इतिहासको आलोकमा देउवाले गुमाएको मौका

कांग्रेस पार्टी प्रजातान्त्रिक भए पनि व्यवहार तानाशाही भयो। प्रजातान्त्रिक पार्टीले त प्रजातान्त्रिक संस्कार, नियम, कानून र विधानअनुरूप अगाडि बढ्नुपर्ने हो। तर त्यो स्थिति देखिँदैन।

नेपाली कांग्रेसभित्र संस्थापन पक्ष र विशेष महाधिवेशन चाहने पक्षमा विवाद चलिरहेको छ। कांग्रेसमा यस्ता विवाद नौलो होइन। कांग्रेसमा विभाजनहरू नदेखिएका होइनन्। बीपी कोइराला र मातृका कोइरालाको झगडा हुँदाखेरि पनि पार्टी फुटेकै हो। २०१४ सालमा सुवर्णशम्शेर अध्यक्ष हुँदा विरोधचाहिँ एक किसिमले बढ्यो। पार्टी नै पूर्ण रूपमा बेग्लै गठन भने भएन। सुवर्णजी अलिकति रिजर्भ हुनुका कारण पनि त्यसो भएको हो।

उति बेलाको प्रसङ्ग सम्झँदा, विराटनगर जाँदा कांग्रेसभित्र गिरिजाप्रसाद कोइरालाको अगुवाइमा सुवर्णजीको ठुलो विरोध भयो। भन्न त त्यो विरोध बीपीकै सहमतिमा भएको भनिन्छ। विरोध हुने बित्तिकै सुवर्णजीले ‘अब म बस्नु उपयुक्त हुँदैन’ भन्ने सोच्नुभयो र उहाँले सभापतिबाट राजीनामा गर्नुभयो। त्यसपछि भएको विशेष अधिवेशनपछि सत्तामा भने बीपी आए। यसरी बीपी अगाडी बढे।

हिजो शेरबहादुर देउवा र गिरिजाप्रसाद कोइरालाको समयमा पनि पार्टी फुटेकै हो। तर, फेरी 'मर्ज' भयो। पार्टी फुटेर फाइदा हुन्न भन्ने सोच सबैको भयो। पछि पनि पार्टी फुट्न लाग्दा 'फुटाउनु हुँदैन' भनेर कांग्रेस अघि बढेकै हो।  

हिजो गिरिजाप्रसाद कोइरालाको समयमा कृष्णप्रसाद भट्टराईजी जस्तो व्यक्तिको नेतृत्वमा पार्टी फुट्नुपर्छ भनेर मानिसहरू नहिँडेका होइनन्। किनकि सडकमा एउटा समूह 'गिरिजा जिन्दाबाद' भनेर हिँड्थे, अर्कोचाहिँ 'कृष्णप्रसाद भट्टराई जिन्दाबाद' भनेर हिँड्थे। एउटा समूहले गिरिजाप्रसादको फोटोमाथि जुत्ता झुन्ड्याएर हिँडे भने अर्को समूहले भट्टराईजीको। यो किसिमको प्रवृत्तिसमेत थियो। त्यसरी हिँड्नेहरू कतिपय नै आजका नेताहरू हुन्।

अहिलेचाहिँ यस्तै प्रवृत्ति फेरी देखिन्छ भन्ने पनि लाग्दैन। पार्टी फुटेर के हुन्छ र पार्टी फुट्दा के भइयो भन्ने सबैले बुझेका छन्। अर्को कुरा, एकचोटी पार्टी फुटाएर दोष लिइसकेका मान्छेले फेरि दोस्रो चोटि पार्टी फुटाउने दोष लिन चाहँदैन। त्यसैले पनि अहिले पार्टी फुटाएर अघि बढ्नुपर्छ भन्ने दृष्टिकोण राख्नुहुन्न होला शेरबहादुरजी।

तर महत्त्वपूर्ण कुरा के हो भने एउटा राम्रो मौकाचाहिँ शेर बहादुरले गुमाए। त्यो के भने हिजो उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति दिँदै 'अब म जिम्मेवारी लिन्नँ' भन्ने किसिमले टुङ्ग्याइसकेका थिए। तर, पछाडि आएर जुन किसिमले सक्रिय राजनीतिमा देखा परे, त्योचाहिँ उनको ठुलो गल्ती हो।

उनले बरु भन्नुपर्थ्यो–मलाई अभिभावकत्व देऊ। पार्टीको सक्रिय राजनीतिमा म लाग्दिनँ। तर सात दाजुभाइले उनलाई अगाडि बढाए। बुझ्नुपर्ने कुरा के हो भने पछिल्लो समय नेकपा एमालेमा भएजस्तो स्थिति कांग्रेस पार्टीभित्र हुँदैन। एमालेको र कांग्रेसको स्थिति फरक हो। सोचाई नै फरक छ।

अब गगनजीहरूको कुरा गरौँ। गगन थापा र विश्वप्रकाश शर्माले पनि पार्टी फुटाएर अघि बढ्ने दृष्टिकोण राखेको देखिँदैन। पटक पटक बोलिनै राखेका छन्, "हामी कुनै पनि हालतमा पार्टी फुटाउँदैनौँ।" सबभन्दा विचारणीय कुरा के छ भने पार्टी प्रजातान्त्रिक हो, तर पार्टीभित्र प्रजातन्त्र रहेन। त्यस भित्रका गतिविधि र विचारहरू प्रजातान्त्रिक भएन। त्यसभित्र तानाशाही किसिमको प्रवृत्ति देखा परे। त्यसैले त्यो रूपबाट अगाडि बढ्दा पार्टीलाई नोक्सानी छ।

आज मात्र होइन, ‘पार्टी प्रजातान्त्रिक भएन’ भन्ने कुरा पहिले पनि भनिएको हो। आज जुन किसिमको परिवर्तन चाहने युवापुस्ता देखा परेको छ, त्यो हिसाबले पार्टीभित्र गगनजी र विश्वप्रकाश परिवर्तन चाहने पुस्ता हो। परिवर्तन हुनुपर्छ भनेर हिँडेका नेता हुन् यिनीहरू। पार्टीले अर्को दलसँग गठबन्धन गर्दा पनि यिनले  विरोध गरेकै हुन्।

खासगरी नेपाली कांग्रेसलाई बाहिर बसेर शुभेच्छुकहरूले यस्तो चाहिँ गठबन्धन गरेर अगाडि बढ्नु हुँदैन भनिरहँदा त्यही धारको नेतृत्व गगनजी र विश्वप्रकाशले गरेकै हुन। त्यसरी अगाडि बढ्नुपर्ने स्थितिमा पार्टीको नेतृत्व तह हिँड्न नसक्दा पार्टीलाई हिजोकै विचारधारा, संरचना र लाइनमा अगाडि बढ्नुपर्छ भन्ने दृष्टिकोण अर्को पक्षले राख्दा यो किसिमको असहज स्थिति सिर्जना भएको देखिन्छ।

एकताबाट बनेको पार्टी
कांग्रेस स्थापनाको पृष्ठभूमि हेर्दा सुरुमा (विक्रम संवत् २००३ सालमा) नेपाली राष्ट्रिय कांग्रेस सुरुमा भयो। नेपाली राष्ट्रिय कांग्रेस स्थापना हुँदा जेलमा रहनु भएका नेता टंकप्रसाद आचार्यलाई सम्मानस्वरूप अध्यक्ष बनाएर कार्यवाहक सभापति बीपी हुनुभयो। बीपी जेल परेपछि कार्यवाहक सभापति डिल्लीरमण रेग्मीजी भए। बीपी जेलबाट छुटेर मैं चलाउँछु भन्दा चुनाव गराउनुपर्छ भनेर रेग्मीजीले निहुँ खोजेपछि आआफ्नो किसिमले अगाडि बढेका थिए। यसरी स्थापनाको केही समयमै नेपाली राष्ट्रिय कांग्रेस फुट्यो। एउटा बीपीको नेतृत्वमा र अर्को डिल्लीरमण रेग्मीको नेतृत्वमा रह्यो।

पछिचाहिँ सुवर्णसम्शेर नेतृत्वमा नेपाल प्रजातन्त्र कांग्रेस बन्यो। बीपीको नेतृत्वमा रहेको नेपाली राष्ट्रिय कांग्रेसले अहिंसात्मक आन्दोलन गर्न भनेको थियो भने सुवर्णसम्शेर नेतृत्वको नेपाल प्रजातन्त्र कांग्रेस भने हातहतियारसहित सशस्त्र आन्दोलन गर्नतिर लागेको थियो।

नेपाल प्रजातन्त्र कांग्रेस र नेपाली राष्ट्रिय कांग्रेसबीच एकता हुनुपर्छ भनेर शुभेच्छुकहरूले भनिरहे। भारतीय नेताहरूले समेत शुभेच्छा प्रकट गर्दै "तिमीहरूको विचार र हातहतियार मिसाउनुपर्छ" भनेपछि दुवै पार्टी मिलेर २००६ सालमा नेपाली कांग्रेस बन्यो। प्रजातन्त्र कांग्रेसकै झन्डालाई नेपाली कांग्रेसले अपनायो।

अहिले पार्टी प्रजातान्त्रिक भए पनि व्यवहार तानाशाही भयो कांग्रेसको। प्रजातान्त्रिक पार्टीले त प्रजातान्त्रिक संस्कार अनुरूप, प्रजातान्त्रिक नियम, कानून र विधान अनुरूप अगाडि बढ्नुपर्ने हो। तर त्यो स्थिति अहिले पार्टीमा देखिँदैन। गगन र विश्वप्रकाशहरूले आफ्नो दाबी वैधानिक आधारमा नै गरेका हुन्।

यसरी वैधानिक आधारमा दाबी गर्दागर्दै, त्यसलाई खेल्दैखेल्दै संस्थापन पक्षले महाधिवेशन गर्नै नसक्ने दृष्टिकोणमा पुर्‍याए। आज ३ महिनायता कहिले के र कहिले के भन्दै खेल्दैखेल्दै ल्यायो संस्थापन पक्षले कांग्रेसले। नेपाली कांग्रेसभित्रको संस्थापन पक्ष ‘डेमोक्र्याटिक’ भएन।

संस्थापन पक्ष गलत ढंगले अघि बढ्यो। यसर्थ, शेरबहादुरले ठुलो मौका गुमाए। सँगसँगैको नेता (केपी ओली)ले भाग्नुपर्ने अवस्था बनाएको, आफूले पनि दुर्व्यवहार  सहनु परेको बिन्दुमा कार्यवाहक अर्कालाई जिम्मा दिएर अगाडि बढेको मान्छेले फेरी अधिकार आफूसँग खिच्ने काम गरे। यो किसिमको व्यवहार राम्रो भएन। एउटा प्रजातान्त्रिक पार्टी प्रजातान्त्रिक संस्कार अनुरूप नै अगाडि बढ्नुपर्ने थियो।

विशेष महाधिवेशन माग्ने ५४ प्रतिशतको उद्देश्य के त? उनीहरूले शेरबहादुरकै नाउँमा हामी  निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गर्दैनौँ भन्ने न हो। त्यो त सबै कांग्रेसीलाई रहेको अधिकार हो। उनीहरूले पार्टी फोड्छौँ पनि भन्या छैनन्, तर संस्थापनले मानी दिएन। यही नै हो गैरप्रजातान्त्रिक संस्कार। गैरप्रजातान्त्रिक अभ्यास बढाउनमा सात जना व्यक्तिको जुन भूमिका छ, त्यो त्रुटिपूर्ण छ। आम जनताले समेत यी सबै गतिविधि सूक्ष्म रूपमा हेरिरहेका छन् भनेर उनीहरूले बुझ्नु पर्ने हो।

अर्को कुरा, चुनावमा भोट त आम जनताले नै हाल्ने हो। आज पनि पुराना दल र कांग्रेसप्रति जनताको दृष्टिकोण राम्रो छैन। भोलि शेरबहादुर नै अगाडि देखिएपछि उनको नाममा भोट हाल्ने मान्छे कति हुन्छन्? शेरबहादुर, आरजु, विमलेन्द्र, प्रकाशमान र सिटौला लगायतको नाउँमा भोट हाल्ने मान्छे पक्कै पनि कम हुन्छन्। गगन र विश्वप्रकाशचाहिँ पार्टीभित्र परिवर्तन चाहने पुस्ताको नेतृत्व गरिरहेका हुनाले सो पुस्ता अगाडि बढाएमा बरु गगनको नाउँमा केही मत आउन सक्छ। यो कुरा नेपाली कांग्रेसले बुझ्नुपर्‍यो।

कांग्रेस प्रजापरिषद नै बन्दैन
बेलाबेला 'नेपाली कांग्रेस पार्टी नेपाल प्रजापरिषद बन्छ’ भन्ने कथन सुनिन्छ। तर प्रजापरिषद नै बन्छ भन्नेमा विश्वास लाग्दैन। प्रजापरिषदको गठन प्रक्रिया नै बेग्लै थियो। एउटा बाटो र उद्देश्य पूरा गरेको थियो त्यसले। प्रजापरिषदको उद्देश्य राणा शासनबाट देशलाई मुक्त गर्ने थियो, उनीहरूले सो गरे। जनतालाई अधिकार दिलाउने कुरा थियो, त्यो पनि दिलाएकै हुन्। संवैधानिक राजतन्त्रको कुरा गरेको थियो, त्यो भयो नै।

जनताको अधिकार नभएको त्यस कालखण्डमा संवैधानिक राजतन्त्रको पनि अर्थ थिएन। त्यस्तो बेला स्थापना भएको पार्टी हो नेपाल प्रजापरिषद। टङ्कप्रसाद आचार्य, दशरथ चन्द, शुक्रराज शास्त्री, रामहरि शर्मा, धर्मभक्त माथेमा लगायत थिए यसका मुख्य नेता। संस्थापकमध्ये चार जनाले मृत्युदण्ड पाए, धेरैले कष्ट सहे, जेल बसे। तर सात सालको परिवर्तन भइसकेपछि प्रजा परिषद्ले जुन किसिमको भूमिका निर्वाह गर्नुपर्ने थियो जनताको तर्फबाट, त्यस किसिमले गर्न नसकेको हो कि भन्ने दृष्टिकोणचाहिँ देखिन्छ।

राणा शासन अन्त्य गर्न नेपाली कांग्रेसको भूमिका रह्यो। देशमा प्रजातन्त्र स्थापना भइसकेपछि प्रजापरिषदको भूमिका भने तलमाथि भएको देखिन्छ। प्रजापरिषद एउटा प्रजातान्त्रिक पार्टी भन्दाभन्दै पनि यसमा धेरै मानिसले वामपन्थी गन्ध पाउँथे। रामहरिजीले 'हामी मार्क्सवादी पार्टी हौँ' भनेर एउटा वक्तव्य नै निकाल्नु भएको छ। जुन धारमा हिँड्नुपर्ने थियो, त्यसमा हिँड्न सकेको थिएन परिषद्।

यद्यपि, २०१३ सालमा प्रजा परिषद्कै टंकप्रसादजी प्रधानमन्त्री भए। तर २०१५ सालको चुनावमा प्रजापरिषद २ टुक्रा भयो। एउटा प्रजापरिषद आचार्यकै नेतृत्व रह्यो भने अर्को प्रजापरिषद भद्रकाली मिश्रको नेतृत्वमा गयो। बेग्लाबेग्लै चुनाव लडे। दुवैको तर्फबाट मात्र १/२ जना (घन कोदालो चिन्हबाट २ जना र हलोबाट एक जना) मात्र जिते। चुनावमा हारेपछि प्रजापरिषद लथालिङ्ग रूपमा अगाडि बढ्न थाल्यो।

२०१७ सालको घट्नामा चाहिँ मिश्रको समूहले कांग्रेसलाई समर्थन गर्‍यो र पछि गएर त्यहाँ विलय नै भयो। आचार्यको पार्टीले कहिले कांग्रेसलाई समर्थन गर्‍यो त कहिले गरेन। त्यसको सदस्य संख्या पनि थोरै थियो, मात्र २० जना। पछाडि गएर केही संख्या बढ्यो पनि।

यो किसिमले हेर्दा प्रजापरिषद एउटा बलियो पार्टी हुँदाहुँदै पनि पछि आएर कमजोर देखियो। सायद यसैलाई आधार बनाएर ‘नेपाली कांग्रेस पार्टी प्रजापरिषदकै लाइनमा हिँड्छ’ भन्ने भाष्य अचेल सुन्न पाइन्छ। तर एउटा थेगो मात्रै हो। कांग्रेसमा ठुलो जनमत छ, विचारधारा छ। त्यसलाई छोडेर कांग्रेस एक्कासि फरक दिशामा जालाजस्तो लाग्दैन। अहिले कांग्रेसको स्थिति मूल्यांकन गर्दा प्रजापरिषद हुन्छ भन्नु उपयुक्त हुन्छ भन्ने लाग्दैन मलाई।

(उकालोका रितेश त्रिपाठीले गौतमसँग गरेको कुराकानीको सम्पादित अंश)

विगतलाइ हेर्दा नेपाली काङ्ग्रेस एउटा त्यस्तो पार्टी हो, जस्ले प्रजातान्त्रिक अभ्यासलाइ नेपाली जनता सामू अनुभव दिलाएकै हो। तर अहिलेको अवस्थामा भने तै"खाम मै "खाम भन्ने शैलीलाई ‍त्याग गर्नुपर्ने देखिन्छ, हिजो पार्टिले नै पत्याएका, राम्रै सोच र विचार भएका नयाँ अनुहारहरुलाई अवसर दिन नसक्दा काङ्ग्रेसको विगतमा जुन किसिमको पहिचान, क्षमता र नेतृत्व थियो त्यसप्रति जनविश्वास घटेको पाइन्छ।

अमृत प्रसाद शर्मा

6 months, 1 week ago