटलका पानीको सट्टा पुनः प्रयोगयोग्य तुम्लेट, कपडाका झोला प्रयोग गर्न सुझाउँछन्। सकेसम्म प्याकेजिङ गरिएका खानेकुरा किन्ने र खाएपछि फोहोरलाई खल्ती वा झोलामा बोकेर सुरक्षित स्थलमा पुर्‍याउने जिम्मेवारी पर्यटककै भएको उनी बताउँछन्।

“पर्यटकीय स्थल र हिमाली क्षेत्र वातावरणको हिसाबले झन् बढी संवेदनशील भएको हुँदा तीनै तहका सरकारले प्लास्टिक बोतल, झोलाजस्ता प्लास्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध लगाउनुपर्छ र सचेतता अभियान चलाउनुपर्छ,” उनी भन्छन्।