पहिला पुरुष र महिला मिलेर छलो खेल्ने चलन थियो। तर अहिले पुरुषहरूले यो नृत्य छाडेपछि महिलाले नै परम्परा जोगाइरहेका छन्।
कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटाकी द्रोपती धामी ७० वर्षको हाराहारीमा पुगिन्। उमेरले पाको हुँदै गए पनि उनको जोश, जाँगर र संस्कृतिप्रतिको मोह भने अझै तन्नेरीकै जस्तो छ। मौलिक परम्परागत पहिरनमा सजिएर छलो (छलिया) नृत्य खेलिरहेको देख्दा जोकोही चकित पर्छन्।
दार्चुलाको धुलगडाबाट उनी तराई बसाइँ झरेको करिब तीन दशक बितिसकेको छ। तराई झर्दा परम्परा पनि हराउँदै गएको थियो। द्रोपती धामीलाई भने पहाडको त्यो संस्कृतिको सम्झना अझै ताजा छ। “पहाडमा हुँदा महिलाहरू भेला भएर छलो खेल्थ्यौँ,” उनी सम्झिन्छिन्, “तर तराई झरेपछि विस्तारै त्यो परम्परा हराउँदै गयो।”
तराई झरेसँगै मौलिक पहिरनको स्थान आधुनिक पहिरनले लिन थाल्यो। टको, झुमझुमी, पागडो, घाँघरो, चोलो, पोती, डोरीजस्ता पहिरन लगाउन छाडिँदै गए। द्रोपती धामीका अनुसार लोकलाज, आधुनिक देखिने चाहना र परम्परागत कपडा सिउने कारिगरको अभावले गर्दा धेरैले पुरानो पहिरन त्यागे। “केहीलाई आधुनिक बन्ने रहर थियो, केहीलाई लगाउने रहर हुँदाहुँदै पनि सिउने मान्छे नै भेटिएन,” उनी सुनाउँछिन्।
परम्परागत पहिरन हराउँदै जाँदा त्यससँग जोडिएको छलो नृत्यको रौनक पनि हराउँदै गयो। यही अवस्थाले द्रोपतीलगायत केही महिलालाई चिन्तित बनायो। त्यसैक्रममा गाउँका महिलाहरू भेला भएर मौलिक पहिरन जोगाउने निर्णय गरे। छलो समाज गठन गरियो।
समाजकी सक्रिय सदस्य चन्द्रा ठगुन्ना भन्छिन्, “पहिरन सिउन सबैलाई आउँदैनथ्यो, पहाडमा लगाइनेजस्तै पहिरनका लागि कपडा छानेर सिउने मान्छे खोज्यौँ र सिउन लगायौँ।” अहिले ती महिला सुदूरपश्चिमको महत्त्वपूर्ण चाड गौरा, देउडा प्रतियोगिता, विभिन्न सामाजिक समारोह, विद्यालयको वार्षिकोत्सवलगायत कार्यक्रममा आफ्नै मौलिक पहिरनमा सहभागी हुन थालेका छन्। परम्परागत पहिरनमै छलो नृत्यसमेत देखाउने गर्छन्।
परम्परागत पहिरन तयार गर्न ३ देखि ५ हजार रुपैयाँसम्म खर्च लागे पनि त्यसले पहिचान जोगाएको अनुभूति उनीहरूमा छ। “यो पहिरनले हामीलाई हाम्रो संस्कृति सम्झाउँछ,” चन्द्रा भन्छिन्, “अरूलाई पनि संस्कृति जोगाउन प्रेरित गर्छ।”
छलो समाजमा २२ वर्षदेखि ६८ वर्षसम्मका ४० बढी महिला आबद्ध छन्। पाका महिलाले तन्नेरीलाई मौलिक पहिरनको महत्व बुझाउनेमात्र होइन, छलो नृत्य पनि सिकाउँदै आएका छन्। पहिला पुरुष र महिला मिलेर छलो खेल्ने चलन थियो। तर अहिले पुरुषहरूले यो नृत्य छाडेपछि महिलाले नै परम्परा जोगाइरहेका छन्।
परम्परागत पहिरनले पहिचान जोगिएपछि अहिले आधुनिक पहिरन लगाउने महिलाहरू पनि स्वतःस्फूर्त रूपमा मौलिक पहिरन सिउन थालेका छन्। पछिल्ला पाँच वर्षयता महिला संगठित रूपमा परम्परा र पहिरन संरक्षणमा लागेका छन्।
५५ वर्षीया अमला ठगुन्ना संस्कृति र पहिरन जोगिएकामा निकै खुशी छिन्। “अरु समुदायले आफ्नो पहिरन लगाएको देख्दा हामीले किन छाड्यौँ भनेर मनमा द्वन्द्व चल्थ्यो,” उनी भन्छिन्, “अहिले आफै पहिरन लगाएर छलो देखाउन जाँदा छुट्टै आनन्द मिल्छ।”
पहाडमा महिलाले छिट (फर्कावाद)को कपडाबाट बनाइएको आठदेखि १२ पाटासम्मको घाँघरो–चोलो लगाउने गर्थे। यस्तो पहिरन लगाउने महिलालाई सभ्य र सम्पन्न परिवारको रूपमा हेरिन्थ्यो। घाँघरो–चोलोसँगै आँगडो, टाउकामा सेतो कपडाको टँको, कम्मरमा सेतो पागडो बाँधिन्थ्यो। गहनामा सुनको नथिया, कानको मुदणा, नाकको बुलाकी, हातमा चाँदीका बाला, घाँटीमा चाँदीको सुत्ता र खुट्टामा पायल लगाइन्थ्यो।
पूर्वशिक्षक शंकरदत्त जोशीका अनुसार ती गहना गाउँघरकै लुहार र तिरुवा जातिका व्यक्तिले बनाउँथे। पहाडको कष्टकर जीवनलाई त्यागेर तराई बसाइँसराइपछि अन्य समुदायको चालचलनमा रम्न थालेसँगै पुरानो लवाइखवाई हराउँदै गएको उनी बताउँछन्। “परम्परा हरायो भने पहिचान नै हराउँछ,” उनले भने, “त्यसैले परम्परा जोगाउने महिलालाई सबैले हौसला दिनुपर्छ।”
छलोमा बाजा बजाउँदै आएका जयबहादुर टमटाले अहिले पञ्चेबाजाको अभाव रहेको गुनासो गरे। “बाजाबिना छलो अधुरो हुन्छ,” उनले भने, “बाबुबाजेकै पालादेखि बजाउँदै आएका हौँ, यसलाई निरन्तरता दिन स्थानीय सरकारले चासो दिनुपर्छ।”
शुक्लाफाँटामा केही महिलाको प्रयासले मौलिक पहिरन र छलो नृत्य पुनर्जीवित हुँदै गएको छ। “महिलाहरूको यो पहल केवल नाचगान वा पहिरनमा सीमित छैन, यो सुदूरपश्चिमको पहिचान, इतिहास र सांस्कृतिक आत्माको संरक्षणको संघर्षका रूपमा रहेको छ,” सुदूरपश्चिमको संस्कृतिलाई नजिकबाट नियाल्दै आएका कृष्णबहादुर ठगुन्नाले भने, “परम्परा जोगाउने यो यात्रामा स्थानीय तह, राज्य र समाजको साथ जरुरी देखिन्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
