'नांगो साम्राज्यवाद': भेनेजुएलामा ट्रम्प हस्तक्षेप, अमेरिकाको पुरानै शैलीको पुनरागमन

म्याकफर्सनका अनुसार, यस क्षेत्रमा अमेरिकी हस्तक्षेपपछि 'शान्ति, स्थिरता, सौहार्द र लोकतन्त्र' कायम भएका उदाहरणहरू 'अत्यन्तै दुर्लभ' छन्।

विगत दुई शताब्दीयता दक्षिण र मध्य अमेरिका एवं क्यारिबियन क्षेत्रमा हुँदै आएका हस्तक्षेपहरूको लामो इतिहासकै एउटा कडी हो भेनेजुएलामाथि शनिवार भएको अमेरिकी बमबारी तथा त्यहाँका राष्ट्रपति निकोलस मादुरोको गिरफ्तारी। तर यस घटनाले एउटा अभूतपूर्व मोडलाई पनि संकेत गर्छ— दक्षिण अमेरिकी मुलुकमाथि भएको पहिलो प्रत्यक्ष अमेरिकी सैन्य आक्रमण हो यो।

मदुरो पक्राउ परेपछि आयोजित पत्रकार सम्मेलनमा डोनाल्ड ट्रम्पले भने, "पश्चिमी गोलार्द्धमा अमेरिकी प्रभुत्वमाथि अब कहिल्यै प्रश्न उठाइने छैन।"

तर, १९ औं शताब्दीको मध्यदेखि नै अमेरिकाले आफ्ना छिमेकी महादेशीय मुलुकहरूमा आर्थिक दबाब मात्र नभई सैन्य हस्तक्षेप समेत गर्दै आएको छ। आक्रमण र कब्जाका लामा सूची छन्। सन् १९८९ मा पानामाका तानाशाह म्यानुएल नोरिएगाको गिरफ्तारी वर्तमान परिस्थितिसँग ठ्याक्कै मेल खाने उदाहरण हो।

(४ जनवरी १९९० मा, सी-१३० ट्रान्सपोर्ट-हवाइजहाजभित्र अमेरिकी एजेन्टहरू पानामाका तत्कालीन राष्ट्रपति म्यानुएल नोरिएगाको कम्मरमा साङ्लो बान्दै। ठ्याक्कै ३६ वर्षअघि (जनवरी ४ मा) यो घटना भएको थियो। तस्बिर: एपी)

गुप्त रूपमा चलाइने यस्ता अपरेसनहरूले ब्राजिल, चिली र अर्जेन्टिनाजस्ता देशमा लोकतान्त्रिक रूपमा चुनिएका सरकारहरू ढाल्न र सैन्य तानाशाही निम्त्याउन योगदान गरेका थिए, तर विगतमा अमेरिकी सैन्य अभियानहरू मध्य अमेरिका र क्यारिबियनका नजिकका छिमेकमा मात्र सीमित हुने गर्थे।

रियो दि जेनेरियो स्टेट युनिभर्सिटीका अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक मौरिसियो सान्तोरोका अनुसार, दक्षिण अमेरिकी मुलुकमाथि भएको यो पहिलो प्रत्यक्ष अमेरिकी सैन्य आक्रमण हो र यसले अमेरिकाको "परराष्ट्र र रक्षा नीतिमा एउटा ठूलो परिवर्तनको संकेत गर्दछ— जुन कुरा केही हप्ताअघि ट्रम्प प्रशासनले प्रकाशन गरेको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिमा स्पष्ट पारिएको छ।"

उक्त रणनीतिले यस क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिको 'विस्तार' गर्न आह्वान गरेको छ, जसलाई यसले 'मनरो सिद्धान्त'को 'ट्रम्प उप-सिद्धान्त' भनी वर्णन गरेको छ। सन् १८२३ मा राष्ट्रपति जेम्स मनरोले प्रतिपादन गरेको यो 'अमेरिकीहरूका लागि अमेरिका' परराष्ट्र नीति पछि दक्षिण र मध्य अमेरिकामा अमेरिका-समर्थित सैन्य विद्रोहहरूलाई न्यायोचित ठहराउन प्रयोग गरिएको थियो।

शनिवारको कारबाही विगतका धेरै अपरेसनहरूसँग 'मेल खाने' भए तापनि यो "स्तब्धकारी छ, किनभने सन् १९८९ यता यस्तो केही पनि भएको थिएन," टेम्पल युनिभर्सिटी (फिलाडेल्फिया) का इतिहासका प्राध्यापक एवं 'अ सर्ट हिस्ट्री अफ यूएस इन्टरभेन्सन्स इन ल्याटिन अमेरिका एन्ड द क्यारिबियन' का लेखक एलन म्याकफर्सनले भने।

“२१औँ शताब्दीमा समेत अमेरिकाले ल्याटिन अमेरिकामा आफूले चाहेको राजनीतिक नतिजा सीधै सैनिक बल प्रयोग गरेर हासिल गर्ने प्रवृत्ति (नाङ्गो साम्राज्यवाद) समाप्त भइसकेको होला भन्ने कसैले ठानेका थिए होलान्, तर त्यो समाप्त भएको छैन भन्ने प्रस्ट भयो,” उनले थपे।

विगतका दशकमा यस क्षेत्रका लगभग प्रत्येक देशले कुनै न कुनै रूपमा प्रत्यक्ष वा गुप्त अमेरिकी हस्तक्षेपको अनुभव गरेका छन्। केही उदाहरण तल दिइएका छन्:

मेक्सिको
पहिले मेक्सिकोको भूभाग रहेको टेक्ससको अमेरिकामा विलयपश्चात् अमेरिका र मेक्सीको बीच सीमा विवाद भयो, जसका कारण सन् १८४७ मा अमेरिकाले मेक्सिकोमाथि आक्रमण गर्‍यो र अमेरिकी सेनाले त्यहाँको राजधानी मेक्सिको सिटीमाथि कब्जा जमायो। यो युद्ध सन् १८४८ मा भएको एउटा सन्धिपछि मात्र समाप्त भयो, जसका कारण मेक्सिको आफ्नो ५५% भूभाग छोड्न बाध्य भयो— जसमा हालका क्यालिफोर्निया, नेभाडा र उटाह राज्यहरूका साथै एरिजोना, न्यु मेक्सिको, कोलोराडो र वायोमिङका केही भाग पर्छन्।

क्युबा
सन् १८९८ मा स्पेनविरुद्धको स्वतन्त्रता संग्राममा अमेरिकाले क्युबालाई सहयोग गर्‍यो। विजयपछि, अमेरिकाले पोर्टो रिकोमाथि नियन्त्रण कायम गर्‍यो र १९०२ सम्म क्युबालाई कब्जा गर्‍यो। त्यसपछि भएको एउटा सम्झौताले अमेरिकी नौसेनालाई ग्वान्तानामो खाडीमाथि स्थायी नियन्त्रण प्रदान गर्‍यो। पछि अमेरिकी सेनाले १९०६ देखि १९०९ सम्म र फेरि १९१७ देखि १९२२ सम्म क्युबालाई कब्जामा लियो। सन् १९५९ मा फिडेल क्यास्ट्रोको क्रान्तिपछि सीआईएले त्यहाँ जनविद्रोह भड्काउने प्रयासमा सन् १९६१ को असफल 'बे अफ पिग्स' आक्रमणलाई समर्थन गरेको थियो।

हैटी
हैटीका नेताहरूलाई बारम्बार पदच्युत गर्दै, आन्तरिक अशान्ति मच्चाउँदै त्यस देशमा 'स्थायित्व' कायम गर्ने र अमेरिकी व्यावसायिक स्वार्थको रक्षा गर्ने बहानामा सन् १९१५ मा अमेरिकाले हैटीमाथि आक्रमण गर्‍यो। त्यसपछि सन् १९३४ सम्म अमेरिकाले त्यहाँको भन्सार, कोष (ढुकुटी) र राष्ट्रिय बैंकमाथि आफ्नो नियन्त्रण कायम राख्यो। सन् १९५९ मा त्यहाँ सत्ताविरुद्ध एउटा विद्रोहको प्रयास हुँदा तानाशाह फ्रान्स्वा 'पापा डक' डुवालियरको सत्ता खतरामा पर्‍यो, तब सीआईएले पर्दा पछाडिबाट उनलाई बचाउन काम गर्‍यो। फिडेल क्यास्ट्रोको क्युबाली क्रान्तिको प्रभाव रोक्न एक सहयोगीको रूपमा हेरेको थियो सीआईएले पापा डकलाई।

ब्राजिल
उसो त अमेरिकालाई ब्राजिलमा कहिल्यै पनि प्रत्यक्ष सैन्य हस्तक्षेपको आवश्यकता परेन। तर सन् १९६४ मा लोकतान्त्रिक रूपमा निर्वाचित वामपन्थी राष्ट्रपति जोआओ गुलार्टलाई पदच्युत गर्न भएको सैन्य विद्रोहविरुद्ध ब्राजिलमा प्रतिरोध होला भन्ने ठानेर हस्तक्षेपका लागि अमेरिकी नौसेनाको एउटा विशेष टोली ब्राजिलको तट नजिकै तैनाथ गरिएको थियो। १९७० को दशकमा 'अपरेसन कोन्डोर' भनिने अभियानअन्तर्गत अमेरिकन जासुसी संस्था सीआईए र संयुक्त राज्य अमेरिकाको केन्द्रीय आपराधिक अनुसन्धान निकाय-एफबीआईले ब्राजिल, चिली र अर्जेन्टिनाजस्ता देशका तानाशाहहरूलाई आफ्ना विरोधीहरूको दमन, खोजी र हत्या गर्न प्रत्यक्ष रूपमा सल्लाह र सहयोग दिएका थिए।

पानामा
कोलम्बियाबाट पानामा स्वतन्त्र हुने गरी भएको सन् १९०३ को पृथकतावादी आन्दोलनलाई अमेरिकाले सैन्य समर्थन गर्‍यो। स्वतन्त्रतापछि, वासिङ्टनले यस मध्य अमेरिकी मुलुकमाथि आफ्नो ठूलो प्रभाव कायम राख्यो। सन् १९८९ मा राष्ट्रपति जर्ज एचडब्लू बुसले त्यहाँका तानाशाह म्यानुएल नोरिएगालाई पक्रन करिब २७,००० अमेरिकी सैनिकलाई पानामामा आक्रमण गर्न आदेश दिए। नोरिएगा पहिले सीआईएका सहयोगी थिए, तर पछि अमेरिकी अदालतमा उनीमाथि लागुऔषध तस्करीको अभियोग लगाइएको थियो।

आक्रमणमा अनुमानित २०० देखि ५०० पानामियाली सर्वसाधारण र करिब ३०० पानामायाली सैनिक मारिएका थिए। त्यसको केही घण्टापछि अमेरिकाले चुनावका घोषित विजेता गुइलेर्मो एन्डारालाई राष्ट्रपतिको रूपमा नियुक्त गर्‍यो।

भेनेजुएलामा पनि यस्तै परिणाम निस्कनेछ वा छैन भन्ने कुरा अझै अस्पष्ट छ, जसबारे ट्रम्पले भनेका छन् कि "उचित संक्रमण व्यवस्थापन नभएसम्म" सो देश अमेरिकाद्वारा "सञ्चालित" हुनेछ।

म्याकफर्सनका अनुसार, यस क्षेत्रमा अमेरिकी हस्तक्षेपपछि 'शान्ति, स्थिरता, सौहार्द र लोकतन्त्र' कायम भएका उदाहरणहरू 'अत्यन्तै दुर्लभ' छन्। "अमेरिकी हस्तक्षेपहरूले प्रायः जसो उत्तराधिकारको दीर्घकालीन समस्या सिर्जना गर्छन्," उनले थपे।

(गार्डियनमा आइतबार प्रकाशित लेखको भावानुवाद। उकालोको विचार खण्डमा प्रकाशित लेख लेखकका निजी हुन्।)